Comments Add Comment

लिम्पियाधुरासहितको नक्सा राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

४ असार, काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । ५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ भने अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी भएनन् ।

अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए ।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।

विधेयकमाथिको दफावार छलफलपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment