Comments Add Comment

चिनियाँ र रुसी मिडियाका विज्ञापनमाथि फेसबुकको प्रतिबन्ध

सोसल नेटवर्किङ साइट फेसबुकले चिनियाँ तथा रुसी सरकारी सञ्चार संस्थाहरुले अमेरिकी प्रयोगकर्ताहरुलाई लक्षित गरी दिने विज्ञापनमाथि प्रतिबन्ध लगाउने भएको छ ।

रुसी तथा चिनियाँ सँगै अन्य सरकार नियन्त्रित मिडियालाई फेसबुक प्लाटर्फममा ‘सरकारी नामाकरण’ गर्न सुरु गरिने र आउँदो गृष्मदेखि त्यस्ता सञ्चार माध्यमका अमेरिका लक्षित विज्ञापनमा रोक लगाउने घोषणा फेसबुकले गरेको हो ।

फेसबुकले सरकारी नामाकरण गर्ने मिडियाहरुमा रुसको स्पुतनिक, इरानको प्रेस टिभी तथा चीनको सिन्हुवालगायतका रहेका छन् । यस्तै खालका अन्य विभिन्न २ सयवटा सरकारी मिडिया वेबसाइटहरुलाई सरकारी लेबल लगाइनेछ ।

तथापि फेसबुकले कुनै पनि अमेरिकी समाचार संस्थालाई तत्काल ‘लेबलिङ’ गर्ने छैन । अमेरिकी सरकारले नै सञ्चालन गरेका मिडियाहरुमा समेत सम्पादकीय स्वतन्त्रता रहेको ठहर फेसबुकको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रसियनहरुले फेसबुकको दुरुपयोग गरी चुनावी नतिजामा प्रभाव पारेको भन्दै फेसबुकको आलोचना भएको थियो । फेसबुकले उक्त घटनामा आफ्नो कमजोरी स्वीकार गरिसकेको छ । सोही घटनाबाट पाठ सिक्दै फेसबुकले आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित गर्नका लागि चीन तथा अमेरिकालगायतका देशहरुबाट फेसबुकको दुरुपयोग नहोस् भन्नका लागि कडा कदम चाल्दैछ । फेसबुकले आफ्नो प्लाटर्फममा विज्ञापन प्रकाशन गर्नका लागि पेज तथा विज्ञापनमा सख्त पारदर्शिताको नीति अबलम्बन गरेको छ ।

स्मरण रहोस् अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

चीन तथा रुसलगायतका राज्य नियन्त्रित मिडियाहरुलाई गरिने सूचीकरणमा कुनै नेता तथा राजनीतिक दलहरुले सञ्चालन गर्ने मिडियाहरु भने नपर्ने बताइएको छ ।

उता चीनले भने फेसबुकको यस्तो कदमको आलोचना गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार पत्रकार सम्मेलनका क्रममा सोसल मिडिया कम्पनीहरुले निश्चित सञ्चार माध्यमहरुलाई छानीछानी अवरोध सिर्जना गर्न नहुने बताए ।

रुसी मिडिया स्पुतनिकले एक विज्ञप्ति जारी गर्दै वाक् स्वतन्त्रतामाथि अंकुश लगाउने अमेरिका निर्देशित कार्य गर्ने फेसबुकमाथि नियन्त्रण गर्न विश्वका सरकारहरुसँग अपिल गरेको छ ।

यद्यपि राज्य नियन्त्रित मिडियाहरुमाथि फरक व्यवहार गर्नेमा फेसबुक मात्र एक्लो छैन । सन् २०१८ मै युट्युबले सरकारहरुद्वारा लगानी गरिएका युट्युब च्यानलहरु पहिचान गर्ने कार्यको सुरुवात गरेको थियो । तथापि गलत प्रोपोगाण्डायुक्त समाचार तथा सूचनाका भिडियोहरु राख्ने कतिपय सरकार नियन्त्रित युट्युब च्यानल पहिचान गर्नमा युट्युब असफल भएको आलोचकहरुको भनाइ छ ।

सरकार नियन्त्रित मिडियाहरुमा लेबल लगाइदिने फेसबुकको निर्णयसँगै अब फेसबुकमा देखिने त्यस्ता मिडियाका पेज तथा न्यूज फिड पोष्टमा सरकार नियन्त्रित भन्ने संकेत देखिनेछ ।रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment