Comments Add Comment

सुदूरपश्चिममा तीन महिनामा साढे २ लाख भित्रिए, ८ हजारको मात्र कोरोना परीक्षण

३० जेठ, कैलाली । भारतबाट सुदूरपश्चिम प्रदेशको नाका हुँदै ३ महिनाको अवधिमा साढे २ लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत फागुन २३ गते यता सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई लाख ६५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाका हुँदै उनीहरु नेपाल भित्रिएका हुन् ।

जेठ २ गतेपछि नै १ लाख भन्दा बढी नागरिक स्वदेश फर्किएका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले जानकारी दिए ।

मन्त्रालयको अनुसार फागुन २३ देखि चैत ९ गतेसम्म एक लाख ४३ हजार ३२५ नेपाली भित्रिएका छन् । त्यसैगरी, चैत १० र ११ गते १६ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् ।

यो अवधिमा सबै भन्दा धैरै कैलालीको गौरिफन्टा नाकाबाट नेपालीहरु स्वदेश फर्किएका छन् । त्यसपछि कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट नेपाल भित्रिनेहरु छन् ।

जेठ महिनाअघि भारतबाट फर्किएका नेपालीको यकीन तथ्यांक प्रदेश सरकारसँग छैन । सामाजिक विकास मन्त्रालयका अनुसार जेठ महिनामा भित्रिएका १ लाख ५ हजारमध्ये ८० हजार जना सुदूरपश्चिमकै हुन् ।

पीसीआर परीक्षण ज्यादै न्युन

तीमध्ये करिब ८ हजारको मात्रै पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकमा ९ हजार ९ सय २४ जनाको स्वाव संकलन गरिएको र ८ हजार २ सय ५२ जनाको मात्रै परीक्षण गरिएको उल्लेख छ । तीमध्ये १८८ जनामा कोरोना संक्रमण देखिएको छ । २ जनाको मृत्यु भइसकेको छ ।

हाल सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टिनमा ६४ हजार ४ सय ५३ जना रहेका छन् । उनीहरुको पीसीआर परीक्षणका लागि नमुना पनि संकलन भएको छैन ।

प्रदेशमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने मेसिन कैलालीको सेती अस्पतालमा मात्र छ । प्रदेशभरमा एउटै प्रयोगशाला भएकाले कोरोना परीक्षणमा ढिलाइ भएको प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रले बताए ।

‘हामीसँग एउटै ल्याब छ । त्यसैले समस्या परेको छ’ उनले भने, ‘धेरैको स्वाब संकलन गरे पनि त्यसको परीक्षण गर्न सकेका छैनौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment