+
+
Shares

सुमनको कृषि उद्यम यात्रा

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ वैशाख २१ गते ९:०९

२१ वैशाख, तेह्रथुम । धनकुटाको पहाडी भेगमा बिहानको चिसो हावासँगै खेतबारीतिर लाग्ने किसानहरूको दिनचर्या कुनै नयाँ कुरा होइन । तर, यही माटोमा केही फरक गर्ने सोच बोकेका युवाहरू भने अझै कमै देखिन्छन् ।

धेरैजसो युवाहरू विदेशिने सपना देखिरहेका बेला आफ्नै गाउँठाउँमा भविष्य खोज्ने साहस गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने एक नाम हो – छथर जोरपाटी गाउँपालिका-सिधुवा बजार, धनकुटाका सुमन पौडेल ।

कृषि विषयमा स्नातक अध्ययन पूरा गरेपछि उनीसँग पनि विकल्पहरूको कमी थिएन । चाहेको भए सजिलै विदेशिने बाटो रोज्न सक्थे । तर उनले रोजे फरक बाटो – आफ्नै माटोमा केही गर्ने, किसानसँगै उभिने र कृषि क्षेत्रमै नयाँ सम्भावना खोज्ने। यही सोचले उनको यात्राको आधार तयार ग‍र्‍यो ।

उनको जागिर जीवन कर्मा कृषि केन्द्र, सिंधुवा शाखाबाट सुरु भयो । यहाँ काम गर्ने क्रममा उनले केवल प्राविधिक ज्ञान मात्र प्रयोग गरेनन, बरु गाउँगाउँमा पुगेर किसानका वास्तविक समस्या बुझ्ने, उनीहरूको अनुभव सुन्ने र समाधान खोज्ने काम गरे ।

उनको पहलमा यस क्षेत्रमा बन्दा खेतीमा गाँठेरोग लागेर उत्पादन नै कमि भइ रहेको बेला कर्मा गु्रफको सहकार्यमा गाँठे रोग सहने नयाँ बन्दाको प्रजाति किसानहरुको रोग लागेको बारीहरुमा अनुसन्धान गरी खेतिलाई विस्तार गरेका थिए ।

बालीमा लाग्ने रोगदेखि मल–बीउको अभावसम्मका विषय उनले नजिकबाट नियाले । यसले उनलाई एउटा कर्मचारीभन्दा बढी, कृषकका साथी र सहयात्री बनायो । यही अनुभव र फिल्डमा सिकाइले उनको दृष्टिकोणलाई अझ फराकिलो बनायो । उनले स्पष्ट रूपमा महसुस गरे – नेपालमा कृषि क्षेत्र सम्भावनाले भरिएको छ, तर त्यसलाई व्यवस्थित रूपमा अघि बढाउने हातहरू अझै अपर्याप्त छन् । यही बोधले उनको सोचलाई रोजगारीबाट उद्यमशीलतातर्फ मोडिदियो ।

उनको इच्छाशाक्ती मेहनत, इमान्दारिता र परिणाममुखी कार्यशैलीले संस्थाको ध्यान खिच्न धेरै समय लागेन। अन्तत: कर्मा ग्रुप अफ कम्पनीजले उनलाई विश्वास गर्दै फ्रेन्चाइज प्रदान गरेको छ । यो केवल व्यवसाय सञ्चालनको अवसर मात्र थिएन, यो उनीमाथि गरिएको भरोसा र उनको क्षमताको औपचारिक स्वीकार थियो । फ्रेन्चाइज प्राप्त गरेसँगै उनले ‘मिड हिल्स एग्रो सप्लायर्स एण्ड कन्सर्न’ स्थापना गरे ।

 यो नामसँगै सुरु भएको यात्रा केवल व्यापारिक लक्ष्यमा सीमित रहेन यसले किसानलाई गुणस्तरीय सेवा, सहज पहुँच र प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्य बोकेको थियो। बिस्तारै उनले स्थानीय किसानहरूसँग गहिरो सम्बन्ध बनाउँदै आफ्नो कामको दायरा विस्तार गरे ।

यस अवधिमा उनले महसुस गरेको अर्को यथार्थ थियो – किसानलाई केवल सामग्री उपलब्ध गराउनु पर्याप्त हुँदैन, उनीहरूलाई सही जानकारी र मार्गदर्शन पनि आवश्यक पर्छ । त्यसैले उनले सेवा प्रणालीलाई परामर्शसँग जोड्दै लगे। बाली व्यवस्थापन, रोग नियन्त्रण, उत्पादन वृद्धि जस्ता विषयमा प्रत्यक्ष सहयोग पुर्‍याउन थालेपछि उनको कामप्रति विश्वास बढ्दै गयो ।

यही क्रममा उनले सार्वजनिक क्षेत्रमै पनि आफ्नो भूमिका विस्तार गरे । उनी हाल छथर गाउँपालिका, तेह्रथुमका कृषि शाखा प्रमुखका रूपमा कार्यरत छन्। । यस भूमिकाले उनलाई नीतिगत तथा संस्थागत तहबाट समेत कृषकको हितमा काम गर्ने अवसर दिएको छ । व्यक्तिगत उद्यम र सार्वजनिक जिम्मेवारी दुवैलाई सन्तुलनमा राख्दै अघि बढ्नु उनको यात्राको अर्को विशेष पक्ष बनेको छ ।

यात्रा सजिलो भने थिएन । आर्थिक चुनौती, बजारको अनिश्चितता, र ग्रामीण क्षेत्रमा व्यवसाय विस्तारका जटिलता उनका दैनिक सहयात्री थिए। तर परिवारको साथ, आफ्नै लक्ष्यप्रतिको स्पष्टता र किसानप्रतिको जिम्मेवारीबोधले उनलाई अघि बढाइरह्यो । समयसँगै उनले आफ्नो उद्यमलाई अर्को चरणमा पुर्‍याउने निर्णय गरे । त्यसको परिणामस्वरूप ‘मिड हिल्स एग्रो सप्लायर्स एण्ड कन्सर्न’ को नयाँ शाखा हिलेमा विस्तार गरे । आफ्नै जिल्लामा मात्र नभई छिमेकी जिल्लाहरु तेह्रथुम,संखुवासभा र भोजपुरमा समेत सेवा दिने लक्ष्यका साथ शाखा विस्तार गरेका हुन ।

यो विस्तारले उनको व्यवसायिक क्षमताको मात्र होइन, ग्रामीण अर्थतन्त्रमा योगदान गर्ने उनको दृष्टिकोणको रहेको छ  । आज उनको कामले एउटा सन्देश दिन थालेको छ – कृषि क्षेत्रमा सम्भावना छ, यदि त्यसलाई सही तरिकाले समात्न सकियो भने ।

उनका लागि सफलता केवल व्यक्तिगत उपलब्धि होइन यो किसानको उत्पादन बढ्नु, उनीहरूको आम्दानी सुधार हुनु र गाउँमै अवसर सिर्जना हुनु हो । उनको यात्रा अहिले धेरै कृषि स्नातक युवाहरूका लागि प्रेरणा बनेको छ ।

विदेश जानैपर्छ भन्ने मानसिकता बीच उनले देखाएको विकल्पले नयाँ आफ्नै माटोमा सफल हुन सकिन्छ भन्ने सन्देश दिएका छन । संघर्ष, सीप, प्रतिबद्धता र सहकार्यको समिश्रणले कसरी एउटा साधारण सुरुवातलाई सफल उद्यममा रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?