Comments Add Comment

निको भएपछि वडाध्यक्षले भने – हिम्मतले जितिने रहेछ कोरोना

७ असार, कैलाली । गत चैत्र ११ गतेदेखि भारतबाट आएका नेपालीको उद्धारमा सक्रिय थिए कैलालीको गोदावरी नगरपालिकाका– १ का वडाध्यक्ष शर्मानन्द भट्ट ।

सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार र उनीहरुको व्यवस्थापनमा खटिएका भट्टलाई जेठ २४ गते कोरोना संक्रमणको पुष्टि भयो ।

भट्ट गोदावरी नगरपालिकाका पहिलो संक्रमित हुन् । त्यसयता शनिबार सम्म २२ जनामा संक्रमण पुष्टि भइसकेको छ । शनिबार एकै दिन १३ जना संक्रमित भेटिएको छ । तीमध्ये एक जनाको कोरोनाबाटै मृत्यु भइसकेको छ ।

दिन प्रतिदिन संक्रमित बढ्न थाले पनि आफू उच्च मनोबलमा रहेको उनी बताउँछन् । डर, त्रास र चिन्ताको अन्त्य गरियो भने कोरोना जित्न सकिने उनको दाबी छ ।

२४ गते संक्रमण पुष्टि भए पनि उनी २० गते र्‍यापिड टेस्टबाट पोजेटिभ देखिएदेखिनै आइसोलेसनमा बसेका थिए । यस अवधिमा उनलाई कुनै स्वास्थ्य समस्या देखिएन । संक्रमण पुष्टि भइसकेपछि जेठ २८ मा उनलाई स्वास प्रश्वासमा समस्या देखियो ।

‘राति एकाएक सास फेर्न गाह्रो भयो । त्यति बेला केही डर लाग्यो’ उनले भने, ‘राति नै उठे, लामो सास फेरे, कसरत गरेँ अनि ठीक भएको जस्तो लाग्यो ।’

भट्टको परिवारमा ६ जना सदस्य छन् । उनलाई संक्रमण पुष्टि भएपछि उनका परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्न नमुना संकलन गरियो । तर, उनी बाहेक अरु कसैमा पनि संक्रमण देखिएन ।

उनलाई सबै भन्दा ठूलो चिन्ता आमाको थियो । ‘६५ बर्षकी आमा दमको रोगी हुनुहुन्छ । उहाँलाई २४ घण्टा नै अक्सिजन दिनुपर्छ’ उनले भने ‘मलाई संक्रमण भएपछि उहाँमा पनि हुन्छ कि भन्ने ठूलो पीर थियो । धन्न भएन ।’

आइतबार पीसीआर रिपोर्ट नेगेटिभ आए पछि उनी डिस्चार्ज भएका छन् । उनी १५ दिनपछि निको भएका हुन् । उनी आत्मविश्वासले रोगलाई जितेको बताउँछन् । ‘मलाई कोरोना संक्रमण भएको महसुस नै भएन’ उनले भने, ‘आत्मबल बलियो बनाउँदा कोरोनालाई हराउन सफल भइने रहेछ ।’

उनी आइसोलेसनमै रहेका बेला कोरोना संक्रमणबाट उनको छिमेकीको मृत्यु भयो । त्यसले उनी चिन्तित त भए, तर आत्मविश्वास कमजोर हुन दिएनन् ।

निको भएर घर फर्किने बेलासम्म पनि आफूमा कसरी संक्रमण भयो भन्ने बिषयमा उनी अनविज्ञ छन् । उद्धारमा खटिएकै बेला संक्रमण भएको हुन सक्ने उनको अनुमान छ ।

भट्ट अझै केही दिन घरमा सुरक्षित बस्ने बताउँछन् । ‘यो बेला धेरै काम र जिम्मेवारी पनि छन् । तर, त्यो भन्दा पहिले म पूर्ण रुपमा ठीक हुनु छ’ उनले भने ‘त्यसपछि फेरि पुरानै शैलीमा फर्किन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment