Comments Add Comment

कर्णालीमा १८ सय स्वाब प्रयोगशालामै थुप्रियो

१० दिनसम्म पालो आएन

२५ जेठ, सुर्खेत । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र गतिमा फैलिंदै गएका बेला परीक्षणको गति भने घटेको छ ।

प्रदेशमा आइतबारसम्म १८ सय स्वाब परीक्षण गर्न बाँकी छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा एक हजार पाँच सय र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय जनाको स्वाब परीक्षणको पर्खाइमा छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका नागरिकको स्वाब परीक्षणमा ढिलाइ हुँदा स्थानीय तहलाई व्यवस्थापनमा समस्या भएको छ ।

प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सुर्खेत, सल्यान, जाजरकोट, दैलेखलगायतका जिल्लाका स्वाब परीक्षण हुन बाँकी रहेको प्रयोगशालाका इन्चार्ज ओम आचार्यले बताए । उनले एक दिनमा दुई सय भन्दा बढी स्वाब परीक्षण गर्न नसकिने पनि बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ १८ गतेदेखि शनिबारसम्मसंकलन गरिएका तीन सय जनाको स्वाब परीक्षण हुन सकेको छैन । दैलेख, कालीकोट, जुम्ला, डोल्पालगायतका जिल्लाबाट संकलन भएको स्वाब परीक्षण नभएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

दश दिन बित्दा पनि रिपोर्ट आएन

दैलेखको डुंगेश्वर गाउँपालिकाले भारतबाट आई १४ दिन क्वारेन्टिन बसेका ४ सय ८५ जनाको स्वाब संकलन गरेर जेठ १५ गते परीक्षणका लागि सुर्खेत पठाएको थियो ।

तर दश दिन बित्दासम्म उनीहरुको नतिजा नआउँदा क्वारेन्टिनमा बसेकाहरुले दबाब दिन थालेका अध्यक्ष नगेन्द्र मल्लले बताए । रिपोर्ट समयमा नआएका कारण ¥यापिड टेस्ट विधिबाट परीक्षण गरी घर पठाउनुपर्ने बाध्यता आइपरेको उनको भनाइ छ ।

‘क्वारेन्टिनमा रहेकालाई खाना खुवाउन दिनमा दुई लाख रुपैयाँ खर्च भइरहेको छ । यसले एकातिर अनाहकमा पालिकाको स्रोत खर्च भइरहेको छ भने अर्कोतिर पछिल्लो समयमा आएका कसैमा कोरोना संक्रमण देखिएमा क्वारेन्टिनमा फैलिने डर बढेको छ’ अध्यक्ष मल्लले भने ।

जेठ १६ गते जाजरकोट जिल्ला अस्पतालले विभिन्न स्थानीय तहका क्वारेन्टिनबाट ७ सय ४९ जनाको स्वाब संकलन गरी सुर्खेत पठाएको थियो । तर आइतबारसम्म दुई सय वटा स्वाबको मात्र रिपोर्ट आएको जिल्ला अस्पतालका डा. सुनील पुनले जानकारी दिए । समयमा रिपोर्ट नआउँदा स्वाब दिएकाहरु आत्तिनुका साथै उनीहरु संक्रमित भएको भए अन्य व्यक्तिमा फैलने खतरा रहेको उनको भनाइ छ ।

नयाँ  मेसिन किन्दैछौं : निर्देशक भण्डारी

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारीले मेसिन थप गरेर दिनमा एक हजार स्वाब परीक्षण गर्न सक्ने बनाइने बताइन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले मेसिन खरिदका लागि टेन्डर प्रक्रिया समेत अगाडि बढाइसकेको उनको भनाइ छ ।

कर्णाली प्रदेशमा भारतबाट आउनेहरूको संख्या झन्डै ३५ हजार नाघेको छ । उनीहरु सबैको स्वाब परीक्षण गर्न अहिलेको मेसिनको क्षमताले नधान्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । कर्णाली प्रदेश अस्पतालका डा. नवराज केसीले कर्णालीमा पीसीआर परीक्षणको दायरा बढाउनुको विकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment