Comments Add Comment

सीसीएमसीले वैदेशिक रोजगारी खोल्यो, श्रम मन्त्रालय भने अनिर्णित

८ असार, काठमाडौं । अहिले धेरै नेपाली कामदारहरुको चासो छ, अब वैदेशिक रोजगारी कहिलेबाट खुल्छ ? यसो हुनुमा लकडाउनले बढाएको बेरोजगारी समस्या मात्र कारक छैन, नियमित बिदामा स्वदेश आएकाहरुलाई परेको अप्ठ्यारो पनि एक हो ।

यही सन्दर्भमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबारको बैठकले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ ।

बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ तथा विदामा आएका नेपाली कामदारहरु श्रम मन्त्रालयको सिफारिसमा बाहिर जान पाउने निर्णय भएको जानकारी दिए ।

तर, त्यसबारे विस्तृृत विवरण बुझ्न सम्पर्क गर्दा मन्त्री ज्ञावालीको बोली फेरियो । उनले ‘भ्रमणमा गरिँदै आएको कडाइ केही कम गरिएको र त्यसअनुसार विदामा आएका कामदार मात्रै फर्किन पाउने बताए ।

परराष्ट्रमन्त्रीको वक्तव्य बदलिएपछि विदेश जान पाइने आशामा बसेकाहरु अन्योलमा परे । त्यसमा अन्योल थप्ने गर्ने काम ग¥यो, सीसीएमसीको लिखित निर्णयले ।

सीसीएमसीको आफ्नो वेबसाइटमा प्रकाशित गरेको निर्णयको सूचीमा लेखिएको छ, ‘वैदेशिक रोजगारीमा रही विदामा आएका र नयाँ रोजगारीमा विदेश जाने श्रमिकहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोभिड–१९ को रिपोर्ट चाहिने भएमा सम्बन्धित व्यक्तिले नै खर्च ब्यहोर्ने गर्ने गरी र जनस्वास्थ्य प्रोटोकल पालना गरी आवत–जावत अनुमति दिने ।’

यो निर्णयको प्रति श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा पनि आइसकेको छ । तर, मन्त्रालयले निर्णयअनुसार श्रम स्वीकति खोलेको छैन । तत्कालै खोल्ने छाँट पनि देखाएको छैन ।

सीसीएमसीको निर्णयले कामदार मात्रै हैन, श्रम मन्त्रालय पनि अल्मलिएको छ । निर्णयअनुसार तत्कालै मुख्य श्रम गन्तव्यमा जान श्रम स्वीकृति दिँदा हुन सक्ने कठिनाइबारे विश्लेषण गरेको मन्त्रालयले तत्काल सबै गन्तब्यमा श्रम स्वीकृति खोल्न नहुने निश्कर्ष निकालिसकेको छ ।

श्रम मन्त्रालयले जापान लगायतका केही युरोपेली देशमा जाने कामदारलाई श्रम इजाजत दिएर त्यहाँसम्म चार्टर्ड फ्लाइटका लागि जाने विमानमा पठाउने प्रस्ताव सीसीएसीसामु राखेको थियो । अहिले कोरियामा कामदार पनि त्यसैगरी गइरहेकाले जापानमा पनि जोखिम घटेकाले नयाँ कामदारलाई जान दिन सकिने निश्ष्र्का निकालिएको थियो । सँगै केही महत्वपर्ण जागिरमा रहेकाहरुलाई विदा सकेर फर्किने विदेश अनुमति दिन मागिएको थियो ।

तर, सीसीएमसीले यसबारे कुनै देश नतोकी शर्तहरुको पालना हुने गरी श्रम स्वीकृतिबारेका सबै निर्णय गर्न सक्ने अधिकार श्रम मन्त्रालयलाई दियो । यसले गर्दा सीसीएमसीले वैदेशिक रोजगारी खुला गर्ने भने पनि श्रम मन्त्रालय आफैं सबै दशेमा जान दिन नहुने कित्तामा उभिन प¥यो ।

श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरे अब नयाँ र विदामा आएका दुबैखालका कामदारलाई विदेश पठाउन सकिने बताउँछन् । तर, कसरी र कहाँ–कहाँका लागि अनुमति दिने भन्ने तय भने नभएको उनको भनाइ छ ।

‘अब सबै देशमा अवस्था हेरेर कामदार पठाउन सकिन्छ, त्यसका लागि के–के गर्ने भनेर एउटा कार्यप्रक्रिया तय गर्नुपर्छ,’ घिमिरेले भन्छन्, ‘त्यो तय भएपछि कुन देशमा कसरी रोजगारीका लागि जाने न अनुमति दिने भने टुंगो लाग्छ ।’

मन्त्रालयमा यसबारे सोमबार भएको छलफलमा यस्तो विषय टुगो लागेन । खाडीका देशमा अहिलेकै कामदारलाई जान दिन नहुने श्रम अधिकारीहरुको भनाइ छ । त्यसमाथि सार्वजनिक सवारी बन्द गरेर सबै दशेका लागि वैदेशिक रोजगारी खोल्नुको पनि अर्थ नहुने मनत्रालयको निश्कर्ष छ ।

जापान, कोरिया र केही युरोपेली देशमा जाने कामदारलाई भने मापदण्ड बनाएर त्यसअनुरुप जान दिन सकिने मन्त्रालयका अधिकारीहरुको मत छ ।

‘नियमित उडान नखुलेसम्म मलेसिया र खाडीका देशमा श्रम स्वीकृति खोल्नुका कुनै औचित्य हुँदैन,’ मन्त्रालयका एक अधिकारी भन्छन्,‘चार्टर्ड फ्लाइटमा महंगो शुल्क तिरेर कामदार जान पनि सक्दैनन्, त्यसमाथि अहिलेसम्म मलेसिया र खाडीमा महामारी टरिसकेको छैन ।’

खाडीका कम्पनीमाट माग पनि नआइरहेको भन्दै ती अधिकारीले केही अन्य देशका लागि भने नयाँ श्रम स्वीकृति पनि खोल्न सकिने बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल मन्त्रालयले गर्ने निर्णयका आधारमा विभागले श्रम स्वीकृति खोल्ने बताउँछन् ।

‘मन्त्रालयले अहिलेसम्म कुनै निर्देशन दिएको छैन, हामी त्यसकै प्रतिक्षामा छौं,’ उनले भने, ‘हामीले सुनेसम्म नयाँ र विदामा आएका दुबैलाई श्रम स्वीकृति दिने निर्णय भएको छ, यसबारे मन्त्रालयले केही विषय तोकेर दिएपछि त्यसैअनुसार गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment