
३२ जेठ, धनगढी । डडेल्धुरामा स्टाफ नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
शनिबार संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ । डडेलधुरा अस्पतालमा कार्यरत ३३ वर्षीया नर्समा संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए ।
उनकाअनुसार अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी छ । केही स्वास्थ्यकर्मीको आरडीटी पोजेटिभ समेत आएको छ । ‘सुदूरपश्चिमका स्वास्थ्यकर्मी सबैभन्दा जोखिममा छन्’ उनी भन्छन्, ‘ठूलो संख्यामा परीक्षण नहुँदा वास्तविक तथ्यांक आउन सकेको छैन ।’
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भने कोरोना संक्रमितहरुको उपचार भइरहेका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी जोखिममा रहने बताए ।
‘अहिले सबै जसो अस्पतालमा संक्रमित भर्ना छन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी जोखिममा नहुने कुरै भएन’ उनले अनलाइनखबरसँग भने ‘तर, सावधानी अपनाउँदा संक्रमण सर्ने खतरा भने कम हुन्छ ।’
प्रतिक्रिया 4