Comments Add Comment

गंगा चौधरीलाई प्रश्न : सरिता गिरी अझै भारतीय चेली हुन् ?

माननीय गंगा चौधरीजी सजिलै बुझन सकिन्छ एक थारु महिला भएर तपाईं गरीमामय संसदको सदस्य हुनुभएको छ । यो आफैंमा चानचुने कुरा होइन । आजको अवस्थामा आइपुग्न तपाईंले गरेका संघर्ष र त्यागको योगदान ठूलो होला । तपाईले गरेका संघर्ष र त्यागप्रति मेरो श्रद्धा र सम्मान छ ।

तर, पनि अशोभनीय के मात्र भयो भने, यहाँले गरीमामय संसदमा सम्बोधन गर्दा प्रयुक्त गरेका शब्दहरु ‘भारतीय चेली’, ‘संसदमा हिन्दीमा बोल्दा रगत उम्लिएर आउँछ’, ‘दादागिरी’ जस्ता शब्दावली तपाईंका होइनन्, भनी म सजिलै बुझन सक्छु । या त ती शब्दाबली तपाईले कसैसँग पैंचो लिनुभएको छ वा कसैले तपाईका मुखबाट ती शब्द भनाउन प्रयोग गरेका हुन् ।

म पूर्णरुपमा विस्वस्त छु तपाईले त्यस्ता शब्दावलीको प्रयोग गर्न सक्नु हुन्न । थारु महिलाको मुखवाट मधेशी महिलाको अपमान भएको हेर्न रुचाउने ठुलो जमात छन् । तिनी आफना क्षणीक हर्षका लागि तपाँइलाई प्रयोग गरेका छन् । पुरुषवादी र नश्लवादीका जमातले प्रौक्सी वार गरेका हुन् । पर्दा पछाडिबाट प्रहार गरेका हुन् ।

थारु महिला र मधेसी महिलाका पीडाहरु समान छन् । खाली केवल एक अन्तर छ थारु महिला नेपाली भाषीका समीपमा रहे भने मधेसी महिला हिन्दीभाषीका समीप । अन्य पीडा र भोगाईहरु समान छन् । दासताका कथाहरु उस्तै छन् ।

दीपेन्द्र झा

माननीयजी विचार गर्नुस्, भारतबाट विवाह गरेर आउने चेलीहरु हाम्रा माता हुन्, जननी हुन् । तिनको अपमान नगरिदिनुस् । जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने श्लोकको अर्थ तपाईलाई थाहै होला । तिनको अपमान हाम्रो अस्तित्वमाथिको प्रहार हो । उनी अब भारतीय चेली होइनन्, मजस्ता नेपाली नागरिकहरुको जननी भैसकेकी छीन् । तिनले आफनो देश, आमा, बुबा, भाइ बहिनी घर सबै त्याग गरेर श्रीमानको देश र परिवारलाई अंगालेकी छिन् ।

के तिनको जीवन, त्याग र योगदानको कुनै महत्व छैन । मेरो रगतमा मेरी आमाको रगत मिसिएको छ । तिनलाई नेपाली आमा भन्न नमिल्ने हो ? यदि त्यसो हो भने, तिनको कुनै देश नहुने ? मनुले जस्तै महिलाको कुनै देश हुँदैन भन्न सुहाँउछ र ? तपाईले भनेकै कुरा मान्ने हो भने तिनलाई हामीले नेपाली बैवाहिक नागरिकता किन दिएको हो त ?

नागरिकता दिने तर नेपाली नभनी भारतीय चेली भन्ने ? यो अभिव्यक्ति नेपाली नागरिकताको अपमान र अवमूल्यन समेत हो । नेपाली चेली हुन नपाउने र आफनो भारतीय देश छोडिसकेकी चेलीमाथि लैंगिक विभेद भएन र ?

हिन्दी भाषामा वोल्दा हजुरको ज्यान तातिन्छ होला । त्यसको कारण तपाईको स्कुलिङ र वैचारिक पृष्ठभूमि नै मूल कारण हो । आउनुस् मधेसतिर हिन्दी बोल्ने धेरै छन् । भोजपुरीवासीले, मैथलीभासी र अवधिसँग गर्ने सम्वादको माध्यम यानीकी सम्पर्क भाषा नै हिन्दी हो । त्यतिमात्र होइन, पहाडी समुदायका मानिसहरु पनि भित्री मधेसमा गएको खण्डमा बाँच्नका लागि प्रयोग गर्ने भाषा नै हिन्दी । फेरि नेपालको तथ्यांक विभागले पनि थोरै संख्यामा हिन्दीलाई मातृभाषाको रुपमा प्रयोग गर्ने नागरिक छन् भनी देखाउँछ । भारतीय संविधानको अनुसुचीको क्र.सं २२ मै नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिएको छ ।

भारतीय संविधानले नेपाली भाषालाई मान्यता दिँदा त्यहाँ कसैको ज्यान तातिएर आएन, यहाँ बोल्दामात्रै हाम्रो राष्ट्रियता कमजोर हुने हो र । के हाम्रो राष्ट्रियता त्यति कमजोर छ र ? अंग्रेजी बेल्ने सवै वेलायती र अमेरकन हुँदैन। भाषा भनेको संचारको माध्यम हो । आफूलाई बोल्न सहज हुने र बुझ्नेले बुझेपछि यसको महत्व समाप्त हुन्छ । भाषामा राष्ट्रियता खोज्न मिल्दैन । बहुभाषिक देश भनेर नेपालको संविधानले नै स्वीकार गरी सकेको छ । अझ नेपाली राष्ट्रिय गीत सम्झनुस् न बहुलजाति भाषा धर्म संस्कृति छ, विशाल भनिएकै छ । कमसे कम यति मात्रै पनि सम्झिदिनुभयो भने पनि हुन्छ ।

अब आउनुस् यहाँले प्रयोग गरेको शब्द, दादागीरी, अहिलेको जामाना दादागरी शब्द विशुद्ध फौजदारी अपराध हो । डर, धाक, धमकी दिन पाइँदैन र सभ्य समाजका लागि पाच्य पनि हुँदैन । त्यसमा पनि महिला आफैंमा सहनशील र शान्त हुन्छन् । त्यसकारण दादागिरी शब्दको प्रयोगले यहाँको गरिमा समेत घटाएको छ ।

संसदको गरिमाले बाँधेको छ नभए, जे पनि हुन सक्थ्यो । यस्ता अभिव्यक्तिलाई संसारभरि हेट क्राइमका रुपमा परिभाषित गरिन्छ । शान्ति र समाजिक सदभाव विपरीतको यो अभिव्यक्ति हो । संसद भौतिक बल प्रयोग गर्ने ठाउँ होइन । त्यसका लागि रेसलिंगको मैदानमा जानु पर्छ । संसद वैचारिक बहसको थलो हो । आफ्नो अभिव्यक्ति स्वतन्त्ररुपमा राख्न पाउँछन् । अरुको मर्यादामा आँच नपुग्ने गरी अभिव्यक्ति स्वतन्त्रताको अपभोग गर्न पाइन्छ । तर, यहाँले भनेजस्तो धेरै भारतीय चेलीको दोहोरो नागरिकता छ भन्ने शब्दले ठूलो संख्यामा रहेका नेपालीसँग विवाह गरेका भारतीय महिलाको चित्त कसरी दुख्दैन ?

पहिला त भारतीय चेली भन्नु नै नश्लवाद र लैंगिक दुवै हिसावले उपयुक्त होइन । अर्को बिषय नेपालमा दोहरो नागरीकता राख्न काूनले बन्देज गरेको छ । यदि कसैले दुईवटा मुलुकको नागरिकता राख्छ भने त्यो फौजदारी कसुर हो । नागरीकता दिने र लिने दुवै सजायका भागी हुन्छन् । कोही त्यस्ता छन् भने प्रहरीलाई सुचना दिँदा हुन्छ । यदि प्रमाणित हुन सकेन भने गलत सुचना दिएको अभियोग यहाँ माथि लाग्छ ।

यसकारण पर्दा पछाडिका हनुमान सेनाको वहकावमा लागेर यहाँले आफनो गरिमाको मानमर्दन नगर्नुस् । थारु महिलालाई प्रयोग गरेर मधेसी महिलालाई गाली दिलाउने जमातको पुरानो शासकीय शैली हो । कमजोरलाई कमजोरसँग लडाउने र आफू ताली पडकाई मनोरजञ्न लिने । कमसे कम उत्पीडित समुदायका हामी हामी भेडा लडाइ नगरौँ । शासकहरुले लडाउन खोजेको रणनीति बुझौँ ।

(अधिवक्ता झा प्रदेश २ का मुख्यन्यायाधिवक्ता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment