Comments Add Comment

पोखरेलीको नारा : खोई गणतन्त्र, भेरीमा बग्यो !

२७ जेठ, पोखरा । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँको घटनामाथि विभिन्न टीका टिप्पणी भइरहँदा पोखराकी अनिशा बराइलीको मन छट्पटिइरह्यो ।

‘दलित परिवारमा जन्मिएकै कारण नवराजहरुले कहिलेसम्म ज्यान गुमाउनुपर्ने ? के यसकै लागि गणतन्त्र र परिवर्तन ल्याएको ?’ अनिशाको मनमा यस्तै कुरा खेलिरह्यो ।

पोस्टमार्टम र घटनाको प्रारम्भिक अनुसन्धानले नवराज विकसहित ६ जनाको हत्या भएको देखाएपछि पोखरामा अनिशासहितको एउटा समूह बन्यो । जुन समूहले गैरदलित युवतीलाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी पुगेका युवाहरुको हत्या भएको घटनामा सत्यतथ्य छानबिन गर्न आवाज उठाउन थाल्यो ।

हालैमात्र उनीहरुको समूहले एक जना सञ्चारकर्मीमार्फत घाइते परिवारको उपचार गर्न १ लाख ८० हजार रुपैयाँ पठाएको छ । जनप्रतिनिधिसहितको संलग्नतामा भएको भनिएको घटना जातीय आधारमै भएको उनीहरुको दावी छ ।

त्यही समूहले मंगलबार पोखरामा रुकुम घटनाको विरोधमा पोखरामा प्रदर्शन आह्वान गरेको छ । प्रदर्शनका सहभागीहरुले रुकुम घटना मान्छे भएर बाँच्न पाउने अधिकारको विरुद्धमा भएको बताए ।

प्रदर्शनमा आएकाहरुले एकै स्वर निकाले, ‘जातकै आधारमा हत्या कहिलेसम्म ?’ कुनै पनि प्रभाव र दवावमा नपरी रुकुम घटनाको सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाही गर्न उनीहरुले माग गरे । जातकै आधारमा रुकुम चौरजहारीको घटना भएको भन्दै उनीहरुले प्रश्न गरे, ‘सरकार मानवीयता कुन जात हो ?’

उनीहरुको ब्यंग्य थियो, ‘खोई गणतन्त्र ? भेरीमा बग्यो !

प्राध्यापक राजेन्द्र पौडेलले रुकुम घटना जातीय आधारमै भएको बताउँदै त्यसको विरोध गर्दा व्राह्मण वा बाहुन भनिएकाहरु आत्तिनुनपर्ने बताए । ‘रुकुम घटना विशुद्ध जातकै आधारमा भएको घटना हो ।

यसमा कुनै शंका छैन,’ पौडेलले भने, ‘म पनि बाहुन वा व्राह्मण भनिएकै समुदायबाट आएको हुँ । मलाई लाग्दैन मभन्दा तल्लो कुनै जात छ र म कोहीभन्दा माथि छु । त्यसैले कित्ताकाट हुन जरुरी छैन । दोषीलाई कारबाही गरियोस् ।’

जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारबाही गरी कम्तीमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यवद्धता जनाउन उनले आह्वान गरे ।

अधिवक्ता शिव सुनारले मल्लकी छोरीसँग प्रेम गरेकै कारण नवराजसहित गएका ६ जनालाई गाउँलेले लेखेटी–लखेटी हत्या गरेको दाबी गरे ।

‘नवराज विकको ठाउँमा कुनै मल्लको छोरा नै गएको भए यो घटना हुन्थ्यो कि हुँदैन्थ्यो गम्भीर भएर सोचौं । अहिले घटनालाई गलत ब्याख्या गर्ने र दोषी उम्काउन प्रयत्न गर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘यो समाजमा मान्छे भएर बाँच्न पाइन्छ भनेर सरकारले विश्वास दिलाओस् ।’

प्रदर्शनमा लेखक, प्राध्यापक, विद्यार्थी, पत्रकार लगायतले प्रतिवद्धता जनाएका थिए । उनीहरुले विभेदको संरक्षण गर्न राजनीतिक शक्तिको प्रयोग नगर्न आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment