Comments Add Comment

नारायणी सामुदायिक अस्पतालका डाक्टरसहित १६ जना कोरोनामुक्त

२ असार, चितवन । चितवनको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सक कोरोनामुक्त बनेका छन् । गत २६ जेठमा गरिएको परीक्षणमा अस्पतालका फिजिसियनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको सोमवार गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएको हो । उनलाई आज मंगलवार नै डिस्चार्ज गरी १४ दिन होम क्वारेन्टाइनमा पठाइने अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

चिकित्सकले हेरेका झण्डै एक सय जना विरामीको कन्ट्याक्ट टे«सिङ गरिएको छ । उनीहरूमध्ये चिकित्सकले इन्डोर हेरेका बिरामीहरू सबैको स्वाब परीक्षण गरिएको र उनीहरूमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए ।

ओपीडीमा हेरेका बिरामीको भने परीक्षण गरिएको छैन । ‘लामो समयसम्म डाक्टरको सम्पर्कमा रहेका र हेरेका बिरामीलाई नै नेगेटिभ आएपछि ओपीडीमा हेरेका बिरामीलाई तत्काल आवश्यक परेन, लक्षण देखिएमा आउन भनेका छौं, उहाँहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ कार्यालय प्रमुख तिवारीले भने । चिकित्सकले हेरेका बिरामीमध्ये आधाजसो नवलपरासीका छन् ।

नारायणी सामुदायिक अस्पतालका निर्देशक विष्णु कुँवरले अस्पतालको आईसीयूसहित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरिएको र कसैमा पनि संक्रमण नभेटिएको बताए । ‘अहिले अस्पतालमा कोही पनि संक्रमित भेटिएको छैन, झण्डै ७० जनाको परीक्षण गराएका छौं, अहिलेलाई सुरक्षित भएको महसुस भएको छ, सबै सेवा सुचारु छ,’ अस्पताल निर्देशक कुँवरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment