Comments Add Comment

एसईईको आन्तरिक मूल्याङ्कन : कोरोना ब्याचको दाग नलागोस्

सम्पूर्ण तयारी पूरा भएको २०७६ सालको एसईई परीक्षा कोरोनाका कारण अघिल्लो दिन स्थगित गरियो । २०७७ जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैतमा हुन नसकेको एसईई परीक्षा यस वर्ष नगर्ने र विद्यालयबाटै आन्तरिक मूल्याङ्कन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गर्‍यो ।

यस वर्ष चार लाख ८२ हजार ७०७ जना विद्यार्थीको भविष्य विद्यालयको आन्तरिक मूल्याङ्कनबाट तय गरिँदैछ । आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेडसिट प्रमाणपत्र वितरण गरिँदैछ । त्यसका लागि आन्तरिक मूल्याङ्कनको कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दूर्गा अर्यालको संयोजकत्वमा कार्यदल समेत बनाइएको छ । आशा छ, कार्यविधि चाँडो आउँनेछ र कार्यविधिले व्यावहारिकतामा जोड दिएको हुनेछ ।

यस्तो विषम परिस्थितिमा वैकल्पिक मूल्याङ्कन पद्धतिमा आन्तरिक मूल्याङ्कनलाई चयन गर्नु उपयुक्त छ । आन्तरिक मूल्याङ्कनको प्रमुख भूमिकामा प्रत्यक्ष संलग्न रहेका विषयगत शिक्षकहरू, विद्यालय प्रशासन र प्रधानाध्यापक नै रहनेछन् । त्यसैले आन्तरिक मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गर्दा वैज्ञानिक तवरले व्यावहारिकतामा आधारित भएर गर्नु आवश्यक छ ।

नेपालको शैक्षिक इतिहासमा एसएलसीको सुरूवात १९९१ मा भयो भने २०७२ सालमा अन्त्य भयो । शैक्षिक प्रणाली परिवर्तनशील हुन्छ, सोही अनुरुप विद्यार्थी मूल्याङ्कन, प्रमाणीकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता र विश्वसनीयता कायम गर्न २०७१ सालमै प्राविधिक विषयतर्फ र २०७२ सालदेखि साधारण विषयतर्फ पनि अक्षरांक पद्धति(लेटर ग्रेडिङ सिस्टम) लागु गरियो । जसको उद्देश्य विद्यार्थीलाई परीक्षामुखीभन्दा व्यवहारमुखी बनाउनु हो ।

यसबीच अभिभावक, विद्यार्थी तथा शिक्षक, विद्यालय सञ्चालकहरूलगायत शिक्षासँग सरोकार राख्ने सबैको ध्यान आकृष्ट गरेको छ, ‘आन्तरिक मूल्याङ्कन’ को विषयले । यो सम्बन्धमा अधिकांश सरोकारवालाहरू अन्यौलमै रहेको देखिन्छ ।

यसैले पनि ‘कुन परीक्षालाई आन्तरिक परीक्षा मान्ने ?, कसरी आन्तरिक मूल्याङ्कन गर्ने ?’ जस्ता प्रश्नहरू सतहमा आएका छन् । सरकारले वर्षौं अगाडि नै सेन्ट अप परीक्षा खारेज गरेको थियो भने विद्यालयहरूले आ-आफ्नो अनुकूलतामा एस.ई.ई. तयारी परीक्षा भनेर पहिलेकै सेन्ट अप परीक्षालाई नाम मात्रै परिवर्तन गरेर भए पनि हालसम्म सञ्चालन गरिरहेका छन् ।

जुनसुकै कार्यको सही मूल्याङ्कन आवश्यक हुन्छ । जहाँसम्म शिक्षाक्षेत्रको कुरो छ, यस क्षेत्रमा त मूल्याङ्कनविना प्रमाणपत्र दिन कदापि सकिन्न । अहिलेको सन्दर्भमा परीक्षा नगर्ने विकल्पको रुपमा आन्तरिक मूल्याङ्कनलाई अघि सारेकोले मूल्याङ्कन गर्दा ४ वटा पक्षलाई ध्यान दिनुपर्ने देखिन्छ ।

१.आन्तरिक परीक्षाहरूको ल्याकत

कक्षा १० का विद्यार्थीहरूको वर्षभरिको आन्तरिक परीक्षाहरूको अंक जोडेर आन्तरिक मूल्याङ्कन गर्न सकिनेछ । जस्तै, प्रथम र द्वितीय त्रैमासिक परीक्षाको २०/२०% र एस.ई.ई.तयारी परीक्षाको ६०% को योगफलको आधार मानेर मूल्याङ्कन गर्न सकिन्छ।

२. निरन्तर मूल्याङ्कन पद्धति

विद्यार्थीको वैयक्तिक विवरण विद्यालय रेकर्डमा हुनेहुँदा त्यस्ता हरेक व्यक्तिगत प्रोफाइलबाट एक वर्षभरिको प्रत्येक विद्यार्थीको व्यवहारदेखि विषयगतसम्मको सिकाइ उपलब्धिलाई मूल्याङ्कनको आधार मान्न सकिन्छ ।

३.एस.ई.ई. तयारी परीक्षा (साविकको टेस्ट तथा सेन्टअप)

सरकारले टेस्ट परीक्षा अर्थात् साविकको सेन्ट अप परीक्षा खारेज गरे पनि विद्यालयले आ-आफ्नो क्षमता अनुकूलतामा हालसम्म पनि त्यस्ता परीक्षाहरू सञ्चालन गरिरहेको कुरा कतैबाट लुकेको छैन । जसलाई एस.ई.ई तयारी परीक्षा भनिएको छ । जुन परीक्षालाई तुलनात्मक रुपमा एस.ई.ई.मा सोधिने प्रश्नहरूभन्दा अलि कठिन बनाएकै हुन्छ ताकि त्यसले एसईईमा राम्रो ग्रेड ल्याउन सघाओस् भन्ने उद्देश्य राखिएको हुन्छ । यसको आधारमा पनि आन्तरिक मूल्याङ्कन गर्न सकिन्छ ।

४. विगतको नतिजा विश्लेषण

विद्यालयको विगतका कम्तीमा एकदेखि ३ वटासम्म शैक्षिक वर्षको एस.ई.ई. नतिजा र एस.ई.ई तयारी परीक्षा(साविक सेन्ट अप)को नतिजालाई तुलना गरेर विद्यालयले आफ्नो स्तरनिर्धारण गरी यसको आधारमा यसवर्षको नतिजाको स्तरीकरण गर्न सकिन्छ ।

औषतमा नतिजालाई विश्लेषण गर्ने हो भने एस.ई.ई तयारी परीक्षाको नतिजामा भन्दा एस.ई.ई.को नतिजामा प्राय: विद्यार्थीको औषत अङ्कमा करिब नौदेखि १० प्रतिशत अंकले वृद्धि भएको पाउन सकिन्छ । यसलाई पनि आन्तरिक मूल्याङ्कनको एउटा आधारको रुपमा लिन सकिन्छ ।

माथि उल्लेखित ४ वटा पक्षहरूको आधारमा आन्तरिक मूल्याङ्कन गर्दा निम्नानुसारका कुराहरूमा ध्यान दिनुपर्ने देखिन्छ ।

१.नियमित आन्तरिक परीक्षा सञ्चालन भएको र ती परीक्षाको ल्याकत राखिएको हुनुपर्ने ।
२.निरन्तर मूल्याङ्कन प्रणालीका आधारभूत नियम पालना भएको र विद्यार्थीहरूको व्यक्तिगत प्रोफाइल नियमित रुपमा अपडेट भएको हुनुपर्ने । शैक्षिकदेखि विद्यार्थीको व्यवहार परिवर्तनसम्मका सबै विषयको अभिलेखीकरण हुनुपर्ने ।
३.सेन्ट अप वा एस.ई.ई परीक्षा सञ्चालन गरेको हुनुपर्ने र त्यसको ल्याकत राखिएको हुनुपर्ने ।

आन्तरिक मूल्याङ्कनमा शिक्षक तथा विद्यालय

विद्यार्थीहरूको वैयक्तिक भिन्नता हुने भएकोले विद्यार्थीहरूको ज्ञान, सिप र धारणा राख्ने तथा सिकाइ क्षमता तथा दक्षतामा पनि भिन्नता आउनु स्वभाविक हो । विद्यालय वा शिक्षकहरूले आ-आफ्ना विद्यार्थीहरूलाई अंक प्रदान गर्दा उनीहरूको क्षमतालाई ध्यानमा राख्नुपर्छ । ताकि भविष्यमा त्यही शिक्षकको मूल्याङ्कनबाट प्राप्त अङ्कले उच्च मनोबलका साथ एउटा असल, योग्य र सक्षम नागरिकको रुपमा जिन्दगी जिउन सकून । न कि त्यही अंक बोझ बनेर अयोग्य, अदक्ष नागरिक हुनुपरोस् ।

शिक्षक तथा विद्यालयलाई आ-आफ्नो विषयगत तथा विद्यालयको स्तर थाहा हुनुपर्छ । त्यही स्तरलाई आधार मानेर मूल्याङ्कन गर्दा पनि उचित हुने देखिन्छ । यहाँ आन्तरिक मूल्याङ्कन भन्नासाथ शिक्षकको गोजीमा अंक हुन्छ भन्ने परम्परागत मान्यता अझैसम्म व्याप्त छ । त्यसैले प्रत्येक विषय शिक्षकहरूलाई यो मूल्याङ्कनमा अनिवार्य सहभागी गराउनु आवश्यक छ ।

शिक्षकहरू स्वयं पनि आन्तरिक मूल्याङ्कन गर्ने विषयमा चनाखो हुनैपर्छ । यस्तो मूल्याङ्कनमा नजानिँदो तरिकाले विभेद हुन जान सक्ने खतरा हुन्छ । सकेसम्म यस्तो विभेदलाई हुनै नदिने र भइहाले पनि न्यून होस् भन्नेमा सचेत हुनुपर्छ । यसका लागि प्रत्येक विद्यार्थीलाई निरन्तर मूल्याङ्कनको दायरामा ल्याएर कक्षागत हाजिरी, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, गृहकार्य, अनुशासन, कक्षा प्रस्तुतीकरण, विद्यार्थीको सक्रियता तथा आन्तरिक परीक्षाका नतिजाहरूजस्ता पक्षलाई विश्लेषण गरी अङ्क प्रदान गर्ने स्पष्ट आधार तयार गर्नुपर्छ । यसले मूल्याङ्कन गर्न सहजता प्रदान गर्छ ।

नेपालमा शिक्षालाई संस्थागत तथा सामुदायिक विद्यालय शिक्षामा वर्गीकरण गरेको छ । विषयगत प्रयोगात्मक परीक्षालाई जसरी औपचारिकतामा सीमित गरेर अंक प्रदान गर्ने परम्परागत प्रणाली स्थापित भइरहेको छ । त्यसरी नै एस.ई.ई.को आन्तरिक मूल्याङ्कनलाई औपचारिकतामा सीमित गर्नु विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नुहुनेछ । अर्कोतर्फ आफ्नो विद्यालयको स्तरलाई बढाउने हेतुले आन्तरिक मूल्याङ्कनमा अनावश्यक चलखेल गर्नु विद्यालय व्यवस्थापनका अधिकारीहरूको पनि नैतिकताले दिँदैन । यसो हुन गए आन्तरिक मूल्याङ्कन प्रणाली प्रभावित भई गलत मूल्याङ्कनको शिकार मेहनती, जेहन्दार बालबालिकाहरू हुनेछन् । त्यसैले विद्यालय तथा शिक्षकहरू स्वच्छ मूल्याङ्कनका लागि हरदम प्रयासरत हुनुपर्छ ।

आन्तरिक मूल्याङ्कनमा विद्यार्थी र अभिभावक

सिकाइले व्यवहारमा सकारात्मक परिवर्तन गराउँछ । मूल्याङ्कनले व्यवहार परिवर्तनको मापन गर्छ । उच्च आकांक्षा राख्नु मानवीय स्वभाव हो । हरेक अभिभावकले आ-आफ्ना नानीहरूको राम्रो भविष्यको लागि उच्च ग्रेडको अपेक्षा गर्नु न्यायोचित छ । विद्यार्थीहरूले पनि आफूले उत्कृष्ट अंक पाओस् भन्ने आशा गर्नु स्वाभाविक नै हो ।

तर यस्तो भनिरहँदा अभिभावकहले पनि आफ्ना नानीहरूको क्षमतालाई बिर्सेर आन्तरिक मूल्याङ्कनलाई प्रभावित हुने गरी शिक्षक तथा विद्यालयलाई दबाब दिनुहुन्न । कतिपय अभिभावकहरूले विद्यालय विकास कोष, आर्थिक तथा भौतिक सहयोगका नाउँमा आन्तरिक मूल्याङ्कन प्रणालीलाई कमजोर बनाउने प्रयास गर्छन् । त्यसैले हरेक विद्यार्थीले आ-आफ्नो विद्यालयको आन्तरिक परीक्षाहरू प्रथम, द्वितीय तथा एस.ई.ई तयारी परीक्षाको नतिजाको विश्लेषणबाट एउटा निचोड निकाल्ने प्रयास गर्नुपर्छ जसले गर्दा शिक्षकहरूबाट गरिने आन्तरिक मूल्याङ्कन पनि विश्वसनीय हुन पुग्छ । यस कुराका लागि शिक्षक, विद्यार्थी तथा विद्यालय तीनै पक्षले इमान्दारिता देखाउनै पर्छ ।

शिक्षा जीवन जिउने आधार भएकाले अभिभावकले बालबालिकालाई परीक्षाका लागि मात्रै नभई जीवन जिउनको लागि तयार गर्ने सोच बनाई आन्तरिक मूल्याङ्कनलाई दबाबरहित बनाउनु आवश्यक छ । यदि यस्तो दबाबरहित मूल्याङ्कन हुन सकेमा एसईईको नतिजा हालसम्मकै उत्कृष्ट हुने निश्चित छ । अक्षराङ्क पद्धतिले यथोचित न्याय पाएको हुनेछ । जसको परिणाम केही समयपछि आ-आफ्नो बालबालिकाको व्यवहारले बताउनेछ ।

कोरोना भाइरसको बिगबिगी भए पनि बालबालिकाहरूले परीक्षा नै भइदिए हुन्थ्यो भनिरहेको अवस्था छ । भविष्यमा उनीहरूलाई ‘एस.ई.ई.२०७६ ब्याच’ नभनी ‘कोरोना ब्याच’ भनी सम्बोधन हुनसक्ने चिन्ता छ । कतिपय अब्बल विद्यार्थीहरू परीक्षा नलिने निर्णय भएपछि निराश बनेका छन् ।

आन्तरिक मूल्याङ्कनबाट प्राप्त हुने शैक्षिक योग्यताका प्रमाणपत्रले भविष्यमा सम्मानजनक स्थान बनाउन सक्लान् कि नसक्लान् भन्ने कुरामा उनीहरू चिन्तित छन् । यस्तो चिन्ता निवारण र गलत सम्बोधनको शिकार नहोस् भन्नका लागि समेत सबै शिक्षक, विद्यालय प्रशासन, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने सम्बन्धित सबै निकायले सकारात्मक भूमिका खेल्न जरुरी छ । स्वच्छ, पारदर्शी र निष्पक्ष आन्तरिक मूल्याङ्कनका लागि सहयोग गर्नु हामी सवैको नैतिक जिम्मेवारी हो ।

अन्त्यमा, भनिन्छ चुनौतीलाई अवसरले पछ्याइरहेको हुन्छ । चुनौतीले मानिसलाई परिपक्व बनाउँछ । सन २०१९ जनवरीमा वुहानबाट फैलिएको विश्व महामारी भइरहेको कोभिड १९ ले पनि मानव जगतलाई विभिन्न आयामबाट पाठ सिक्ने मौका दिएको छ । शैक्षिक जगतलाई पनि वैकल्पिक प्रणालीमा जाने अवसर दिएको छ । एस.ई.ई परीक्षाको विकल्प आन्तरिक मूल्याङ्कन भएको हुँदा हामी अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनले विश्वसनीय र सही मूल्याङ्कन गर्न सहयोग गरौं ताकि हाम्रा बालबालिकाहरू जिन्दगीको लागि तयार होऊन् ।

(लेखक आदर्श आजाद मा.वि.,भक्तपुरका शिक्षक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment