Comments Add Comment

‘इनफ इज इनफ’मा राजनीतिकरण भएको भन्दै नायिका सुरक्षा पन्त अलग

काठमाडौं । ‘इनफ इज इनफ’ अभियान अराजक आन्दोलन र राजनीतिकरण हुन थालेको भन्दै सुरक्षा पन्तलगातका केही कलाकारहरु त्यसबाट बाहिरिएका छन् ।

सुरक्षा पन्त, निशा अधिकारी, नग्मा श्रेष्ठ लगायतका कलाकार फेसबुक ग्रुपको एडमिन बनेर स्वतन्त्र युवाहरुलाई खबरदारी अभियानमा सामेल गराइरहेका थिए ।

नायिका पन्तले जनतालाई जागरुक बनाउन थालिएको अभियानमा राजनीतिकरण हुन थालेपछि आफूहरु डराएर त्यसबाट बाहिरिएको बताइन् । संविधान संशोधन हुने दिन प्रदर्शन गर्ने कुरादेखिनै आफूहरु ‘इनफ इज इनफ’ अभियानसँग असहमत भएको र सडक आन्दोलनले मान्छेको जीवन जोखिममा पर्ने देखिएकाले बाहिरिएको दाबी गरिन् ।

पन्तले अनलाइनखबरसँग भनिन्, हामीले पहिलेदेखि नै सामाजिक जागरणका अभियान चलाइरहेका थियौं, यसबीचमा युवाहरुलाई साथ दिन हामीले त्यो अभियानमा समर्थन जनाएको हो । तर, उहाँहरुको र हाम्रो ‘आइडिया क्ल्यास’ भयो, राजनीतिक भाइब आउन थाल्यो । भोलि अराजकता भयो भने कसले जिम्मा लिने भनेर हामी बाहिरिएका हौं ।

आफूहरुलाई देखेर धेरै स्वतन्त्र युवाहरु अभियानमा सहभागी भएपनि उनीहरुको भावनालाई राजनीतिक स्वार्थमा प्रयोग गर्न खोजिएपछि कलाकारहरु बाहिरिनुपरेको पन्तको भनाइ छ । राजनीति बाहिरका युवाको भावनालाई बिभिन्न राजनीतिक समूहले दुरुपयोग गर्न थालेपछि गडबडीको खतरा देखिएको पन्तले बताइन् ।

उनले भनिन्-एउटा कलाकारको रुपमा युवाहरुको राम्रो उद्देश्य देखेर समर्थन जनायौं,हजारौं मान्छे हामीलाई देखेर यसमा सहभागी भए । तर घुसपैठ हुन थाल्यो,विशुद्ध युवा भावनालाई राजनीतिकरण गर्न खोजियो,हामी कलाकार त कुनै पार्टीको हुन सक्दैनौं,त्यसैले हामी त्यहाँ बस्न सकेनौं ।

नायिका पन्तले केही अघिदेखिनै अति भयो भन्ने सामाजिक सन्जाल अभियान चलाइरहेकी थिइन् । विकृति विसंगतिविरुद्ध युवालाई आवाज संगठित गर्न आफूले अति भयो भन्ने अभियान चलाएको र निशा अधिकारीले पनि ‘जिरो टलरेन्स’ अभियान अलग रुपमा चलाइरहेको पन्तको भनाइ छ । आफूहरुको अभियान भने सामाजिक सन्जालमा जारी रहने बताइन् ।

पन्तले सामाजिक सन्जाल फेसबुकमा मंगलवार अपरान्ह आफू ‘इनफ इज इनफ’ अभियानबाट बाहिरिएको जानकारी दिएकी छन् । निशा अधिकारी पनि सो अभियानबाट बाहिरिएको र आफूहरुसँगै राजनीति बाहिरका युवालाई साथ दिन आएका अन्य कलाकारहरु पनि सो समूहमा नरहेको उनले बताइन् ।

पन्तले फेसबुक पेजमा अर्जेन्ट नोटिस भन्दै लेख्छिन्-कोभिड १९ इनफ इज इनफ र अति भयो नितान्त फरक हो भन्ने जानकारी । सडकमा अहिले जानु जरुरी छैन,आफ्नो ठाउँबाट सचेतना अनि प्रश्न गर्नुहोला । कुनै गु्रपले तपाइलाई सडकमै जाउ भन्छन् भने पार्टीको मान्छेलाई शुरुमै बहिस्कार गर्नुहोला । प्रश्न गर्नुहोस् पहिला, तपाई कुन पार्टीको ? इनफ इज इनफ चाहिँ अत्ति भयो अब ।

पन्तले इनफ इज इनफ अभियान कुनै एकजना व्यक्तिको आइडिया भने जसरी प्रचार भएकोमा समेत आपत्ति जनाएकी छन् । उनले बिभिन्न अभियानहरुमा आबद्ध समूहको सामुहिक योजनालाई व्यक्ति र पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेको आरोप लगाएकी छन् ।

पन्तले भनिन्, ‘यसलाई एकजना व्यक्तिको आइडियो भनेर नबुझौं । तर, यसमा राजनीतिकरण भयो, एउटाले क्रेडिट लिन खोजियो । त्यहाँ एमआरआर थियो, निशा दिदीको जिरो टलरेन्स, मेरो अति भयो, उमेन्स ग्रप जस्ता धेरै सन्जाल जोडिएका थिए । तर, उद्देश्यमै नमिलेपछि हामी बाहिरियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment