Comments Add Comment

कविता : म विजयोत्सव मनाउँछु

रेशम विरही

जब मैले थाहा पाएँ
मभित्र पस्यो एउटा दुस्कर आतंक
भुइँभरि पोखियो
आँखाको डिलबाट नुनिलो रगत

सम्झनुको एउटा लामो वृत्तान्त
चलचित्रझैं घुम्यो आँखा अगाडि
छाया–प्रतिछाया
बिम्ब–प्रतिबिम्ब
मित्र–विमित्र
आलोचक–प्रशंसक
नाता–कुटुम्ब
अन्त्यझैं लाग्न थाल्यो जीवनको स्थूलयात्रा

तथापि म मुठ्ठी कसेर
मुटु निचोरेर
हाम फालें भीषण युद्ध मैदानमा निशस्त्र !
(मैले सोचेँ– यसले मलाई दुर्बल देख्यो)

म रातभरि, दिनभरि
निद, अनिद, सपनाभरि
पत्नीका चिसा परेला
चिकित्सकहरूको ‘स्थेसिकोप’को जन्तर
र सेविकाहरूको सेतो परिधानमा
हेरिरहेको हुन्थें– आफ्नै जीवनको ज्योतिषशास्त्र

अचानक मेरो दुर्बल द्रव्यसत्तामा ओर्लन थाले
प्रेम, स्नेह, श्रद्धा र सहानुभूतिका कर्मपात्रहरू
म धर्मशास्त्रको उपव्याख्या गर्दै थिएँ
तर उल्टो देखें
मित्रहरूको पिरामिड
(मैले सोचें– भर्सेला परोस्)

अब आफन्त र मित्रहरूले
मेरो मनको कसिलो पटुकीमा बाँधेको
हतियारमा पाइन चढाउन थाले
सशक्त र सशस्त्र हुँदै
मैले जेहाद छेडें युद्धको
र उद्घोष गरें
म विजयोत्सव मनाउने छु !

च्यातेर फालें
मनको अन्तरामा टाँसिएको नैराश्यको पोष्टर
खुर्किएर फालें आत्महीनताका लेउहरू
सुकाइदिएँ अवशादको तलाउ

मित्रहरू ! मेरो मनले सम्बोधन गर्यो
एउटा साँस्कृतिक मतैक्यताको पिढींमा
तपाईंहरूसँग आलिङगनबद्ध हुँदै
म पूर्ण जीवन बिताउने छु
त्राशद आक्रमणविरुदको युद्ध जितेर
म मित्रहरू समीप आउनेछु
र विजयोउत्सव मनाउने छु ।

(२० फागुन २०७६, चितवन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment