News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
- गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूलाई बढी जनउत्तरदायी बन्न आह्वान गरे ।
- उनले वर्तमान सरकारले चालेका सुशासन र आर्थिक सुधारका कदमहरूले जनतामा नयाँ आशा जागृत गर्ने विश्वास व्यक्त गरे ।
१५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताए ।
राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै उनले राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गरे ।
राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने धारणा राखे ।
मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढाएको भन्दै खुशी व्यक्त गरे ।
शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानूनी एवं संरचनागत सुधारले जनतामा नयाँ आशा जागृत गर्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘आज नागरिकले सुशासन सहितको समृद्धि खोजेका छन् । यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ । अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जा लगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ । अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ ।’
गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको बताउँदै उनले यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4