Comments Add Comment

पतौरा स्वास्थ्य केन्द्रका डाक्टर बर्खास्त

३० जेठ, रौतहट । कोरोना भाइरस संक्रमणको बेला जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ ।

मौलापुर नगरपालिकाको पतौरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई सेवाबाट हटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए । कोरोना संक्रमण बढी रहेको बेला नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनहरुमा बसेकाहरुलाई चेकजाँच गर्न कुनै चासो नदिएको र नगरपालिकामा स्वास्थ्यको अवस्था कमजोर बन्दै जाँदा पनि काम गर्न नसकेका कारण उनलाई सेवाबाट हटाइएको साहको दाबी छ ।

‘डा. हरिशंकरले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नु भएन । उहाँसँग कार्यसम्पादनको विषयमा स्पष्टीकरण समेत सोधेको थियौं,’ अधिकृत साहले भने, ‘तर उहाँले दिनु भएको स्पष्टिकरण सन्तोषजनक नभएपछि नगरपालिकाले कारबाही गरेको हो ।’

प्रशासकीय अधिकृत साहका अनुसार उनको करार अवधि असार मसान्तमा सकिँदै थियो । तीन महिनाअघि मात्रै उनलाई मेडिकल अधिकृतको रुपमा नगरपालिकाले करारमा नियुक्ति गरेको उनले बताए ।

पछिल्लो समय रौतहट कोरोनाको इपिसेन्टर बन्दै गएको छ । रौतहटमा ५३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १०२ जना निको भएर घर फर्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment