Comments Add Comment

कर्णालीमा कोरोना परीक्षणको दायरा बढाइँदै, तीन मेसिन थपिँदै

६ असार, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु बढ्दै जाँदा परीक्षणको दायरा बढाउने तयारी गरिएको छ । कर्णालीका थप तीन ठाउँमा पीसीआर मेसिन सञ्चालनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार दैलेखको जिल्ला अस्पताल, दुल्लु नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा चौरजहारी अस्पतालबाट पीसीआर परीक्षण थाल्ने तयारी गरिएको हो ।

कर्णालीको सबैभन्दा बढी कोरोना संक्रमित देखिएकोे दैलेखमा परीक्षणका लागि पीसीआर मेसिन आइपुगेको छ । दैलेखको नारायण नगरपालिकाले ३५ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो । नगरपालिकाले खरिद गरेको मेसिन शुक्रबार नै जिल्लामा पुगेको छ । मेसिन पुगे पनि सञ्चालनमा आउन भने केही समय लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले बताए । ‘पीसीआर मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला अस्पतालसँग छैन,’ डा. पन्तले भने, ‘पशु अस्पतालको प्रयोगशालामा मेसिन जडान गर्नेगरी प्रयोगशाला सेटअपमा लागेका छौँ ।’ ल्याब जडानका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले दैलेखमा बायोइन्जिनियर खटाइसकेको छ ।

त्यस्तै कर्णालीमा थप दुईवटा नगरपालिकाले पनि पीसीआर मेसिन खरिद गर्ने भएका छन । कोरोना महामारी तत्काल नियन्त्रणमा आउने संकेत नदेखिएपछि दैलेखको दुल्लु र रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाएका छन् ।

चौरजहारी नगरपालिकाले एक हजार परीक्षण किटसहित मेसिन खरिदका लागि एक करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । अबको दश दिन भित्र परीक्षण शुरु गर्ने गरी काम भैरहेको केसीको भनाइ छ । उक्त मेसिनले रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका क्वारेन्टाइनमा बसेकाको समेत परीक्षण गरिने छ ।

त्यस्तै दैलेखको दुल्लु नगरपालिकाले पनि पीसीआर मेसिनका झिकाउने अन्तिम तयारी गरेको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । अबको १५ दिनभित्र मेसिन ल्याउने गरी काम भइरहेको भण्डारीको भनाइ छ । पीसीआर मेसिनका लागि दुल्लु अस्पताल अस्पतालमा प्रयोगशाला निर्माणको काम भइरहेको छ ।

दैलेखमा पीसीआर मेसिन सञ्चालनका लागि जनशक्ति काठमाडौंबाट झिकाइएको छ । कर्णाली प्रदेशसभा सदस्य सुशील थापाका अनुसार ल्याब र मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति काठमाडौंबाट ल्याइएको छ । निर्वाचन क्षेत्र विकास कोषको रकम प्रयोग गरेर आइसोलेसन भवन, ल्याब र मेसिनसहित झण्डै १ करोड रुपैयाँको उपकरण खरिद गरिएको हो । हालसम्म दैलेखमा संकलन गरिएको स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत पठाउनुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment