Comments Add Comment

बाबुरामजीलाई मधेसमा स्वागत छ

डाक्टर साहबलाई मधेसमा स्वागत छ । वेलकम डाक्टर साहब इन मधेस । जसपा दर्ताका बेला पद र मर्यादा त्याग गरी दल दर्ता गराउन सफल हुनुभएकोमा औपचारिक स्वागत छ । पद र मर्यादाले मान्छे ठुलो हुँदैन भनी हजुरले दिनुभएको सन्देशले मधेस लगायत समग्र देशमा तपाईँको लोकप्रियता चुलिएको छ ।

जाबो कागजको खोष्टो र निर्वाचन आयोगका कागजी प्रकृयाले तपाईँको उचाइ मापन गर्न सकिँदैन । जनताको नजर र मनमा तपाईँप्रति रहेको सम्मान र मर्यादाको श्रेणी चार वा पाँच अंकले निर्धारण गर्न सक्दैन ।

पदीय लोभ र मोह भएको भए माओवादी पार्टी छोड्ने अवस्था नै आउने थिएन, किनकि उक्त पार्टीमा प्रचण्डपछि दोश्रो बरियतामा हुनुहुन्थ्यो । यो सत्य आम जनमानसले बुझेका छन् । त्यसकारण पदत्यागको यस प्रणबाट अलिकति पनि विचलित नहुनु होला ।

लामो समय बहिष्करणमा परेका समुदायका लागि पद र मर्यादा नै महत्त्वपूर्ण हुन्छ । आत्मविश्वास कम भएका समुदायमा पद र मर्यादाका लागि तँछाड मछाँड हुनु स्वभाविकै हो । यहाँका लागि पदीय मर्यादा तुच्छ वस्तु हो ।

मर्यादा काम र क्षमताले मापन हुन्छ, कागजको खोस्टोले होइन । यहाँ गणतन्त्रको आर्किटेक्ट हुनुहुन्छ ।माओवादी जनयुद्धको ब्रेन यहाँ हुनुहुन्थ्यो भनी प्रमाणित गरिराख्नु पर्दैन। अध्ययनमा सधैँ प्रथम स्थान हासिल गर्नुभएको सारा देश जनतालाई ज्ञात छ। सफल अर्थमन्त्रीको ताजा इतिहास जनताको मानसपटलमा अझै ताजा नै छ ।

हो, संविधान निर्माणबा बेला यहाँ राजनीतिक संवाद तथा संवैधानिक समितिको सभापति हुनुहुन्थ्यो । यही समितिबाट पास भएको दस्तावेजले मधेसलाई रगताम्य बनाएको थियो, जुन सत्य मधेसलाई भुल्न निकै गाह्रो भइरहेको छ । तर, संविधान घोषणा लगतै यहाँले गर्नुभएको दल र संसदको त्यागले केही भए पनि पापमोचन भएको थियो ।

हुनलाई त्यसवेलाको राजनीति परिवेश नै प्रतिकुल थियो । यहाँले चाहेर पनि धेरै गर्न सक्ने अवस्था थिएन । संवादमा प्रायः सबै मधेसी पक्षलाई बोलाउनुभएको थियो । सिके राउतलाइ सो संवादका लागि बोलाउँदा भएको विवाद अझै सम्झिरहेको छु ।

यहाँ प्रधानमन्त्री हुँदा केही मधेसका भावना विपरीतका निर्णय पनि नभएका होइनन् । तर, यसको सम्पूर्ण भारी तपाईलाई बोकाउँदा अन्याय हुन्छ । मधेसी नेताहरु सो मन्त्रिपरिषदमा थिए । खैर, इतिहासलाई धेरै कोट्याएर सुकिसकेको घाउलाई रगताम्य गर्नुजस्तै हो ।

पछिल्लो चरणमा यहाँले समाजवादी पार्टीसँग एकता गरेर देखाएको साहस अद्भुत छ । मधेसीको छायाँसमेत मन नपराउने नेतृत्वको जमात रहेको ठाउँमा यहाँले मधेसी नेताको नेतृत्वमा बस्न देखाएको बौद्धिक साहसको जति प्रशंसा गरे पनि कम हुन्छ ।

जातीय, क्षेत्रीय, सामुदायिक र लैंगिक हिसाबले बहिष्करणमा परेका समुदायबाट नेतृत्व जन्मिन युगौँ लाग्छ । यसकारण शासक समुदायका मानिसले बहिष्कृतको नेतृत्व गर्दा मुद्दाले बैधता पाउँछ र विभेद विरुद्धको लडाइ छिटो जित्न सकिन्छ । संरचनात्मक रुपान्तरण तिव्र गतिमा हुन्छ । बहिष्कृत समुदायको विश्वासको लेभल बढ्छ र रणनैतिक योजनाहरु सफल हुन्छन् । झिना मसिना व्यक्तिगत क्षणिक लाभको संकुचित घेराबाट ती समूहलाई तान्न सकिन्छ ।

मलाई लाग्छ यहाँले अहिले यही भुमिका निर्वाह गरिराख्नुभएको छ । अन्यथा राजपा र समाजवादीको पार्टी एकता फलामको चिउरा चपाउनुजस्तै हुन्थ्यो । यहाँको दिमागले गर्दा पार्टीले संगठन र मुद्दा पाएको छ । मधेसवादीहरुले बौद्धिकता र कुशल रणनीतिकार पाएको छ ।

माओवादी जनयुद्धवाट प्राप्त गर्न नसकेको आधा परिर्वतन, जुन नेपाली राज्य संरचनाको सामाजिक रुपान्तरण हो, जनता समाजवादीको प्लेटफर्मबाट गर्न सकिन्छ । विद्वान भएकाले यो तीतो सत्य यहाँले छिटो बुझ्नुभयो ।

नेपालको संरचनात्मक रुपान्तरण मधेस पहाडको संयुक्त लडाइले मात्र सम्भव छ । जसको नेतृत्व मधेसले गर्छ । जसपा यही वैकल्पिक शक्तिको रुपमा उदाएको छ । आउने निर्वाचनपश्चात्त देशको प्रधानमन्त्री को बन्ने भनी निर्धारण गर्न सक्ने हैसियत बनाउँछ । दोस्रो निर्वाचन पश्चात्त देशलाई नेतृत्व दिने वैकल्पिक शक्ति बन्छ भन्नेमा कुनै द्विविधा छैन ।

मजस्ता मधेसका शिक्षित जमात देशको संरचनात्मक परिवर्तनको संघर्षमा यहाँहरुका साथमा छौँ । हो, म चाहन्छु संविधान संशोधन होस् र तपाई देशको प्रथम कार्यकारी राष्ट्रपति बन्नुस् ।

काठमाडौँका सडक किनाराका पुराना घरहरु डोजर लगाएर भत्काइ चौडा चिल्लो सडक बनाउन सफल हुनु भएजस्तै नेपाल राज्य संरचनाका विभेदकारी संरचनाहरु भत्काउनसमेत सफल हुनुहुनेछ भन्ने मलाई विश्वास छ । तपाई भत्काउन सक्नुहुन्छ भनी सडकको चौडाइले खुलेर गवाही दिइरहेका छन् ।

यसकारण जनताले एकचोटि पुनः तपाईलाई पूर्ण तागतसहित बागडोर सम्हाल्नुस् भनी आकाँक्षा बोकेका छन् । त्यो दिन चाँडै आउँछ । तपाईको अहिलेको पदीय मर्यादाको त्यागले त्यो संभावनाको ढोका खोलेको छ ।

चिन्ता नगर्नुस्, जंगलको शेर जुनसुकै पंक्तिमा बसे पनि उसको शक्ति र सामर्थ्य सारा जंगललाई ज्ञात हुन्छ । पूर्वप्रधानमन्त्री र देशमा गणतन्त्र स्थापनाका योजनाकारको गरिमा देशलाई थाहा छ । मधेसीका रुपमा म क्षमाप्रार्थी छु । साथै एकताका लागि तपाईँले देखाउनुभएको त्यागले हामीलाई ऋणी बनाएको छ ।

(अधिवक्ता झा प्रदेश २ का मुख्यन्यायाधिवक्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment