+
+
Shares

नगरपालिकाका जनप्रतिनिधिले मागे मन्त्री त्रिपाठीको राजीनामा

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ जेठ ३२ गते १७:४२

३२ जेठ, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका जनप्रतिनिधिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीको राजीनामाको माग गरेका छन् ।

डेढ महिनाभित्रमा पाँच जना प्रशासकीय अधिकृतको परिवर्तन गरेर नगरपालिकाको कामकाजलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रीको राजीनामा माग गरेका हुन् ।

नगर उपप्रमुख, वडाअध्यक्ष र नगर कार्यपालिका सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले मन्त्री त्रिपाठीलाई बर्खास्त गरेर कारवाही नगरे नगरपालिकाको सबै कामकाज बन्द गर्ने चेतावनी दिएका छन् ।

कोरोना महामारी फैलिरहेको बेला मन्त्रालयले सरुवाको नाटक गरेर नगरलाई संकटमा पारेको उनीहरुको आरोप छ ।

यस्तो छ सरुवा श्रृङ्खला

२०७६ कात्तिक ७ गते देवाही गोनाही नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका नागेन्द्र प्रसाद पटेलको १६ दिनमै सरुवा भए पछि कात्तिक २५ गते सिकिन्द्र साह प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए ।

साहको २०७७ वैशाख ११ गते सरुवा भएपछि भोजबहादुर ऐडीले वैशाख १२ देखि १७ गतेसम्म जिम्मेवारी पाए । तर पाँच दिन नबित्दै उनको पनि सरुवा भएपछि वैशाख १८ गते मन्त्रालयले विजयकुमार कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको थियो ।

जेठ २८ गते मन्त्रालयले कार्कीको सरुवा गर्दै मनोज रजकलाई जिम्मेवारी दियो ।

‘कोरोना महामारीको बेला मन्त्रालयको यस्तो रवैयाले हामीलाई दिक्क बनाएको छ’ नगरपालिकाकी उपप्रमुख परनिया देवीले भनिन् ‘डेढ महिनामा पाँच वटा हाकिम परिवर्तन गर्नुको पछाडि मन्त्रालय र मन्त्रीको मनसाय प्रष्ट हुनुपर्छ ।’

नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले पनि मन्त्रालयले कुन आधारमा सरुवा गर्ने गरेको आफूले नबुझेको बताएका छन् ।

‘मन्त्रालय र मन्त्रीलाई अधिकृत सरुवाका लागी कसले उचाल्ने गरेको छ भन्ने प्रश्न छ’ उनले भने, ‘कुन लोभका आधारमा कसको इशारामा मन्त्रालयले यति धेरै पटक अधिकृत सरुवा गरेको हो उनीहरुले जवाफ दिनुपर्छ ।’

आर्थिक वर्षको अन्त्य तथा कोरोना महामारीको संकटपूर्ण अवस्थामा अनावश्यक कर्मचारी सरुवाले नगरपालिकाको कामकाज ठप्प भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?