
२ असार, काठमाडौं । लकडाउन खुकुलो भएपछि बजारमा कुखुराको मासु अभाव हुन थालेको छ । काठमाडौंसहित देशभरका ठूला सहरका खुद्रा पसलहरुमा तयारी मासुको अभाव भएको र मूल्य पनि बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
बजारमा कुखुराको मासुको प्रतिकिलो तयारी मासुको मूल्य ३ सय ६० रुपैयाँ पुगेको छ । लकडाउनअघि कुखुराको मासुको मूल्य २४० रुपैयाँ प्रतिकिलो थियो ।
मागको तुलनामा उत्पादन कम हुँदा बजारमा केही समस्या देखिएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
लकडाउनका कारण भविष्यको बजारबारे कृषकले अनुमान गर्न नसक्दा उत्पादन खुम्चीएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।
‘लकडाउन अवधिमा किसानले कुखुरा नपाल्दा ४० प्रतिशत मात्रै उत्पादन भईरहेको छ, ठूलो समस्या आइसकेको त होइन तर प्रशस्त उत्पादन छैन,’ अध्यक्ष बिसीले भने ।
लकडाउनले कुखुरा पालक कृषक त्रसित भएको र दाना, चल्ला भएर पनि किसानको खोरसम्म पुर्याउन नसक्दा अब समस्या देखिन थालेको उनले बताए । किसानले कुखुरा पाल्न नसक्दा लकडाउन अघिको तुलनामा झण्डै एक सय रुपैयाँ प्रतिकिलोको दरले मूल्य बढेको संघले जनाएको छ ।
लकडाउन खुकुलै हुँदै गएर होटल रेष्टुराँ पनि चल्न थाल्यो भने मासु अभाव चर्कने र मूल्य पनि बढ्न सक्ने संघले जनाएको छ ।
६० प्रतिशत मासु होटल, रेष्टुराँ र ४० प्रतिशत नियमित उपभोक्ताले किन्ने गरेका छन् । कम उत्पादनको असर देशभर देखिन थालेको पनि संघले जनाएको छ ।
प्रतिक्रिया 4