+
+
Shares

पीसीआर परीक्षणको माग गर्दै क्वारेन्टिन छाडेर वडा कार्यालय घेराउ

वडाध्यक्ष भन्छिन् –सबैको पीसीआर परीक्षण गर्न सक्दैनौं

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ जेठ २५ गते १७:३७

२५ जेठ कैलाली । पीसीआर विधिबाट कोरोना संक्रमणको परीक्षण गर्न माग गर्दै कैलालीको गौरिगंगा नगरपालिको क्वारेन्टिनमा बसेका ६७ जनाले वडा कार्यालय घेराउ गरेका छन् ।

गौरिगांगास्थित अमर मावि क्वारेन्टिनमा रहेका ६२ जनाले बाहिर निस्केर नाराबाजी गर्दै नगरपालिकाको वडा नम्बर ६ को कार्यालय घेराउ गरेका हुन् ।

आन्दोलनमा उत्रिएकामध्ये ७ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ ।

‘प्रदेश सरकारले ५ दिनसम्म पीसीआरको लागि स्वाब नलिन निर्देशन दिएको छ यस्तो अवस्थामा उहाँहरुको तत्काल पीसीआर गर्न सक्दैनौँ’ वडाध्यक्ष कमलाकुमारी ओझाले भनिन् ।

आन्दोलनमा उत्रिनेहरुले लामो समयसम्म क्वारेन्टिनमा बसिरहे पनि संक्रमण पत्ता लगाउन पीसीआर विधिबाट परीक्षण नगरेको भन्दै आन्दोलन गरेको बताएका छन् । उनीहरुले आरडीटी विधिको परीक्षणमा आफूहरुलाई विश्वास नभएको बताएका छन् ।

‘यहाँ बसेका सबैले १४ दिन पूरा गरिसकेका छन्, अहिलेसम्म पनि पीसीआर परीक्षण भएको छैन’ भारतको सीतारगञ्जबाट आएका रमेश जोशी भने, ‘हामी भारतबाट आएका हौं । तत्काल पीसीआर परीक्षण गरियोस् भन्दै हामी आन्दोलन गरेका हौं ।’

४५ दिन भारतको पलिया क्वारेन्टिनमा बसेर ९ गते आएका बनबेहेडाका राजेश रानाले आफूले झण्डै २ महिना क्वारेन्टिनमा बिताएको बताए । २ महिनासम्म पनि पीसीआर परीक्षण नहुँदा आन्दोलन गर्नुपरेको उनी बताउँछन् ।

‘आरडीटीमा विश्वास गर्ने अवस्था छैन’ उनले भने, ‘हाम्रो तत्काल पीसीआर परीक्षण गरियोस् । ’

आरडीटी विधिको परीक्षणमा पोजेटिभ आउँदा पनि पीसीआर परीक्षणमा चासो नदिएको क्वारेन्टिनमा रहेका रमेश चौधरी बताए ।

चौधरी पनि भारतमा ४५ दिन क्वारेन्टिनमा बसेर कैलाली आएका थिए । ‘घर जानुपर्ने समय भइसक्दा पनि परीक्षण भएको छैन’ उनले प्रश्न गरे, ‘परीक्षण नहुँदै घर जाँदा त्यसले संक्रमण फैलियो भने कसले जिम्मा लिन्छ ?’

वडाअध्यक्ष कमलाकुमारी ओझाले क्वारेन्टिनमा बस्ने सबैको पीसीआर विधिबाट परीक्षण गर्न नसकिने बताइन् । ‘प्रदेश सरकारले ५ दिनसम्म पीसीआरको लागि स्वाब नलिन निर्देशन दिएको छ यस्तो अवस्थामा उहाँहरुको तत्काल पीसीआर गर्न सक्दैनौँ’ उनले भनिन् ।

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएकाहरुलाई क्वारेन्टिनबाट घर जान आग्रह गर्दा नमानेको वडाध्यक्ष ओझाले बताइन् । ‘आरडीटी पोजेटिभबाहेक सबैलाई घर जान भन्यौं तर, उहाँहरु जान मान्नुभएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?