Comments Add Comment

काठमाडौं बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य

८ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं बाहिर जानेको लागि पनि पास वितरणमा कडाइ गरेको छ । सोमबार सूचना जारी गरी उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो ।

अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ ।

यसअघि गत जेठ ३२ गते प्रशासनले सूचना जारी गर्दै काठमाडौं प्रवेशका लागि यहाँ कुन स्थानीय तहमा बस्ने हो सोही स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख गरेको थियो । अहिले प्रशासनले काठमाडौं बाहिर जानको लागि समेत सोहीखालको सिफारिस अनिवार्य गरेको हो ।

प्रशासनको सोमबार जारी सूचना अनुसार मृत्युसंस्कारका लागि बाहिर जानेबाहेक अरूको हकमा भने त्यस्तो सिफारिस अनिवार्य गरिएको छैन ।

नयाँ सूचनाअनुसार अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले कोरोना संक्रमणको जोखिम कम गर्नको लागि काठमाडौंबाट बाहिर जानेहरूलाई समेत कडाइ गर्न लागिएको बताए । काठमाडौंमा मान्छेको धेरै चहलपहल हुने भएकोले अत्यावश्यक काम बाहेक आवतजावतमा कडाइ गर्नकै लागि यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

उपत्यकाका अरू जिल्लामा बसोबास गर्नेहरू समेत उपत्यका बाहिर जाने बेलामा धेरैले काठमाडौंबाट पास लिने गरेकोले यो सूचनाबाट अत्यावश्यकबाहेक अरू अवस्थामा नाकाबाट आवतजावतमा कमी आउने पौडेलले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment