+
+
Shares

दिगो विकास लक्ष्य प्राप्तिका लागि धनकुटा नगरपालिकाले थाल्यो पहल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते ९:३४

१४ जेठ, धनकुटा । धनकुटा नगरपालिकाले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि सरोकारवालासँग छलफल सुरु गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा घोषणा गरेको दिगो विकास लक्ष्यलाई स्थानीय तहसम्म प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिकाले तथ्यमा आधारित योजना निर्माण र समुदायको सहभागिता बढाउने अभियान थालेको हो ।

स्थानीय तहहरू विकासका प्रमुख आधारका रुपमा स्थापित भइरहेका बेला नगरपालिकाले हाल दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये विशेषगरी गरिबी निवारण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै काम गरिरहेको जनाएको छ । यसका लागि आधारभूत तथ्याङ्क सङ्कलन गरी आगामी दिनमा अपनाउनुपर्ने नीति, योजना, सम्भावना र चुनौतीबारे छलफल तथा सुझाव संकलन गरिएको नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । गर्भवती, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर शून्यमा झारिएको दाबी गरिएको छ ।

खोप सेवाको पहुँच शतप्रतिशत पुगेको छ भने ९९ दशमलव ७४ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराउने गरेका छन् । यसलाई स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण र जनचेतनाको सकारात्मक परिणामका रुपमा हेरिएको छ ।

खानेपानी तथा सरसफाइतर्फ पनि प्रगति देखिएको छ । नगरपालिकाका अनुसार ९२ प्रतिशत उपभोक्ताले धाराको पानी प्रयोग गरिरहेका छन् भने ८४ प्रतिशत नागरिक सुरक्षित शौचालयको पहुँचमा पुगेका छन् ।

स्थानीय तहले स्वास्थ्य, सरसफाइ र सुरक्षित पानीलाई नागरिकको आधारभूत अधिकारका रुपमा स्थापित गर्न थालेको संकेत यी तथ्याङ्कले दिएको नगरपालिकाले जनाएको छ ।

तर उपलब्धिसँगै चुनौती पनि उत्तिकै गम्भीर देखिएका छन् । नगरपालिकामा अझै ११ दशमलव ३ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्कले आर्थिक असमानता अझै कायम रहेको देखाएको छ ।

नगरपालिकाका सूचना अधिकारी अधिकारीका अनुसार रोजगारी सिर्जना गर्न नसक्नु, आर्थिक स्रोतको अभाव, बढ्दो बसाइँसराइ, जलवायु परिवर्तन, प्रविधिको सीमित पहुँच तथा चेतनास्तरमा असमानता दिगो विकास लक्ष्य प्राप्तिका मुख्य चुनौती रहेका छन् ।

विशेषगरी युवा जनशक्ति विदेश पलायन भइरहँदा स्थानीय उत्पादन र श्रमशक्तिमा असर परेको सरोकारवालाहरूको भनाइ छ । कृषि तथा साना उद्यमलाई आधुनिक प्रविधिसँग जोड्न नसक्दा आर्थिक विकासको गति अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको अस्थिरताले ग्रामीण समुदाय थप प्रभावित बन्दै गएको तथ्यांकले देखाएको छ ।

छलफल कार्यक्रममा सहभागीहरूले दिगो विकास लक्ष्य प्राप्ति केवल सरकारी योजना मात्र नभई समुदाय, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको बताएका छन् । उनीहरुले स्थानीय आवश्यकता र वास्तविकतामा आधारित योजना निर्माण गर्नुपर्ने, प्रभावकारी बजेट व्यवस्थापन गर्नुपर्ने तथा जनसहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघले विश्वभर गरिबी अन्त्य, गुणस्तरीय शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, स्वच्छ पानी, वातावरण संरक्षण र समृद्ध समाज निर्माणका लागि १७ वटा दिगो विकास लक्ष्य तय गरेको छ ।

नेपाल सरकारले पनि संघ, प्रदेश र स्थानीय तहमार्फत सोही अवधारणाअनुसार कार्यक्रम सञ्चालन गर्दै आएको छ । सन् २०३० भित्र यी लक्ष्य हासिल गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता रहेकाले स्थानीय तहहरुको भूमिका अझ महत्वपूर्ण रहने बताइएको छ ।

नगरपालिकाले अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरी आगामी योजना तथा कार्यक्रम निर्माण गर्ने जनाएको छ । स्थानीय तहमा तथ्यमा आधारित नीति, पारदर्शी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न सके दिगो विकास लक्ष्य प्राप्ति सम्भव हुने अपेक्षा गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?