
२ असार, काठमाडौं । धनकुटा नगरपालिकाले व्यवसायीलाई विभिन्न आठ सेवा क्षेत्रमा कर, शुल्क तथा भाडामा छुट दिने निर्णय गरेको छ ।
लकडाउनका कारण व्यवसायीमा पर्न गएको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न आठ सेवा क्षेत्र निर्धारण गरी कर, शुल्क र भाडा छुट दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार लकडाउनले प्रत्यक्ष रुपमा प्रभाव परेका कर, शुल्क, भाडा, ठेक्का आदि क्षेत्रमा औचित्यका आधारमा आर्थिक वर्ष २०७६/०७७ को करमा छुट दिने निर्णय भएको हो ।
थापाका अनुसार नगरपालिकाभित्र सञ्चालन भएका सबैखाले व्यापार व्यवसायमा आव २०७६/०७७ मा बुझाउनु पर्ने व्यवसाय करमा २५ प्रतिशत छुट दिने निर्णय भएको छ ।
व्यापारीहरुले कर बुझाइसकेको भए आगामी आर्थिक वर्षको करमा मिलान गर्ने उनले बताए ।
यस्तै निजी व्यवसायीक बहाल वापतको करमा पनि २५ प्रतिशत छुट दिने निर्णय नगरपालिकाले गरेको छ । सरकारी वा संस्थागत बहालको हकमा भने यो नियम लागू हुने छैन ।
यस्तै व्यापारिक भवन लगायत व्यापारिक संरचनाहरुको भाडा, व्यापारिक भवन, पसल, सर्टर, बहुउद्देश्यीय भवन, शौचालय आदिमा लकडाउन अवधिभरको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको छ । सुविधायुक्त बैङ्क तथा वित्तिय संस्थाको हकमा भने यो नियम लागू हुने छैन ।
यस्तै साप्ताहिक हाटबजार सेवा शुल्क संकलन ठेक्का(धनपा ५ र १) मा पनि २५ प्रतिशत छुट दिने निर्णय भएको थापाले बताए ।
यस्तै सरसफाई शुल्कमा पनि २५ प्रतिशत छुट दिने निर्णय भएको छ । तर घरमा लाग्ने सरसफाई शुल्कमा भने छुट हुने छैन ।
सवारी पार्किङ शुल्क संकलन ठेक्कामा १५ प्रतिशत, ढुंगा, गिटी, बालुवा आदि पैदावर संकलन (फोङसुवा खोला ठेक्का धनपा ९)मा कुल ठेक्का रकमको आधारमा एक महिना बराबरको रकम छुट दिने निर्णय गरेको छ ।
यस्तै धनपा ५ स्थित नगरपालिका कार्यालयमा सञ्चालित चमेनागृहको २ महिना बराबरको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको छ ।
प्रतिक्रिया 4