२९ जेठ , डोटी । जिल्ला अस्पताल डोटीमा उपचाररत जिल्लाकै पहिलो कोरोना संक्रमित बिहीबार डिस्चार्ज भएका छन् ।
छोरोलाई सन्चो नभएपछि उपचारका लागि आएका शिखर नगरपालिका-३ का २५ वर्षीय युवक जेठ १४ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए । उनको १५ गते स्वाब संकलन गरी पठाइएकोमा १९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । १५ दिनसम्म आइसोलेसनमा राख्दा कोरोनाको कुनै लक्षण नदेखिएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको हो ।
छोरा र श्रीमतीसँग भारतबाट फर्किएर शिखर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन बस्दै गर्दा उनका छोरालाई स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल डोटी आएका थिए ।
जिल्ला अस्पताल डोटीले सङ्कलन गरेको ‘थ्रोट स्वाब’ परीक्षण गर्दा उहाँलाइ कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सँगै आएका छोरा र श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको थियो । छोरा र श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरूलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
सङ्क्रमणको पुष्टिपछि कुनै लक्षण नदेखिएकोले ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘१५ दिन अगाडीको थ्रोट स्वाब सङ्कलनमा नतिजा पोजिटिभ देखिए पनि त्यसयता कुनै लक्षण देखिएन,’ अस्पतालका कोभिड-१९ सम्पर्क व्यक्ति उत्तम उपाध्यायले भने, ‘१५ दिनसम्म राख्दासमेत उनको कुनै लक्षण नदेखिएपछि निर्देशिकामा भएको व्यवस्था बमोजिम डिस्चार्ज गरेका छौँ ।’
डोटीमा अन्य पाँचजना सङ्क्रमितहरु उपचाररत छन् । जिल्ला अस्पतालमा दुई र पूर्वीचौकी गाउँपालिकामा क्वारेन्टाइनमा आइसोलेट गरिएको छ । डोटीका चारजना सङ्क्रमित कैलालीको आइसोलेसनमा छन् ।