Comments Add Comment

काठमाडौंबाट हिँड्दै आएका व्यक्तिलाई गोरखामा कोरोना

२ असार, गोरखा । गोरखामा मंगलबार थप १० जना कोरोना संक्रमित थपिए । गोरखा नगरपालिकाका सात, बारपाक सुलिकोट गाउँपालिकाका दुई र गण्डकी गाउँपालिकाका एकजनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको छ ।

गोरखा नगरपालिका वडानम्बर १ र ११ का दुई/दुईजना तथा वडानम्वर ३, ६ र १३ का एक/एक जनामा संक्रमण देखिएको हो । उनीहरुमध्ये ६ जना भारतबाट आएका हुन् भने एकजना काठमाडौंबाट ।

काठमाडौबाट आउने पुरुष हिँडेर गोरखा आएका थिए । गत जेठ ८ गते काठमाडौंबाट हिँडेका उनी तीन दिन लगाएर गोरखा आइपुगेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । ‘काठमाडौंबाट हिँड्दै उनी जेठ १० गते खैरनी आइपुगेछन्,’ उनले भने, ‘गोरखा प्रवेश गर्न खोजेपछि चेकजाँच भयो, अनि हामीलाई खबर भएपछि हामीले सिधै क्वारेन्टिनमा ल्याएर राख्यौ ।’

२३ गते कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । गोरखा नगरपालिकाका संक्रमित सातैजना मनकामना आवासीय बहिरा माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याइसकिएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।

गण्डकी गाउँपालिकाका संक्रमित भारतबाट आएका व्यक्ति हुन् । वडानम्बर ५ का उनी जेठ १४ गते आएर रत्नेश्वर माविको क्वारेन्टिनमा बस्दै आएका थिए । उनको यसअघि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

शंका लागेर पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताइन् । ‘जेठ २० गते उहा र सँगै क्वारेन्टिनमा रहनुभएका अन्य चार जनाको स्वाब परीक्षणका लागि पठाएका थियौं, २५ गते रिपोर्ट आयो, चारजनाको पोजेटिभ देखियो उहाँको नेगेटिभ, त्यसपछि पुनः ३० गते उहाँको स्वाब परीक्षणका लागि पठायौं, आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन् ।

संक्रमित व्यक्तिलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको उनले बताइन् ।

बारपाक सुलिकोटका दुईजना संक्रमित भारतबाट आएका हुन् । वडानम्बर ६ का उनीहरु सूर्यज्योती माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

जेठ १९ गते आएका उनीहरुको ३० गते स्वाब परीक्षणका लागि पठाइएको थियो । योसँगै गोरखामा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

यसअघि गण्डकी गाउँपालिकका ९, भीमसेन थापा गाउँपालिकाका ४ र पालुङटार नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment