Comments Add Comment

बजेटको विरोधमा सांसदले गरे संसदमै मौनधारण

२ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप दश सेकेन्ड मौनधारण गरेका हुन् ।

बैठक सञ्चालन गरिरहेकी राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले यादवलाई विनियोजन विधेयकमाथि भनाइ राख्न ७ मिनेट समय निर्धारण गरेकी थिइन् । तर सांसद यादवले सरदर एक मिनेटमा आफ्नो भनाइ राखे र मौनधारण गरेर बसे ।

उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ लक्षित गर्दै सत्तापक्षका सांसदहरुले नै क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरुलाई बर्गीकरण गरिएको बताएको र प्रतिपक्षका सांसदहरु श्रेणीविहीन वर्गमा परेको टिप्पणी गरे ।

यादवले संसदमा मौनधारण अघि के भनेका थिए ?

‘नेपाल सरकार अर्थात सम्पूर्ण नेपालीको सरकार । सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार । तर वर्तमान सरकारको चरित्र आचरण र व्यवहार त्यो अनुरुपको देखिएन । त्यतिमात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने । किनकी हिजोमात्रै सत्तापक्षका सांसदहरुबाट मनको व्यथा पोखियो । सत्तापक्षका सांसदहरुलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ यानेकी फस्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास र फोर्थक्लास श्रेणिमा बर्गीकरण गरिएको थाहा पाइयो । हामी प्रतिपक्षलाई त श्रेणीविहीन वर्गमा नै राखिएको होला । त्यसैले सत्तापक्षका ‘ग’ र ‘घ’ श्रेणीमा परेका सांसदहरुको व्यथाप्रति सहानुभूति राख्दै यो सरकारबाट प्रस्तुत पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतीकात्मक विरोधस्वरुप दश सेकेन्ड मौनधारण गर्दै म यो विनियोजन विधेयकको छलफलमा भाग लिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment