Comments Add Comment

चितवनको महानगर तरकारी बजार खुल्यो

२४ जेठ, चितवन । चितवनको भरतपुरमा रहेको ‘महानगर तरकारी बजार’ सञ्चालनमा आएको छ । लकडानका कारण चैत १८ गतेबाट बन्द भएको तरकारी बजार शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

हरेक दिन बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्मको लागि बजार खोल्ने निर्णय भएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिए । सुरक्षाका उपायहरु अपनाएर भौतिक दूरी कायम गरी सञ्चालनमा ल्याइएको अध्यक्ष धितालले बताए । सुरक्षाका सबै सावधानी अपनाएर आएको सामानको समेत रेकर्ड राखिएको अध्यक्ष धितालले बताए ।

तरकारी बजारको आवश्यक अनुगमन महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले गर्ने जनाएका छन् । सरकारी मापदण्ड र नीति नियमअनुसार सुरक्षा मापदण्ड अपनाएको छ छैन भनेर हेर्न व्यवसायी स्वंयले निगरानी गर्ने अध्यक्ष धितालले बताए ।

व्यवसायीले भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ, किसान, कृषि ज्ञान केन्द्रलगायत सरोकारवालाहरूसँगको पटकपटकको छलफलबाट मात्रै थोक बिक्रीको लागि बजार खोल्ने निर्णय गरिएको उनले बताए ।

तरकारी तथा फलफूल व्यवसाय बन्द गर्न नपर्ने भए पनि भिडभाड नियन्त्रण गर्न नसक्ने अवस्था आएको भन्दै बजार बन्द गर्दा यहाँका किसान र उपभोक्ता मर्कामा परेका थिए । चितवनमा अहिले स्थानीय तरकारी उत्पादन अधिक छ ।

चितवनकै तरकारीले यहाँको बजार अधिकांश समय धान्ने गरेको दावी उनको छ । बर्खाको समयमा यहाँको उत्पादनले धान्दैन । ‘मकवानपुरको पालुङ र काठमाण्डौंको काठ क्षेत्रबाट तरकारी ल्याउँछौं,’ अध्यक्ष धितालले भने, ‘अहिले काउली, बन्दा, आलु, काँक्रो पालुङबाट आउँछ । गोलभेँडा काठमाडौं र काठ क्षेत्रबाट आउँछ, दशैंसम्म यो उत्पादनले धान्छ, असोजपछि बैशाख जेठसम्म चितवनकै उत्पादनले धान्छ ।’

बर्खाको समयमा पहाडमा हुने उत्पादनले बजार पाउने गरेको भनाइ अध्यक्ष धितालको छ । गोलभेँडा, परवल लगायतका भारतीय उत्पादन थोरै मात्र कहिलेकाही आउने गरेको उनले बताए । तरकारीमा स्वदेशी उत्पादनले धाने पनि फलफूल भने भारत र चीनबाट आउने गरेको छ ।

चितवनमा तरकारीको पसल खुले पनि फलफूलका पसल भने खुल्न सकेका छैनन् । अहिले चितवनमा केरा, लिची र आँप आदि फलफूलको उत्पादन अधिक छ ।  स्याउ, अंगुर, अनार जस्ता फलफूल भारतबाट ल्याउने गरिएको छ । ‘नेपालमा फलफूलको उत्पादन अति नै कम छ, बाध्य भएर भारत वा चीनबाट ल्याउनुपर्दछ,’ अध्यक्ष धितालले भने, ‘नेपालमै उत्पादन हुने स्याउलाई यहाँसम्म ल्याउन समस्या हुँदा अर्काको भर पर्नु परेको छ ।’

व्यवसायी आफैँ मिलेर खोलेको जिल्लाकै सबैभन्दा ठूलो यो तरकारी बजारमा साधारण अवस्थामा दैनिक १ सय टन तरकारी बिक्रीवितरण हुँदै आएको छ । क्षेत्रपुरमा रहेको तरकारी बजारमा २ सय सटर छन् । ८० वटा तरकारीका, ७० वटा फलफूल, ४० खुद्रा र १० वटा किसानलाई निःशुल्क तरकारी बेच्न दिने सटर छन् । देशभरका १७ जिल्लाबाट तरकारी आयात निर्यात गर्दै आएको यो बजारबाट दैनिक करिब ५० लाख रूपैयाँ बराबरको आर्थिक कारोबार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment