Comments Add Comment

नागरिकताको ७ वर्षे प्रावधानको राष्ट्रिय जनमोर्चाद्वारा स्वागत

८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको स्वागत गरेको छ  । सोमबार विज्ञप्ति जारी गर्दै राजमोले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्ने बताएको छ ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थामा बहुमतबाट सहमति जुटाएको छ ।

उक्त विषयमा नेपाली कांग्रेस, मधेस केन्द्रित जनता समाजवादी पार्टी (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी), नेपाल मजदुर किसान पार्टी र नेकपाकै मधेसबाट प्रतिनिधित्व गर्ने केही सांसदले विरोध जनाइरहेका बेला राष्ट्रिय जनमोर्चाले भने स्वागत गरेको हो ।

७ वर्षपछि पनि विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया सुरु गर्नेवित्तिकै नागरिकता दिन नहुने भन्दै त्यागिसकेपछि मात्र दिनुपर्ने राष्ट्रिय जनमोर्चाले बताएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई भने नागरिकता दिन नहुने बताएका छन् ।

‘हाम्रो जोड यो कुरामा छ कि नेपालजस्तो तीनतिर खुला सीमा भएको भू–परिवेष्ठित देशले नागरिकतासम्बन्धी नीतिलाई एकदम कडा गराउनुपर्ने आवश्यकता छ’ विज्ञप्तिमा भनिएको छ ।

नागरिकता नीति खुकुलो पार्नु भनेको देशको राष्ट्रियता र सार्वभौमिकताविरुद्ध हुने पनि राष्ट्रिय जनमोर्चाले बताएको छ ।

राजमोले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा असार ९ गते विभिन्न ११ दलको तर्फबाट सडक प्रदर्शन गर्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment