News Summary
Generated by OK AI. Editorially reviewed.- काभा महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज काजखस्तान र इरानबीच त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा प्रतिस्पर्धा हुँदैछ ।
- सेमिफाइनलमा काजखस्तानले भारतलाई र इरानले नेपाललाई समान ३-० को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
- तेस्रो स्थानका लागि आजै दिउँसो १ बजे सेमिफाइनलमा पराजित टोली नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
१५ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज कजाखस्तान र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ । सेमिफाइनलमा काजखस्तानले भारतलाई र इरानले घरेलु टोली नेपाललाई समान ३-० को सेटमा हराएका थिए ।
काजखस्तानले भारतलाई २५-२१, २५-१७, २५-१४ ले पराजित गरेको थियो । यस्तै दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई २५-२०, २५-१५, २५-११ ले पराजित गरेको थियो ।
साविक विजेता इरान र काजखस्तान समूह चरणमा पनि भिडेका थिए । समूह बी को अन्तिम खेलमा इरानले कजाखस्तानलाई सोझो सेटमा हराएको थियो ।
फाइनलमा पनि सोही लय कायम राख्दै च्याम्पियन बन्ने लक्ष्यमा इरान छ । सुरुवाती देखि नै इरानी खेलाडीले उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका थिए ।
यस्तै सेमिफाइनलमा भारत विरुद्ध सहज जितपछि कजाखस्तानले पनि इरानसँग फाइनलमा बदला लिने लक्ष्य बनाएको छ । कजाखस्तानकी क्रिस्टिना बेलोभाले समूह चरणमा आफ्नै कमजोरीले इरानसँग पराजित भएको बताएकी थिइन् भने सेमिफाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न सफल भएको उनको प्रतिक्रिया थियो ।
अब फाइनलमा इरानलाई हराएर उपाधि जित्ने लक्ष्य रहेको उनले बताएकी छिन् ।
यसैगरी तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित नेपाल र भारतबीच आजै दिउँसो १ बजे खेल हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमै भारतसँग खेल्दा ३-२ को सेटमा पराजित भएको थियो ।
टिममा नयाँ खेलाडीहरु रहेको र पहिलो खेल भएकोले भारत विरुद्ध थोरैले चुकेको नेपालले अब भारतलाई हराएर तेस्रो हुने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4