Comments Add Comment

लद्दाखमा यसरी भएको थियो भारत–चीन भिडन्त

फाइल तस्वीर

४ असार, काठमाडौं । सोमबार राति चीन–भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सैनिकहरुबीच निकै ठूलो घम्साघम्सी भयो । त्यस क्रममा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भएको छ भने चीनतर्फको क्षति सार्वजनिक गरिएको छैन ।

चीन–भारत सीमा क्षेत्रमा सैनिक मारिएको पाँच दशकयताको यो पहिलो घटना होे । यसले भारतलाई निकै उत्तेजित तुल्याएको छ भने चिनियाँ पक्ष अपेक्षाकृत शान्त बसिरहेको छ । आफ्नो सेनाले भोगेको क्षतिको विवरण पनि उसले सार्वजनिक गर्न चाहेको छैन ।

स्मरणीय के छ भने सो भिडन्तमा दुई पक्षबीच गोली चलेको थिएन । यो तथ्यलाई दुवै देशले स्वीकारेका छन् । दुई देशबीच सिमा क्षेत्रमा पटक–पटक तनाव उत्पन्न भए पनि गोली नचलेको भने पाँच दशक भइसकेको छ । दुईतर्फका सेना एक–अर्काको सीमा अतिक्रमण भएको भनेर बारम्बार झगडा गरिरहन्छन् । यसक्रममा धकेला धकेल र ढुंगामुढा हुने गर्छ । तर, गोली भने चल्दैन ।

त्यसो भए धकेला धकेल र ढुंगामुढाले नै भारततर्फ यति ठूलो हताहति कसरी भयो त ? यस घटनाको सम्पूर्ण विवरण सार्वजनिक भएको छैन । तर, केही भारतीय मिडियाले सूत्रको हवाला दिँदै घटनाको झलक प्रस्तुत गरेका छन् । मिडिया रिपोर्ट अनुसार धेरै भारतीय सैनिकहरु भिरबाट तल नदीमा खसेर मारिएका हुन् ।

धेरै सैनिकहरु भिरबाट चिप्लिएर तल गलवान नदीमा खसे । गलवान नदीमा खसेकाहरु हाइपोथर्मियाको शिकार भए, किनकि नदीमा पानी चिसोले जमेको थियो

घटनाक्रम

गलवान नदीको पूर्वतर्फ विवादित स्थानमा चीनले एउटा अस्थाई टेन्ट राखेको थियो । यो टेन्टभित्र चिनियाँ सैनिकहरु बस्ने गर्थे र लजिस्टिक सपोर्टको काम गरिरहेका थिए । भारतीय पक्षले सो टेन्ट हटाउन दबाव दिँदै आएको थियो ।

गत १५ जूनको राति ४ देखि ५ बजेको बीचमा बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर कर्नेल सन्तोष बाबु आफ्ना केही सैनिकहरुका साथ सो टेन्टमा पुगे ।

उनले टेन्ट हटाएर सो स्थान खाली गर्न चिनियाँ सेनालाई चेतावनी दिए । तर, चिनियाँ सेना सो ठाउँ छोड्न तयार भएन । दुई पक्षबीच विवाद बढ्यो, धक्कामुक्की सुरु भयो । यस क्रममा भारतको बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर सन्तोष गम्भीररुपमा घाइते भए ।

घाइते कमाण्डरलाई अन्य सैनिकले त्यहाँबाट उद्धार गरेर उपचारका लागि बेस क्याम्पमा पुर्याए ।

कमाण्डर घाइते भएपछि भारतीय सैनिकहरुको मनोबल गिर्यो । दुवैतर्फ सैनिहरु थपिँदै गए । धक्कामुक्की र ढुंगा हानाहान भयो । आधिरातसम्म उनीहरु लडिरहे ।

भिडन्त भएको स्थान भौगोलिकरुपमा अलि विकट र साँघुरो थियो । धेरै सैनिकहरु भिरबाट चिप्लिएर तल गलवान नदीमा खसे । गलवान नदीमा खसेकाहरु हाइपोथर्मियाको शिकार भए, किनकि नदीमा पानी चिसोले जमेको थियो ।

भिडन्त रोकिएपछि भारतीय सेनाले गलवान नदीमा खोजी कार्य सुरु गर्यो र त्यहाँ डुबेका जवानहरुलाई निकाल्यो । उनीहरुमध्ये धेरैको मृत्यु भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment