Comments Add Comment

ला लिगा पुनरागमनमा रियल मड्रिड तयार छ : प्रशिक्षक जिदान

३२ जेठ काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला लिगा पुनरागमनका लागि आफूहरु तयार रहेको बताएका छन् ।

शनिबारको प्रेस कन्फ्रेन्समा फ्रेन्चम्यान जिदानले खेलाडीहरु सबै जना तयार रहेको र टिमको तयारी पनि राम्रो भएको बताए । ‘मेरो खेलाडीलाई थाहा छ । सिजनको अन्तिममा खेल्नु भनेको के हो भनेर थाहा छ,’ जिदानले भने , ‘सबैभन्दा महत्वपूर्ण विषय भनेको तयारी हो र हामीले राम्रो तयारी गरेका छौँ । हामी तयार छौँ र हामीले के गर्‍यौँ र अब के प्रमाणित गर्नुपर्छ भन्नेमा म ढुक्क छु ।’

जिदानले फेरि खेल्न पाउनु खुशीको कुरा भन्दै शारीरिक रुपमा समेत तयार रहेको बताए । ‘हामी फेरि खेल्न पाउँदा भाग्यमानी छौँ । शारीरिक रुपमा पनि हामीले मिहिनेत गरेका छौँ । हामी सुरु गर्नका लागि तयार छौँ ,’ उनले भने ।

ला लिगामा दोस्रो स्थानमा रहेको रियलले आइतबार आइबरसँग घरेलु मैदानमा खेल्दैछ । शनिबार बार्सिलोनाले मालोर्कालाई पराजित गरेपछि रियल ५ अंकल पछि छ । रियलसामु अंकदुरी कम पार्ने मौका पनि छ ।

‘हामी पछाडि छौँ र हाम्रो ११ फाइनल बाँकी छ । हामी उपाधि जितनका लागि हाम्रो प्रयास दिनेछौँ,’ जिदानले भने । ला लिगामा रियलले ११ खेल खेल्न बाँकी छ । रियलभन्दा १ खेल बढी खेलेको बार्सिलोनाको २८ खेलबाट ६१ अंङ्क छ । २७ खेलबाट रियलको ५६ अंक छ ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउ पुनर्निर्माणको चरणमा रहेकोले रियलले सिजनका बाँकी खेलहरु युथ टिमको मैदान अल्फ्रेडो डे स्टेफानोमा खेल्नेछ ।

यस्तै कोरोना महामारीको संक्रमण रोक्न मैदानमा दर्शकलाई अनुमति छैन । सबै खेलहरु क्लोज डोरमा हुनेछ । जिदानले दर्शकको अगाडि खेल्ने चाहना भए पनि अहिलेको अवस्थामा त्यो सम्भव नभएको पनि बताए । उनले डे स्टेफानो मैदान पनि आफ्नै भएकोले त्यहाँ खेल्न तयार रहेको बताए ।

यस्तै लकडाउनले गर्दा एडेन हाजार्ड र मार्को असेन्सियो पनि फिट हुन पाएकोले फाइदा पुगेको जिदानले बताए । ‘उनीहरु हामीसंगै हुनेछन् । त्यो राम्रो समाचार हो । म हाजार्डको लागि खुशी छु,’ जिदानले भने ।

उनले घरमै ट्रेनिङका क्रममा चोट लागेका लुका जोभिक भने केही समय बाहिर हुने यो दु:खद भएको बताए ।

यस्तै जिदानलाई ला लिगा र च्याम्पियन्स लिग मध्ये कुनचाहिँ जित्न चाहनुहुन्छ भन्ने प्रश्न सोध्दा उनले एकले अर्कालाई असर गर्ने बताए । ‘मेरो लागि सबै खेल महत्वपूर्ण छ । यदी तपाईं ला लिगामा राम्रो खेल्नुहुन्छ च्याम्पियन्स लिगमा पनि राम्रो खेल्नुहुन्छ,’ जिदानले भने,‘ला लिगा धेरै कठिन छ । प्रतियोगिता लामो छ र स्पानिस फुटबल कठिन छ ।’

यसैगरी जिदानले पाँच सब्स्सिच्युट राख्न पाउने नयाँ नियम राम्रो भएको र यो खेलअनुसार परक हुने बताए ।

आइबरविरुद्ध आइतवारको खेल प्रशिक्षकको रुपमा रियलमा जिदानको २ सयौँ खेल हुनेछ । उनले भिसेन्ट डेल बोस्सलाई पछि पार्दैछन् । तर जिदानले आफूले कसैलाई जित्न नचाहेको बताए । उनले भने, ‘यो ठूलो क्लबमा हुन पाउँदा म भाग्यमानी छु । मलाई फुटबल मन पर्छ र खेलाडीहरुसँग हुन मन पर्छ । मलाई अवसर दिएकोमा क्लबलाई धन्यवाद दिन्छु ।’

जिदानले २ महिना घरभित्रै बसेर नर्मल लाइफमा फर्क पाउँदा राहत मिलेको समेत बताए । उनले यो समयमा आफूले स्वतन्त्रता धेरै मिस गरेको र लक्ड हुँदा त्यसले असर गरेको बताए । अहिले बिस्तारै सामान्य बन्दै गएकोले यो सकरात्मक पक्ष भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment