Comments Add Comment

उत्तरी सीमामा उपस्थिति बढाउँदै सशस्त्र प्रहरी

७ असार, सुर्खेत । सशस्त्र प्रहरी बलले उत्तरी सीमामा उपस्थिति बढाउँदै लगेको छ । यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बोर्डर आउट पोष्ट (बीओपी) राखेको सशस्त्र प्रहरीले हुम्लाको हिल्सा नाकामा पनि शनिबार बीओपी स्थापना गरेको छ ।

नाम्खा गाउँपालिका– ५, हिल्सामा पहिलोपटक औपचारिक कार्यक्रम गरेर सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको हो । सशस्त्र प्रहरी बलको सुर्खेतस्थित ६ नम्बर महेश्वरी बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रजाभक्त श्रेष्ठले बीओपीको औपचारिक उद्घाटन गरेका छन् ।

बीओपीमा सशस्त्र प्रहरी बलको हुम्लास्थित ४४ नम्बर गुल्मका इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली राखिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

यसअघि ११ जेठमा हुम्लाबाट इन्स्पेक्टर मोहन विष्टको नेतृत्वमा २५ जनाको टोली हिल्सा पुगेको थियो । बीओपीले सीमा सुरक्षासँगै आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्ने गिरीले बताए ।
अहिले घर भाडामा लिएर बिओपी राखिएको छ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्रको टोली भाडाकै घरमा बस्ने डिआइजी श्रेष्ठले बताए । बिओपीका लागि जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गरिने उनको भनाई छ ।

बिओपी स्थापना गर्न सशस्त्रका डिआइजी श्रेष्ठ, प्रजिअ गिरी लगायतका सुरक्षा निकायका प्रमुखहरू हिल्सा पुगेका थिए । यसअघि हिल्सामा सिमा सुरक्षा पोष्टका रुपमा नेपाल प्रहरीको टोलीले सिमामा सुरक्षा दिँदै आएको थियो ।

अब ताप्लेजुङको ओलाङ्चुङगालामा पनि बीओपी राख्ने सशस्त्र प्रहरी मुख्यालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment