Comments Add Comment

न्युजिल्याण्डमा २४ दिनपछि भेटिएका कोरोना भाइरसका संक्रमित

२ असार, काठमाडौं । न्युजिल्याण्डमा २४ दिनपछि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा न्युजिल्याण्डमा कोरोना भाइरसका दुई नयाँ संक्रमित फेला परेका हुन् ।

अहिले भेटिएका दुवै संक्रमित हालै मात्र बेलायतबाट फर्किएको र उनीहरु एकअर्कासँग सम्बन्धित रहेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले बताए अनुसार उनीहरु कसैको अन्त्येष्टिको लागि न्युजिल्याण्ड आएका थिए । त्यसैले उनीहरुलाई मुलुक प्रवेश गर्न दिइएको थियो ।

न्युजिल्याण्डले एक साताअघि कोरोना भाइरसमुक्त घोषणा गर्दै सबै प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । यद्यपि अझै पनि मुलुकमा अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध कायमै छ । साथै यहाँका नागरिक र अन्य आवश्यक कर्मचारीलाई मात्र मुलुकमा फर्किने अनुमति दिइएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मुलुकलाई कोरोना भाइरसमुक्त घोषणा गर्दै मुलुकमा पुनः कोरोना भाइरसका संक्रमित भेटिनसक्ने चेतावनी दिएकी थिइन् । उनले निरन्तरको प्रयासले यो सफलता हासिल भएको बताएकी थिइन् ।

नयाँ संक्रमित भेटिएसँगै न्युजिल्याण्डमा समग्र संक्रमितको संख्या एक हजार ५०६ पुगेको छ । अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरसको कारण २२ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment