Comments Add Comment

बजेट पुस्तिका नदिएपछि बागमती प्रदेशमा कांग्रेस आक्रोशित

बजेट पासहुन दिन्नौं : बानियाँ

३ जेठ हेटौंडा । बजेट पुस्तिका वितरण नगरेको भन्दै बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।

संसदमा बजेट प्रस्तुत गर्ने क्रममा नै बजेट पुस्तिका दिनुपर्ने भए पनि बजेट छलफल सकिएर आर्थिक मामिला तथा योजनामन्त्रीले जवाफ दिँदा पनि नपाएपछि कांग्रेसले विरोध जनाएको हो ।

प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको बताए ।

‘विनियोजन विधेयकमा मन्त्रालयगत रुपमा योजनाहरुको बाँडफाँट रहेको हुन्छ, त्यो पुस्तक सांसदहरुले पाएनन्’ उनले प्रश्न गरे, ‘किताब छापिएको छ भनेर सम्मानित संसदलाई ढाँट्ने आर्थिक मामिला मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने ?’

नेता बानियाँले सभामुख सानुकुमार श्रेष्ठले पनि सरकारसँग मिलेर झुक्याएको भन्दै सभामुखको समेत विश्वास गुमेको टिप्पणी गरे । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले रातो किताब भनेर चिनिने विनियोजन विधेयकको पुस्तक आइसकेको जानकारी दिए पनि पाउन नसकेको बानियाँले बताए ।

विपक्षी सांसदले सरकार र सभामुखको मिलेमतोमा ‘रातो किताब’ लुकाइएको आरोप लगाएका छन् । बजेट पुस्तिका अध्ययन विना संसद बैठक अघि बढ्न नसक्ने भन्दै विपक्षीले विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment