Comments Add Comment

शहीदनगरको क्वारेन्टिनमा बस्नेहरु भन्छन्– पशुसरह व्यवहार भयो

३ असार, जनकपुरधाम । ‘यहाँबाट घर गएर काम गर्न नपाए मेरो परिवार भोकै मर्छन् । यहाँ तीन साताभन्दा बढी दिनदेखि राखिएको छ । न त रिपोर्ट दिन्छन्, न त घर जान दिन्छन्,’ २२ दिनअघि भारतबाट आएका धनुषाको शहीद नगरपालिकाका जितेन्द्र माझी दुःखेसो सुनाउँछन् ।

शहीद नगरपालिका ९ यदुकोहास्थित जनता एकाई माविको क्वारेन्टिनमा माझी २२ दिनदेखि बस्दै आएका छन् । ‘धेरै दुःखका साथ यहाँ दिन काटिरहेको छु । न त समयमा खाना आउँछ, न पानी आउँछ,’ उनी भन्छन्, ‘पानी माग्दा पनि फुटबललाई खुट्टाले हानेझैं पानीको बोतललाई खुट्टाले गुडाएर दिन्छन् ।’

यो क्वारेन्टिनमा माझीसहित भारतको बिभिन्न ठाउँबाट आएका १ सय ९९ जना छन् । एउटै कोठामा १० देखि १५ जनालाई राखिएको छ । कोठा अपुग भएपछि विद्यालयको बरण्डामै डेस्क र बेन्च जोडेर सुत्ने व्यवस्था मिलाइएको छ ।

‘आफूहरुलाई पशुतुल्य व्यबहार गरिँदैछ,’ क्वारेन्टिनमा बस्दै आएका विजय कुमार यादवले भने, ‘विद्यालयमा २ वटा मात्रै शौचालय छ । दिसा गर्न घण्टौंसम्म पालो पर्खिनुपर्छ ।’

भारतको गुजरातबाट फर्केर आएका मनोज दासले यहाँका केही साथी बिरामी हुँदा पनि कसैले वास्ता नगरेको बताए । ‘यहाँ बस्दै आएका दुई जनालाई झाडापखाला लाग्यो, क्वारेन्टिनमा खटिने व्यक्तिदेखि मेयरसम्मलाई फोन ग¥यौं, तर कसैले कुनै किसिमको ध्यान दिएन,’ मनोजले भने ।

क्वारेन्टिनमा नुहाउने र कपडा धुने साबुन, तेल जस्ता सामग्री दिनुपर्नेमा नदिइएको उनीहरुको गुनासो छ । कपडा धुने र नुहाउने साबुन घरबाटै आइरहेको काशिन्द्र रामले बताए । उनले ट्युबबेल पनि दुई वटा मात्रै हुँदा नुहाउन पनि धेरै समस्या हुने गरेको सुनाए ।

यो क्वारेन्टिनमा तीन साताभन्दा बढी समयदेखि उनीहरु बस्दै आएका छन् । बस्दै आएका १ सय ९९ मध्ये १ सय ४ जनाको स्वाब संकलन भएको छ । तर रिपोर्ट आइसकेको छैन । रिपोर्ट समयमा नआउँदा आफूहरुलाई समस्या भइरहेको उनीहरु बताउँछन् ।

स्वाब संकलन नभएकाले व्यक्तिहरुले छिटो स्वाब संकलन गरिदिन माग गरिरहेका छन् भने स्वाब लिइसकेका व्यक्तिहरुले रिपोर्ट छिटो दिनुपर्ने माग राख्दै मेयरबिरुद्व नारावाजी गर्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय यदुकोहाका प्रमुख प्रहरी निरीक्षक दीपकबाबु केसीले भने, ‘रिपोर्ट छिटो माग्दै नाराबाजी गर्दै आउनु भएको थियो, हामी गएर सम्झाइबुझाइ गरेपछि उहाँहरु केही शान्त बन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment