Comments Add Comment

सरिता गिरीको घरमा भएको आक्रमणमा उनकै पार्टीका विद्यार्थी नेताको संलग्नता

२९ जेठ, काठमाडौं । बुधबार साँझ समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा कालोझण्डा गाड्ने र उनी विरुद्ध नाराबाजी गर्ने समूहमा सोही पार्टीका विद्यार्थी नेताको संलग्नता खुलेको छ ।

नेपालको नयाँ नक्सा अस्वीकार गर्दै संविधान संशोधन विधेयक खारेजीको माग राखेर संसद सचिवालयमा संशोधनको सूचना दर्ता गरेपछि गिरी विवादमा छिन् । उनलाई संशोधन फिर्ता लिन पार्टीले बुधबारै निर्देशन दिएको थियो ।

निर्देशन लगत्तै केही युवाको हुल विशालनगरस्थित गिरी निवासमा पुगेर कालो झण्डा देखाउनुको साथै उनीविरुद्ध नाराबाजी गरेका थिए । गिरीले प्रहरीलाई खबर गरेपछि उनीहरु भागेका थिए ।

बिरोध गर्ने समूहमा समाजवादी पार्टीको विद्यार्थी संगठन केन्द्रीय सचिव हेमराज थापाको अगुवाई रहेको भिडियोसमेत सार्वजनिक भएपछि संगठनले चासो राखेको छ । युट्युब च्यानलसहित गएका थापाको भिडियो बाहिर आएपछि छलफल भइरहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

भिडियोमा दशजना जति युवा कालो झण्डा बोकेर सरिता गिरीको निवास अगाडि नाराबाजी गरिरहेका छन् । त्यसक्रममा लामो कपाल पालेका समाजवादी विद्यार्थी युनियनका सचिव हेमराज थापाले घरको गेटमा लात्तीले हान्छन् र अरुले पनि पालैपालो लात्ती हानेर भाग्छन् ।

संगठनका सचिवकै नेतृत्वमा भएको सो कार्य संगठनको नीति विपरीतको भएको र भिडियोमा थापालाई देखिएकाले स्पष्टीकरण सोधिने श्रेष्ठले बताए । यसअघि विहीबारै समाजवादी पार्टीले सांसद गिरीको घरमा हुलहुज्जत गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।

समाजवादी पार्टीको तर्फबाट जारी विज्ञप्तिमा सांसद गिरीको घरमा केही उछृङ्खल तत्वहरुले ढुंगा हान्ने, गालीगलौज गर्ने र उनको घर अगाडि कालो झण्डा गाडेको भन्दै कडा कारबाहीको माग गरिएको छ ।

ढुंगा हान्ने समूहको नेतृत्व आफ्नै पार्टीका विद्यार्थी नेताले गरेको भिडियोनै सार्वजनिक भएपछि छानविन गर्न संगठनलाई निर्देशन दिइएको हो । अध्यक्ष श्रेष्ठले यसबारेमा संगठनभित्र छलफल भइरहेको र थापाको सो कार्य संगठनको नीति विपरीत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment