Comments Add Comment

सांसद गिरिको प्रस्ताव : भारत, चीन र अमेरिकामा मात्रै दूतावास राखौं

२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारत, चीन र अमेरिकामा मात्रै नेपालको दूतावास राख्न सुझाव दिएका छन् ।

विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा नेता गिरिले अन्य देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नुपर्ने बताए ।

‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो अमेरिका हो’ गिरिले भने, बाँकी मुलुकमा कुनै समय राजालाई हर सयरपिच्छे दरवार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन ।’

गिरिले अगाडि भने, ‘सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ । साउदी अरेबियामा मजदूर जान्छन ठीक छ । त्यो खर्च कटौती गर्नुहोस् ।’

कार्यकर्तालाई नियक्ति दिन मात्रै राजदूतावास राख्नुको औचित्य नरहेको उनको भनाइ छ । ‘कुटनीतिका विषयमा हामीले बुद्धि पुर्याइरहेका छैनौं । कुटनीतिक ढङ्गले गर्नुपर्ने कामको साटो विदेशको नियुक्तिलाई कार्यकर्ता पाल्ने बनाएका छौं ।’

उनले श्रीलंकाका लागि पूर्वराजदूत विशम्भर प्याकुरेलको अन्तर्वार्ता हेर्न र प्रधानमन्त्रीलाई सुनाइदिन आग्रह गरे ।

‘श्रीलंकामा विश्वम्भर प्याकुरेललाई एक नियुक्त गरिएको थियो । उनी एक वर्ष पछि फर्किएर आई विराट टिभीमा बोलेका छन् । रुँदै भनेका छन्– केवल यस्ता फजुलका राजदूतावास नबनाउनुस्, सार्थक कुटनीति चलाउनुस् । दुई मिनेटमा हेरेर प्रधानमन्त्रीलाई यो सुनाइदिनुहोला । उहाँ (प्रधानमन्त्री)मा दक्षता छ, सल्लाहकार ठीक भएनन्’ गिरिले भने ।

राजा महेन्द्रले जस्तो चिठी र बोली फरक नगर्न सुझाव

सांसद गिरिले परराष्ट्रनीति, विदेशनीति र भारतसँगको सम्बन्धका विषयमा तत्कालिन राजा महेन्द्रले जस्तो चिठी र बोली फरक नगर्न सुझाव सरकारलाई सुझाव दिएका छन् ।

‘हामीले भर्खरै हिन्दुस्तानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गर्या जस्तै अस्त्र प्रयोग गर्या छौं । अब हामीले प्रयोग गरेको नक्सालाई बिफल हुन नदिन जुन कुटनीति अपनाउनुपर्ने छ । त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ ?’ गिरिको प्रश्न छ ।

‘सीमा समस्यामा नेपाललाई मड्रिडको दूतावासले कुनै सहयोग गर्न सक्छ ? त्यसमा हामीलाई डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ ? गरे बरु बेइजिङले नै गर्ला । ध्यान पुर्‍याउनुस्, अगाडि बढ्नु छ’ उनले थपे ।

बदलिएको परिस्थितिमा गणतान्त्रिक तबरले निर्णय गर्न सुरकारलाई उनको सुझाव छ । ‘राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिठी पठाएर काम गर्ने अर्कोतिर उग्र भाषण गर्ने काम नगर्नुस् ’ गिरिले भने ।

यद्धपी राजा महेन्द्र अत्यन्त सफल र दूरदर्शी कुटनीतिज्ञ भएको उनले टिप्‍पणी गरे । यो आफ्नो मात्रै नभएर भारत, चीन र नेपालको सन्दर्भमा जानकारी राख्नेहरुले भनेको र किताबमा लेखेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment