Comments Add Comment

म यसकारण सडकमा उत्रिएँ !

मंगलबार हामी युवाहरू स्वस्फूर्त बालुवाटारमा भेला भएर सरकारलाई विनम्रतापूर्वक आफ्ना कुरा राख्दै सचेतना गराएका हौँ । हामी कुनै समूह र पार्टीका कार्यकर्ता होइनौं, हामी देशका युवा सपुत हौँ । देशप्रेम हामीमा पनि छ ।

सरकारको कामको फल हामीले पनि महसुस गर्न पाउनुपर्छ । हाम्रो दबावपूर्ण आवाज सरकारले सुनोस् र अबका दिनमा गल्ती नदोहोर्याओस् भन्ने हाम्रो चाहना हो । हामी सामाजिक दूरी कायम राखेर, मास्क लगाएर, आफ्नो झोलामा स्यानिटाइजर बोकेर भद्र रूपमा जम्मा भएका थियौं ।

आफ्ना कुराहरू राख्दा आखिर प्रहरीमार्फत सरकारले हामीलाई बल प्रयोग गरेरै छाड्यो । धेरै संचार माध्यमले खिचेका भिडियो र तस्वीरहरूले बोल्छन् सरकारभन्दा हामी युवाहरू कति सु-संस्कृत, सभ्य र संयम भएर आन्दोलनमा थियौं ।

हामी ढुंगामुढा गरेर, अपशब्द बोलेर अभद्र तरिकाले उपस्थित भएका थिएनौं । सरकारले थोरै समय पनि हाम्रा कुरा सहन गर्न सकेन । के सरकार प्रतिनिधिसभाको कक्षमा मात्र सीमित हो ? सरकारले के बोल्यो ? कस्तो बजेट ल्यायो ? केमा कति खर्च बतायो ? कोरोना परिक्षण र ७८ दिनको लामो लकडाउनमा के रणनीति तयार गर्यो ? आगामी दिनमा के गर्दैछ ? युवा जान्न चाहन्छन् ।

के युवाले बुझेका छैनन् सरकारको कमजोरी ? भ्रस्टाचार अनि एकोहोरो अनियमितता ? जे कुरा सरकारले बोल्यो, गर्यो, देखायो, हामी युवालाई ठीक लागेन । त्यसैले युवा सडकमा आएका हौँ ।

हाम्रा कुरा धैर्यपूर्वक सुनेर सम्बोधन गर्नुको सट्टा बल प्रयोग गरेर प्रहरीमार्फत हामीलाई तितरबितर पार्यो । कति साथीलाई समातेर लग्यो । हामी सबैको आवाज यस्तो थियो –

१. कोरोना परीक्षणका क्रममा आरडीटी परीक्षण मात्र गरेको छ पीसीआर  परीक्षण राम्रोसँग सबैतिर भएको छैन, त्यसलाई बढाऊ I संक्रमितहरुको संख्या थाहा पाउन आरडीटीले होइन, पीसीआर परीक्षण गर्नुपर्छ, जसलाई डब्लुएचओले समेत प्रमाणित गरिसकेको छ ।

२. क्वारेन्टिन र भेन्टिलेटरको उचित व्यवस्था अझै छैन, त्यसलाई बढाऊ । क्वारेन्टिनमा बस्नेको हालत सबैले देखेका छौं । तर, १० खर्ब खर्च केमा भयो ?

३. खर्चको पारदर्शिता देखाऊ ।

४. लकडाउन खोल्नु समाधानको उपाय होइन । तर, ७८ दिनसम्म जनतालाई घरभित्र राखेर सरकारले के रणनीति अपनायो ? मोडालिटी के बनायो ? युवालाई बुझाऊ ।

५. दैनिक मजदुरी र ज्यालादारी गरेर खानेलाई व्यवस्थापनाका साथ लकडाउन खुल्ला गर ।

६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सेवामा खट्ने व्यक्तिलाई पहिले पीपीई उपलब्ध गराऊ ।

७. आप्रवासी नेपालीहरूको उद्दार गर ।

८. सरकार तिम्रो बजेटको मूल्यांकन गर ।

९. तिम्रो परिपाटीदेखि हामी उदासीन छौं आफ्नो अक्षमताको स्वीकार गर ।

१०. हाम्रा कुरा सुन, सम्बोधन गर, के नराम्रा कुरा राख्यौं हामीले ? सक्दैनौ त राजीनामा गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment