Comments Add Comment

हङकङ र जापान उडानमा धेरै भाडा लिइएको गुनासाबारे छानविन गर्न समिति गठन

२८ जेठ, काठमाडौं । हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा अधिक भाडा लिइएको भन्दै गुनासो आएपछि सरकारले छानविन समिति गठन गरेको छ ।

नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेको छ । अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्रि गरेको भनी गुनासो सुनिन आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गरेको मन्त्रालयका उपसचिव राजन पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार विमान चार्टर गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर पार्टी एवम ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिइएको हो भन्ने बारे छनविन गर्न समिति गठन गरिएको हो । समितिले सात दिन भित्र प्रतिवेदन दिने गरी कार्यभार पाएको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य तोकिएका छन् । मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्य सचिव तोकिएको छ ।

मन्त्रालयले आगामी दिनमा विमान चार्टर गर्दा जुन देशको लागि चार्टर गर्न लागिएको हो उक्त मुलुकको सम्बन्धित कुटनैतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर उडान गर्न सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने व्यवस्था गरिएको उल्लेख गरेको छ ।

भाडादर नखुलेको अवस्थामा र चार्टर गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment