Comments Add Comment

कोरोनाविरुद्ध डेक्सामेथासोन : नेपालका लागि कति उपयोगी ?

४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का गम्भीर बिरामीमा डेक्सामेथासोन नामक औषधिले सकारात्मक असर देखाएपछि सम्भावित औषधि र खोपको अनुसन्धानमा नयाँ आशा जगाएको छ ।

सस्तो र सर्वत्र पाइने यो औषधिले कोरोना संक्रमितमा गरिएको परीक्षणमा सकारात्मक संकेत दिएको बताइएको छ । यो औषधिले भेन्टिलेटरमा राखेर उपचार गरिएका आठ जनामध्ये एक र अक्सिजन सपोर्टमा रहेका २५ मध्ये एकको जीवन बचाएको बेलायतका अनुसन्धानकर्ताले बताएका छन् ।

यसले आशा जगाएको भए पनि हौसिनुपर्ने अवस्था नभएको नेपाली चिकित्सकहरू बताउँछन् ।

नाम उल्लेख गर्न नचाहने एक चिकित्सक भन्छन्, ‘एउटा रोगका लागि प्रयोग गरिरहेको औषधि अर्को रोगविरुद्ध प्रयोग गर्दा घातक हुन सक्छ । कुन उमेर समूह, कस्तो बिरामी र कुन अवस्थामा प्रयोग गर्ने भनेर प्रष्ट मापदण्ड नबन्दासम्म हौसिनु पर्दैन ।’

‘यसअघि पनि यस्तै समाचार नआएको होइन, हाइड्रोक्लोरोक्विन त्यसको एउटा उदाहरण हो’, अर्का चिकित्सक भन्छन्, ‘त्यसैले अध्ययनको विस्तृत नतिजा नआएसम्म नेपालमा प्रयोग गर्नु उचित हुन्न ।’

नेपालमा अहिलेसम्म भेटिएका सात हजारभन्दा बढी संक्रमितमध्ये धेरैमा लक्षण देखिएको छैन । उनीहरूलाई आईसीयू वा भेन्टिलेटर सपोर्ट चाहिँदैन । साथै, सामान्य लक्षण देखिएका बिरामीलाई डेक्सामेथासोनले मद्दत नगर्ने ब्रिटेनका अनुसन्धानकर्ता स्वयंले बताएका छन् ।

तर भोलिका दिनमा संक्रमितहरूलाई भेन्टिलेटर वा आईसीयूमा राख्नुपर्ने अवस्था आएको अवस्थामा भने सचेतना अपनाएर डेक्सामेथासोन प्रयोग गर्न सकिने केही चिकित्सकहरू बताउँछन् ।

छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार डेक्सामेथासोन, निमोनिया र दमका सिरियस बिरामीहरूमा प्रयोग गर्ने गरिएको छ । ‘सिरियस बिरामीमध्ये केहीलाई आईसीयू वा भेन्टिलेटरमा लानुअघि प्रयोग गरिने पुरानो औषधि हो यो । यसले केही सिरियस बिरामीलाई बचाएको छ’ उनले भनेका छन् ।

यो नेपाली औषधि कम्पनीहरूले पनि उत्पादन गर्ने भएकाले पाउन गाह्रो पनि छैन ।

तर लामो समय प्रयोग गर्दा यो घातक पनि हुन सक्छ । विशेषगरी बाथका रोगीलाई यो औषधि लामो समय प्रयोग गर्दा सुन्निने, सुगर तथा प्रेसर बढ्ने हुन्छ । डा. बम भन्छन्, ‘यो औषधि प्रयोग गर्दा मानिसमा अन्य ब्याक्टेरियल समस्या छ वा छैन भन्नेबारे ख्याल गर्नुपर्छ ।’

अमेरिकाको एटलान्टास्थित ग्राडी अस्पतालको इमर्जेन्सीमा कोभिड–१९ का बिरामीहरू हेरिरहेका डा. रामु खरेल डेक्सामेथासोनको प्रभावकारिताको समाचारले खुसी बनाएको बताउँछन् । ‘सिकिस्त र श्वासप्रश्वास प्रणालीमा गाह्रो भएका बिरामीलाई यो एकदम नै राम्रो समाचार हो तर प्रयोग गर्दा केही सावधानीहरू अपनाउनुपर्छ’ डा. खरेल भन्छन्, ‘यसको प्रयोगले मृत्युदर कम भएको त हो तर यसबारे अनुसन्धान बाँकी नै छ ।’

स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्ने

नयाँ तथा पुरानो रोगको अध्ययन अनुसन्धान गर्ने काम नेपालमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले गर्ने गर्छ । क्लिनिकल ट्रायलदेखि रोगको प्रकृतिका बारेमा परिषद्ले अनुसन्धान गर्दै आएको छ । कोभिड–१९ विरुद्ध औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायलमा परिषद्ले पनि सहभागिता जनाउँदैछ

परिषदले डेक्सामेथासोनबारे पनि अध्ययन गर्ने सदस्य सचिव डा. प्रदीप ज्ञवाली बताउँछन् । अध्ययनको प्रारम्भिक नतिजाकै आधारमा केही भन्न नसकिने भन्दै उनले भने, ‘हामीकहाँ सिरियस केस आएको छैन । आयो भने बिरामीलाई डेक्सामेथासोन प्रयोग गर्ने वा नगर्ने भनेर मापदण्ड तयार गर्छौं ।’

के भन्छ विश्व स्वास्थ्य संगठन ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि डेक्सा मेथासिनको प्रारम्भिक परीक्षणमा पाइएको सकारात्मक नतिजाको स्वागत गरेको छ । यद्यपि अहिले नै यसले कसरी उपचार गर्न सक्छ भन्ने विषयमा बताउन हतार हुने उसको भनाइ छ ।

महानिर्देशक डा. टेड्रोस एदनाम गेब्रियसले कोभिड १९ को मृत्युदर घटाउनको लागि यो पहिलो उपचार रहेको बताएका छन्। ‘यो ठूलो खुशीको खबर हो। म ब्रिटेनको सरकार, अक्सफोर्ड विश्वविद्यालय र युरोपका धेरै अस्पताल र बिरामीहरुलाई बधाइ दिन्छु जसले यस जीवन बचाउने वैज्ञानिक सफलतामा योगदान पुर्‍याएका छन्’ उनले भनेका छन् ।

अनुसन्धानकर्ताहरुले अनुसन्धानको नतिजा डब्लुएचओलाई दिएर छलफल गरेको समेत डब्लुएचओले जनाएको छ। डब्लुएचोले भनेको छ, ‘अब हामी यसको पूर्ण अध्ययन र विश्लेषणको लागि सहयोग गर्न तयार छौं जसको कारण छिटो भन्दा छिटो नयाँ तथ्य सार्वजानिक हुनेछ ।’

के हो डेक्सामेथासोन ?

सन् १९६० देखि नै दमदेखि जोर्नीको दुखाइको उपचारका लागि प्रयोग गर्ने डेक्सामेथासोन, निमोनियाका कारण भेन्टिलेटर राखेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई पनि प्रयोग गरिएको छ । ब्याक्टेरियल मेञ्जाइटिसमा पनि यसको प्रयोग हुन्छ । यो सस्तो र सबैतिर उपलब्ध हुन्छ ।

यो औषधि आईसीयूमा राखिएका व्यक्तिहरूलाई नशामार्फत दिइन्छ भने कम गम्भीर बिरामीलाई चक्कीका रूपमा दिने गरिन्छ ।

डा. खरेलका अनुसार इमर्जेन्सी अवस्थामा विशेषज्ञ चिकित्सकले बिरामीको सम्पूर्ण पक्षको विश्लेषण गरेपछि केही बिरामीलाई मात्र यो औषधि दिइन्छ । साथै, यो औषधि आफूखुसी प्रयोग गर्नु घातक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment