Comments Add Comment

के अहिले सडक आन्दोलन अपरिहार्य छ ?

देशको राजनीतिसँग प्रायः चासो नराख्ने शहरी युवापुस्ता अहिले सरकारसँग विभिन्न माग राखेर सडकमा उत्रिएका छन् । उनीहरुको विरोध प्रदर्शनको ढाँचा नयाँ किसिमको छ र सिंगो राष्ट्रको ध्यानाकर्षण भएको छ ।

देशलाई कोरोनाको संकटले दिनप्रतिदिन गाँजिरहेको बेला सरकारले यसलाई राम्ररी ह्यान्डल गर्न नसकेको भनेर सामाजिक सञ्जालमा आवाज उठ्दै आएको थियो । पर्याप्त संख्यामा कोरोनाको परीक्षण नगरिएको, अविश्वसनीय र्‍यापिड टेस्टमा सरकार भर परिरहेको, क्वारेन्टिनहरु नै संक्रमणको स्रोत बनेको, मेडिकल सामग्रीहरुको खरिदमा अनियमितता भएको लगायत विषयहरु मिडिया र सोसल मिडियाहरुमा छ्याप्छ्यिाप्ति आइरहेका थिए । युवाहरुले पनि यिनै विषयलाई बटुलेर लामो लकडाउनले चिसिएको सडक तताइरहेका छन् ।

सरकारले तीन दिनअघि काठमाडौं लगायत कम संक्रमित देखिएका स्थानहरुमा लकडाउन खुकुलो पार्ने नीति लियो । जनताको रोजिरोटीमै समस्या भएपछि सरकार यो निर्णय लिन वाध्य भएको हो । तर, लकडाउन खुल्नुको अर्थ देशमा कोरोनाको महामारी नियन्त्रणमा आएको होइन । संक्रमण निरन्तर बढिरहेको छ, र आगामी दिनमा अझै तीव्र गतिमा बढ्ने खतरा छ ।

सरकारले पाँच चरणसम्म लकडाउन थप्दा देशभरका जनताले साथ दिएका थिए । महामारी फैलिएका अन्य देशहरुले लकडाउनको पालना गराउन नसकिरहेका बेला नेपालीहरुले अभूतपूर्व अनुशासन देखाए । तर, जनतालाई घरभित्रै थुनेर नेताहरु चाहिँ कोरोनाविरुद्ध लडाईंमा भन्दा राजनीतिक खेलकुदमा व्यस्त बने । भारतबाट ल्याइएका नेपालीहरुलाई राम्रो व्यवस्थापन गर्न सरकारले सकेन । फलस्वरुप एकातर्फ लकडाउनबाट ठूलो आर्थिक भार देशले बहन गर्नुपर्यो भने अर्कोतर्फ महामारी पनि बढ्यो । हामी न रह्यो बाँस न बज्यो बाँसुरीको स्थितिमा पुगेका छौं । सम्भवतः युवाहरुलाई पनि यही स्थितिले बढि पोलेको हुनुपर्छ ।

नेपालले आजका दिनसम्म धेरै किसिमका आन्दोलन देख्यो । अधिकांस आन्दोलन कुनै राजनीतिक दलले नेतृत्व गरेका थिए । ती आन्दोलनमा आन्दोलनकारीहरुले पार्टीका झण्डा र ब्यानर बोकेर मुर्दावाद र जिन्दावादको नारा लगाउने, सडकका रेलिङदेखि सवारीसाधन तोडफोड गर्ने, प्रहरीमाथि ढुंगामुढा गर्ने गरेको हामीले देख्दै आएका हौं । तर, अहिलेका युवाहरुको आन्दोलन त्यो भन्दा पृथक छ । आन्दोलनकारीहरु हातमा विभिन्न सन्देश लेखिएका प्लेकार्डं बोकेर शान्तपूर्वक बस्छन् । कुनै अराजकता देखाउँदैनन् । नारावाजी गर्दैनन् । प्रहरीसँग भिड्न जाँदैनन् । आन्दोलनको यो शैली राजनीतिक दलहरुले सिक्नलायक छ ।

सडकमा चारथरि अनुहार

अहिले सडकमा देखिएका अनुहारहरु ४ प्रकारका छन् । पहिलो प्रकारमा उनीहरु पर्छन्, जो देशको बेथिति र सरकारको अकर्मण्यताबाट भित्रैदेखि आक्रोशित एवं दिक्दार छन् । उनीहरुको धैर्यको बाँध टुटेको छ । उनीहरुमा सामान्य राजनीतिक चेत पनि छ तर, कुनै राजनीतिक दलप्रति झुकाव राख्दैनन् । सरकारलाई सच्चिन दवाव पुगोस् भन्ने उद्देश्यले नै उनीहरु आन्दोलनमा आएका हुन् । आन्दोलनको उठान पनि उनीहरुबाटै भएको हो ।

दोस्रो प्रकारमा छन् लहैलहैमा लाग्ने टिनएजरहरु । उनीहरुलाई राजनीति थाहा छैन । भविष्यमा राजनीति गर्नु पनि छैन । लामो लकडाउनमा घरभित्रै बस्दा–बस्दा बोर भएका उनीहरु रिफ्रेस पनि हुने र अनुभव पनि हुने लोभले आन्दोलनमा आएका हुन् । आन्दोलनमा ठूलो हिस्सा सम्भवतः यही प्रकारका युवाहरुको छ ।

तेस्रो प्रकारमा छन्, राजनीतिक दलका कार्यकर्ताहरु । यो आन्दोलनलाई अहिलेसम्म कुनै पार्टीले अपनत्व लिन भ्याएका छैनन् । संस्थागतरुपमै कुनै पार्टीको सहभागीता पनि आन्दोलनमा छैन । तर, विभिन्न पार्टीका कार्यकर्ताहरु उल्लेख्य संख्यामा देखिएका छन् । विपक्षी दल कांग्रेसदेखि विवेकशील–साझा पार्टीका कार्यकर्ता व्यक्तिगतस्तरमा आन्दोलनमा आएका छन् । विवेकशील र साझाले आन्दोलनमा नैतिक समर्थन जनाएका छन् । कांग्रेसका केही युवा नेताहरुले भित्रभित्र आन्दोलनलाई मलजल गरिरहेको आरोप लागे पनि उनीहरु फ्रन्टमा देखिएका छैनन् । यदि नेताहरु फ्रन्टमा आए भने आन्दोलन बलियो होइन, कमजोर बन्ने अवस्था छ ।

चौंथो प्रकारमा केही घुसपैठवालाहरु छन् । उनीहरु थोरै संख्यामा छन्, तर छन् । सत्तारुढ दलकै केही कार्यकर्ताले पनि आन्दोलनलाई बदनाम गर्न जथाभावी नारा लेखिएका प्लेकार्ड बोकेको आशंका आन्दोलनकारीको छ । आन्दोलनको संयोजन गर्न बनाइएको फेसबुक ग्रुप ‘इनफ इज इनफ’ मा अहिले यस्ता सत्ता समर्थकहरु घुसेर भाँडभैलो गरिररहेका छन् ।

त्यसबाहेक नेपालमा अराजकताको अवस्था सिर्जना गरेर आफ्नो स्वार्थको रोटी सेक्न तल्लिन रहने संदिग्ध पात्रहरुले पनि यो आन्दोलनमा घुसपैठ गरेको आशंका सुरक्षा निकायलाई छ । यस्ता तत्वबाट आन्दोलनलाई जोगाउन सहज छैन ।

युवाहरुका माग र समाधान

देशका युवाहरुको सरकारसँग धेरै ठूला–ठूला अपेक्षा छैनन् । उनीहरुलाई केवल असल शासन चाहिएको छ । भ्रष्टाचार र बेथितिको अन्त्य मात्रै भइदिए उनीहरु मनग्गे खुशी हुनेछन् । सडकहरु चिल्ला होउन्, ट्राफिक जाम घटोस, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी नहोस, रोजगारीको सुनिश्चितता होस । युवाहरुका मुल सरोकार यिनै हुन् ।

अहिलेको आन्दोलन चाहिँ कोरोनामा केन्द्रित छ । उनीहरुले उठाएका प्रमुख विषयहरुलाई विश्लेषण गरौं ।

आन्दोलनमा प्रमुख प्राथमिकताका साथ उठेको माग हो पीसीआर परीक्षण बढाउनुपर्‍यो भन्ने । अहिले आरडीटी (र्‍यापिट डाइग्नोस्टिक टेस्ट) र पीसीआर (पोलिमरेस चेन रियाक्सन) बाट कोरोना संक्रमणको परिक्षण हुँदै आएकोमा आरडीटी विश्वव्यापीरुपमै अविश्वसनीय देखिएको छ । नेपालमा नआरडीटी नेगेटिभ देखिएका धेरै व्यक्तिहरु पीसीआर टेस्टमा पोजिटिभ देखिएका छन् । तसर्थ यसले खतरा बढाएको छ ।

आरडीटीको प्रयोगका सन्दर्भमा नेपालमा मात्र नभएर धेरै देशहरुमा विवाद छ । भारत लगायतका केही देशले आरडीटी पूरै बन्द गरेका छन् ।, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अहिलेसम्म यसलाई अमान्य घोषित गरेको छैन । तर, निरुत्साहित भने गरेको छ । आरडीटी परीक्षणको विश्वसनीयता ५० प्रतिशतभन्दा कम हुने मानिन्छ । नेपालमा आरडीटी परिक्षण बन्द गर्नुपर्ने आवाज उठ्दै आए पनि सरकारले सुनेको छैन ।

पीसीआर परीक्षणको लागत महंगो र प्रक्रिया लामो हुन्छ । यसको तुलनामा आरडीटी सस्तो र छिटोछरितो हुने गर्छ । यसको रिपोर्ट ३० मिनेटभित्रै आउँछ । सस्तो र छिटो हुने भएकाले सरकार आरडीटीमा लोभिएको हो । तर, सरकारले अब पुनर्विचार गर्नैपर्छ । युवाहरुको आवाज सुन्दै सरकारले आरडीटी टेस्टलाई पूरै विस्थापन गर्ने विषयमा विज्ञहरुसँग थप छलफल गरेर चाँडो निर्णय लिनुपर्छ ।

आन्दोलनकारीले भनेजस्तो ‘एक घर एक पीसीआर’ चाहिँ अव्यवहारिक र अनावश्यक कुरा हो । पीसीआर त्यस्ता व्यक्तिलाई गर्ने हो जो संक्रमणको उच्च जोखिममा छन् वा जसलाई कोरोनाको लक्षण देखिएको छ । जोखिम छ भने एउटै परिवारका सबै सदस्यको टेस्ट पनि गर्नुपर्छ । छैन भने कसैको नगर्दा पनि हुन्छ । तसर्थ ‘एक घर–एक रोजगारी’को नारा लगाएजस्तो ‘एक घर एक पीसीआर’ को हास्यास्पद नारा आन्दोलनकारीले फिर्ता लिनु उचित हुन्छ ।

कोरोनाको समग्र परीक्षणको अवस्था नेपालमा धेरै दयनीय छैन । वल्डोमिटरको तथ्यांकअनुसार जनसंख्याको अनुपातमा सबैभन्दा बढी परीक्षण गर्ने दक्षिण एसियाली देशको सुचीमा नेपाल तेस्रो स्थानमा छ । भारतको भन्दा नेपालको परिक्षण अनुपात निकै बढी छ । भारतमा प्रत्येक १० लाख जनसंख्यामा ३ हजार ९ सय ९३ जनाको परिक्षण भएको छ भने नेपालमा उति नै जनसंख्यामा १० हजार ६ सय ४७ जनाको परीक्षण भएको छ । नेपालभन्दा बढि दरमा परिक्षण गर्नेमा माल्दिभ्स र भुटान छन् । पीसीआर परीक्षणको मात्रै स्थिति हेर्दा चाहिँ सन्तोषजनक मान्न सकिन्न । अहिलेसम्म १ लाख २७ हजार दुई सय ८८ पीसीआर परिक्षण भएको छ । यसलाई बढाउनैपर्छ ।

युवाहरुले उठाएको दोस्रो विषय हो १० अर्बको । सरकारका एक मन्त्रीले केही दिनअघि कोरोना नियन्त्रणका लागि करिब १० अर्ब रुपैयाँ खर्च भइसकेको बताएका थिए । त्यो समाचार मिडियामा आएपछि जनता आक्रोशित बने । सबैतिर भद्रगोलको स्थिति छ भने १० अर्ब कहाँ सकियो ? सबैको मनमा खेलेको प्रश्न यही हो ।

यदि सरकारप्रति जनतालाई भरोसा हुन्थ्यो भने १० अर्वको विषय ठूलो मानिन्थेन । यो असामान्य खर्च होइन । कोरोनासँग लड्न सबै देशहरुले ठूलो धनराशी खर्च गरेका छन् । नेपालमा पनि ल्याब स्थापना गर्ने, मेडिकल सामग्रीहरु खरिद गर्ने, राहत वितरण गर्ने, विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने लगायत कामहरु भएका छन् । यी सबै कामका लागि पक्कै ठूलै रकम खर्च भइसकेको हुनुपर्छ ।

सरकारले पैसा खर्च गर्नु मात्रै कुनै मुद्दा हुँदैन । पैसा खर्च गर्दा अनिमितता भएको भए त्यसमा प्रश्न उठाउने हो । अनियमितता नहोस् भनेर खबरदारी गर्ने हो । विगतमा विभिन्न अनियमितताका प्रकरणहरु बाहिर आएकाले यो रकम सदुपयोग भएकोमा जनता सरकारसँग सशंकित बनेका हुन् । प्रश्न उठिसकेपछि सरकारले चाँडो जवाफ दिनुपथ्र्यो । त्यसमा ढिलाई हुँदा पनि बढी आलोचना खेप्नुपरेको छ । अहिले आएर सरकारले मोटामोटी हिसाब देखाएको छ । यो काम पहिल्यै गरिनुपथ्र्यो ।

अर्को विषय छ, क्वारेन्टिन व्यवस्थापनको । यो गम्भीर मुद्दा हो । अहिले विदेशबाट ल्याइएका एक लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टिनभित्रको व्यवस्थापनमा निकै प्रश्न उठेका छन् । क्वारेन्टाइनमै कोरोना संक्रमितको मृत्यू समेत भएको छ ।

आफूले जिम्मेवारी लिएर जनतालाई क्वारेन्टिनमा राखिसकेपछि उनीहरुलाई आधारभूत सुविधा उपलब्ध गराउनु सरकारको दायित्व हो । यदि सरकारको स्रोतले भ्याउँदैन भने यसरी क्वारेन्टिनमा राख्न अब बन्द गर्नुपर्छ । विदेशबाट आएकाहरुलाई उनीहरुकै घरमा ‘होम क्वारेन्टिन’ बस्न लगाउनु नै उचित हुन्छ । उनीहरुको निगरानी स्थानीय तह र समुदायले गर्ने छन् । त्यो बढि सुरक्षित पनि हुन्छ ।

आन्दोलनको ‘टाइमिङ’

कोरोनाबाट बच्न हामी ३ महिनासम्म घरभित्रै थुनिएर बस्यौं । तर, अहिले पनि कोरोना हाम्रो वरिपरी घुमिरहेको छ । अझै उच्च सतर्कता आवश्यक छ । लकडाउन खुल्यो भन्दैमा फुक्काफाल भएर हिँड्ने स्थिति छैन ।

अहिलेसम्म खोप वा औषधि पत्ता नलागेको कोरोना भाइरसबाट बच्न विश्वभर अपनाइएको पहिलो सिद्दान्त भनेको सामाजिक दुरी कायम गर्ने हो । यो मानिसबाट मानिसमा सर्ने भाइरस हो । मानिसहरुबीच आपसमा दुरी कायम गर्न सकेनौ. भने कोरोना चाँडै फैलिन्छ । त्यसैले यस्तो बेलामा सडकमा भिड जम्मा गरेर आन्दोलन गर्नुलाई सही मान्न सकिँदैन । अझ, सचेत युवाहरुबाटै यस्तो हुनु दुखद छ ।

हो, युवाहरुले आन्दोलनमा कोरोनाविरुद्ध सुरक्षा सतर्कता अपनाउने भरपुर प्रयास गरेका छन् । प्रत्येकले मास्क लगाएका छन् । सेनिटाइजर प्रयोग गरेका छन् । सकभर दुरी कायम गर्न पनि खोजेका छन् । तर, जतिसुकै प्रयास गरे पनि हजारौं व्यक्तिहरु सहभागी आन्दोलनमा निरन्तर एकआपसमा दुरी कायम गर्न असम्भव नै हुन्छ । मास्कको सही तरिकाले प्रयोग पनि भइरहेको हुँदैन । आन्दोलनमा आउने प्रायः एकअर्कासित अपरिचित हुन्छन् । मानौं कुनै एक आन्दोलनकारीलाई भोली कोरोना संक्रमण देखियो भने त्यसपछि कन्ट्याक्ट ट्रेसिङ कसरी गर्ने ? कतिको पीसीआर परिक्षण गर्ने ? यसले गर्दा महामारीले उग्ररुप लिने खतरा हुन्छ ।

भारतकै उदाहरण छ हाम्रोसामु । महाराष्ट्रमा डेढ महिना अगाडि हजारौं मजदुरले प्रदर्शन गरेका थिए । अहिले महाराष्ट्र कोरोनाबाट ग्रस्त छ । ब्राजिलमा पनि एउटा विरोध प्रदर्शनबाटै कोरोना उग्ररुपमा फैलिएको आशंका गरिएको छ ।

यदि अरु सरकारलाई दवाव दिने अरु कुनै विकल्प थिएन भने सडक आन्दोलन बाध्यात्मक बन्न सक्थ्यो । तर, हामीसँग विकल्प छ । हामी भर्चुअल माध्यमबाटै सरकारलाई प्रशस्त दवाव सिर्जना गर्न सक्छौं । विगतमा सामाजिक सञ्जालको दवावसामु सरकार झुकेको वा गलत निर्णयबाट सच्चिएका अनगिन्ति उदाहरण छन् । यथार्थमा भन्नुपर्दा सडकमा उत्रेर गरिने आन्दोलनभन्दा सामाजिक सञ्जालमा आउने ज्वारभाटाले सरकारलाई छिटो झुकाएको पाइन्छ ।

यो आन्दोलनको टाइमिङ गलत मान्नुपर्ने अर्को महत्वपूर्ण कारण पनि छ । अहिले नेपाल कोरोनाको लडाईंसँगसँगै सीमारक्षाको लडाईं पनि लडिरहेको छ । भारतले लामो समयदेखि अतिक्रमण गरेको लिम्पियाधुराको जमीन फिर्ता गर्न सरकारले पहिलोपटक गम्भिर कदम उठाएको छ । केही दिनअघि लिम्पियाधुराको जमीनलाई समावेश गर्दै नेपालले नयाँ नक्शा पारित गर्यो । आज संसदले उक्त नक्शालाई एकमतले सदर गर्यो । अबको चरणमा नेपालले भूमि प्राप्तिका लागि कुटनीतिक पहल थाल्नुपर्ने हुन्छ । यसमा सबैभन्दा पहिले देशभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्छ ।

यो सघंर्षमा देशभित्रका सबै तह र तप्काका नागरिकहरु सरकारको साथमा रहेकोमा कुनै शंका छैन । तर, ठिक यही बेला युवाहरु सरकारविरोधि प्रदर्शनमा उत्रिँदा गलत सन्देश गएको छ । भारतीय मिडियाहरुले त ‘नयाँ नक्शाको विरोधमा प्रदर्शन भएको’ भनेर खुल्लमखुल्ला दुष्प्रचार गरेका छन् । यसले अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना हुन्छ, किनकी भारतीय मिडियाहरुको पहुँच धेरै देशहरुमा छ ।

कम्तिमा हिजो नक्शा पारित हुने दिन आन्दोलन स्थगित गर्नका लागि युवाहरुलाई धेरैले आह्वान गरेका थिए । उनीहरुकै फेसबुक पेजमा पनि अधिकांसले आन्दोलन एक दिन रोक्नुपर्ने धारणा राखेका थिए । तर, आन्दोलन रोकिएन । बरु फरक मत राख्नेहरुलाई छानीछानी ब्लक गर्ने काम भयो ।

स्वतस्फुर्त आन्दोलनका जोखिम

यो स्वतस्फुर्त उठेको आन्दोलन हो भन्नेमा शंका छैन । यसलाई कसले नेतृत्व गरेको छैन । नेतृत्वविहीन वा असंगठित आन्दोलनका केही जोखिमहरु हुन्छन् । यस्ता आन्दोलन कुनै पनि समय अनियन्त्रित बन्न सक्छन् ।

हामीले विगतमा ऋतिक रोसन काण्डलाई सम्झिन सक्छौं । हलैहल्लाका आधारमा केही युवाहरुले सुरु गरेको सो आन्दोलनले चर्को रुप लिएको थियो । सो आन्दोलनमा चारजना मारिएका थिए । यस्तै, इराकमा एक दर्जन नेपालीहरु आतंककारीबाट मारिएपछि भएको आन्दोलन पनि अर्को उदाहरण हो । आक्रोशित नेपालीहरुले सुरु गरेको आन्दोलनमा संदिग्ध तत्वहरु घुसपैठ गरेर हिंसा मच्चाएका थिए । अहिले पनि धमिलो पानीमा मार्छ मार्न खोज्ने तत्वहरु सक्रिय छन् । त्यसैले युवाहरु सचेत बन्नुपर्छ ।

नेतृत्व नहुँदाको अर्को समस्या अहिले देखिइरहेको छ । त्यो के हो भने प्ले कार्ड बोकेर आउनेहरु आफूखुशी नारा लेख्छन् । कतिपयले बोकेका प्लेकार्डमा उछृृंङखल र अश्लिल शब्दहरु समेत भेटिएका छन् । त्यसले आन्दोलनको छवि नै बिगारिदिएको छ ।

अर्को, व्यवहारिक समस्या पनि आउँने छ । यदि सरकारले आन्दोलनकारीसँग वार्ता गर्न चाह्यो भने को जाने ? सरकारले कसलाई बोलाउने ? कहाँ पत्र लेख्ने ? अहिले एउटा फेसबुक पेजको भरमा आन्दोलन भइरहेको छ । उक्त फेसबुक पेजमा चलाउने व्यक्तिहरुलाई नै सबै आन्दोलनकारीले भर गर्न सक्दैनन् । यसले गर्दा सरकारले वार्तामा बोलाएको अवस्थामा आन्दोलनकारीहरुबीच नै भाँडभैलो नहोला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment