+
+
Shares

पशुपन्छीझैं के हामी वर्तमानमा रमाउन सक्छौं ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १५:५६

एउटा चराले बिहानभर उड्दा–उड्दा एउटा रुखमा फल भेट्छ । त्यही फलले आफ्नो भोक मेट्छ । रुखमा लटरम्म फलहरू छन् । तर आफ्नो सानो पेट भरिएपछि चरालाई पुग्छ । चरा भुर‍्‍र् उडेर अन्तै जान्छ ।

तर, त्यही ठाउँमा मान्छे भइदिएको भए ?

भोकको झोकमा मान्छेले आफूलाई चाहिनेभन्दा बढी खानेकुरा खाइदिन्थे । भरपेट खाएपछि पनि मान्छेको मन कहाँ अघाउँछ र ? रुखमा भेटिएका फलहरू छाडेर जान लोभ लाग्छ । उसले या त त्यही रुखमा आफ्नो डेरा जमाउँछ वा रुखका फलहरू टिपरे आफ्नो घरतर्फ लैजान्छ।

एउटा चरालाई आफ्नो पेट भरेपछि पुग्छ। त्यसपछि उनलाई उक्त फल अरूले खाओस् वा बोटमै रहोस्, कुहिएर झरोस् वा कसैले टिपेर लगोस् कुनै सरोकार रहँदैन । आफ्नो पेट भरेपछि चरा सन्तुष्ट हुन्छ ।

तर मान्छे यसरी सन्तोष मान्दैन । भरपेट फल खाइसकेपछि मान्छेमा लोभ पैदा हुन्छ, ‘बाँकी फल किन छाड्ने ?’ बोटमै छाड्नु वा अरूले खानुभन्दा आफ्ना लागि जगेडा गर्नु उचित ठान्छ । त्यही कारण मान्छेले उक्त फल आफ्नो खातिर भण्डारण गर्छ । यदि उक्त फल आफूले टिप्न नपाएको वा राख्न नपाएको भए मान्छेको मन बेचैन हुन्थ्यो । राति चैनले निदाउन सक्दैन’थ्यो । किनभने त्यही फल टिप्न वा ल्याउन नपाएकोमा उनको मनमा ठूलो असन्तोष पैदा हुन्थ्यो ।

मान्छेले भोलिको बारेमा सोच्छन् । भरे वा भोलि के खाने, के गर्ने भन्ने कुराले मान्छेलाई पिरोल्छ ।  त्यही कारण आज भरपेट खाएर पनि मान्छेको मन अघाउँदैन । भोलिकै चिन्ताले मान्छेमा लोभ र असन्तोष पैदा हुन्छ ।

तर पशुपन्छीले ?

पशुपन्छी भोलिका लागि चिन्तित हुँदैन । एक पेट खाइसकेपछि उनीहरू सन्तुष्ट हुन्छन्, प्रफुल्ल हुन्छन् ।

अरूभन्दा बढी चेतनशील प्राणी भएकाले पनि मान्छले भविष्यका लागि सोच्छ । भोलिका दिनलाई पनि आज जस्तै सहज र सरल बनाउने यत्न गर्छ । अझ वर्तमानमा कष्ट खेपेर भविष्यलाई सहज बनाउन चाहन्छ । भविष्यलाई कल्पेर नै मान्छेले वर्तमानलाई भुल्छन् ।

वर्तमानमा जस्तोसुकै कष्ट सहनु परोस्, जस्तोसुकै अभाव खेप्नुपरोस्, जस्तोसुकै श्रम गर्नु परोस्, मान्छे तयार रहन्छ। तयार यसकारण रहन्छ कि आज गरेको दुःखले भोलिको दिन सुखद् बनाउनेछ । भोलिको कल्पनामै मान्छे वर्तमानमा रमाइरहेका हुन्छन् ।

वर्तमानको क्षण, अवस्था सोचेर मान्छे सायदै रमाउँछ । वर्तमानलाई स्विकार्न समेत डराउँछ । भविष्यको सुनौलो कल्पना गर्दै मान्छे वर्तमानमा अनेकन कष्ट र दुःख सहन तयार हुन्छ ।

तर, पशुपंक्षी भविष्यलाई कल्पेर रमाउँदैन । वर्तमानमा रमाउँछ । वर्तमानमै बाँच्छ । आजको क्षण राम्ररी खान पाए, राम्ररी बस्न पाए उनीहरुलाई पुग्छ । भोलि खान पाइएला नपाइएला, भोलि बस्न पाइएला नपाइएला, भोलि दुःख पाइएला वा नपाइएला ? तिनीहरुलाई यस कुराले कतिपनि चिन्तित र दुःखी तुल्याउँदैन ।

के मान्छे यसरी वर्तमानमा रमाउन सक्छ ? वर्तमानमै बाँच्न सक्छ ? भविष्यका लागि चिन्नित र भयभित नहुन सक्छ ?

विद्वानहरु भन्छन्, ‘वर्तमानमा बाँच । यर्थाथलाई स्वीकार गर । जीवनलाई उत्सव बनाऔं ।’ हिजो जे भयो, त्यसमा पछुतो नगर । भोलि के हुनेछ, त्यसमा चिन्ता नगर । आजलाई राम्रो बनाऔं ।

भनिन्छ, जंगलमा बस्ने आदिवासी समुदायहरू पनि पशुपन्छीजस्तै भोलिको कुराले उति धेरै चिन्तित हुँदैनन् । उनीहरु जंगलमा फल्ने फलफूल, कन्दमुल खाएर, जीवजन्तुको शिकार गरेर बाँच्छन् । आज भरपेट खान पाएपछि उनीहरू भोलिका लागि सोच्दैनन् । उनीहरू विश्वास गर्छन्, प्रकृतिले बाँच्नका लागि पर्याप्त स्रोतसाधन दिन्छ । प्रकृतिप्रति आशावादी र कृतज्ञ भएरै उनीहरू वर्तमानमा रमाइरहेका हुन्छन् भनिन्छ ।

तर आधुनिक समाजका मान्छेहरू आज जति प्राप्त हुन्छ, त्यसबाट सन्तुष्ट हुँदैनन् । आजलाई पुगेपछि भोलिका लागि सोच्छ । भोलिलाई पुगेपछि, पर्सिका लागि सोच्छ । एउटा पुस्तालाई पर्याप्त पुग्ने धनदौलत भएर पनि मान्छे सन्तोष मान्दैन । आफ्नो मृत्युपछि आफ्ना छोरानातिले के खान्छन्, के गर्छन् भन्ने कुराले मान्छेलाई चिन्तित र दुःखी बनाइरहन्छ ।

भोलिलाई सम्झेर उत्साहित हुनु पक्कै राम्रो हो । भोलिको आशा संगालेर बाँच्नु पक्कै सुखद् हो । तर भोलिको भय र चिन्ताले हामीलाई वर्तमानमा रमाउन दिँदैन । वर्तमानमा बाँँच्न दिँदैन । भोलिको भयले हामीमा अतिलोभ पैदा हुन्छ । असन्तोष पैदा हुन्छ । त्यही लोभ र असन्तोषले हामीलाई भ्रष्ट बनाउँछ । जस्तोसुकै कृत्य गरेर भए पनि धनदौलत थुपार्ने चक्करमा लाग्छौं । यो चक्करमा फसेपछि हामीले सन्तोष र सुख सधैंका लागि गुमाउँछौं । किनभने लोभ र असन्तोषको भकारी कहिल्यै भरिँदैन, कतिले पनि भरिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?