
२०८१ को एसईईको समग्र नतिजामा निकै सुधार देखियो । अघिल्लो वर्षको तुलनामा समग्र नतिजामा उल्लेख्य सुधार देखिए पनि अघिल्ला वर्ष झैं यस वर्ष पनि गणित विषयको नतिजाले धेरैलाई निराश बनायो । आखिर किन ? समग्र नतिजा सुधार हुँदा पनि गणित विषयको नतिजामा किन सुधार भएन ? यो लेख यसैमा केन्द्रित रहनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरको नतिजा अनुसार यस वर्ष परीक्षामा सहभागी ५ लाख १४ हजार ७१ जना विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्र्ण भएका छन् । गत वर्ष ४७.८६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्षको तुलनामा यस वर्ष १३.९५ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ५ लाख १४ हजार ७१ जना सहभागी भएकामध्ये १ लाख २८ हजार २१८ जना विद्यार्थी (२४.९४ प्रतिशत) गणित विषयमा फेल भएका छन् । यसर्थ, समग्र नतिजामा सुधार आएको देखिए पनि गणित विषयको नतिजा भने निराशाजनक नै देखिन्छ ।
विगतका वर्षहरूमा भन्दा यस वर्ष गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या झन् बढेको देखिनु निराशाजनक छ । गणित विषयले विद्यार्थीमा हरेक विषयको बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमताको विकास गराउँछ । विद्यार्थीमा खोज–अनुसन्धान गर्ने सामर्थ्यको पनि विकास हुन्छ । तसर्थ गणित विषय सम्पूर्ण ज्ञान–विज्ञान तथा भौतिक समृद्धिको प्रस्थानविन्दु, माध्यम र आधारस्तम्भ भएको कुरा सर्वविदितै छ ।
विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू कार्यशालाबाट बन्नुपर्नेमा कार्यदलबाट बन्नु आफैंमा विडम्बनापूर्ण छ । त्यस्तै, पाठ्यक्रम कार्यान्वयनमा समस्या छ । शैक्षिक क्रियाकलाप तथा परियोजना कार्यका माध्यमबाट गणितलाई रसिलो, सरल, सहज र जीवनोपयोगी बनाउने मूल मर्मका साथ ल्याइएको आन्तरिक मूल्याङ्कन विधिको मर्मलाई बेवास्ता गर्दा यस्तो समस्या आएको देखिन्छ । सरकारले केही समयपहिले कक्षा ११ र १२ बाट गणित विषय हटाउनेभन्दा गणितप्रेमीले नै भूमिका खेलेर गणित विषय राखिएको हो ।
यस्तो महत्वपूर्ण विषयमा अत्यधिक विद्यार्थी अनुत्तीर्ण हुनुका अनेक कारण छन् । यस्ता कारणहरूमा गणित विषयको पाठ्यक्रम स्तर सुहाउँदो नहुनु, विषयगत विशिष्ट उद्देश्य, सामान्य उद्देश्य र तहगत उद्देश्य अनुरूपका प्रश्नपत्र बत्र नसक्नु, तहगत विशिष्ट उद्देश्यप्राप्तिको मापदण्डका रूपमा स्तर सुहाउँदा प्रश्नपत्र नबनाई हचुवाको भरमा प्रश्नपत्र बनाइनु, पठनपाठनमा संलग्न नभएका कथित शिक्षकद्वारा प्रश्नपत्र बनाइनु, कार्यरत शिक्षकलाई प्रभावकारी शिक्षण विधिको तालिम तथा प्रशिक्षणको व्यवस्था नगरिनु आदि मुख्य रहेका छन् । धेरै विद्यालयमा गणित विषयका दक्ष, अनुभवी र तालिमप्राप्त शिक्षकको अभाव छ ।
वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा गणित विषय पढ्ने विद्यार्थीको संख्या निरन्तर ओरालो लागेको छ । जसको परिणामस्वरुप विद्यालयहरूले पटक–पटक गणित विषय शिक्षकका लागि विज्ञापन प्रकाशन गर्दा समेत निवेदन नै नपरेका देखिन्छन् । जसले गर्दा निकट भविष्यमा गणित विषय शिक्षकको चरम अभाव हुने सङ्केत देखिन्छ । केही विद्यालयमा त न्यूनतम योग्यता समेत प्राप्त नगरेका वा गणित बाहेकका अन्य विषय शिक्षकबाट गणित जस्तो गहन विषयको पठनपाठन गरिनुको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ तथा नतिजामा पर्ने गर्छ ।
विगत केही वर्षयता शिक्षकहरूले विभिन्न माग राखेर गरेका आन्दोलनहरूलाई सरकारले समयमै सम्बोधन नगर्दा हप्तौंसम्म सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प भएको कुरा सर्वविदितै छ । जसको असर एसईईको नतिजामा समेत परेको देखिन्छ । यही ऋणात्मक अवस्था पनि अहिलेको असफलताको मूल कारणमध्येको एउटा हो । यस्तै, खुला प्रतिस्पर्धाबाट योग्य शिक्षक नछानी पहुँचका भरमा शिक्षक राख्ने विगतको अभ्यास अहिले पनि कायमै छ । यसको सोझो असर कक्षाकोठामा पर्ने गरेको छ । जबसम्म योग्य शिक्षक–शिक्षिकाबाट प्रभावकारी शिक्षण हुँदैन तबसम्म कुनै पनि विषयको परीक्षामा परिणाम यस्तै हुने गर्छ । त्यसैले जीवन निर्माणको कलिलो उमेरका स–साना छात्रछात्राहरूमा विषयगत सुदृढ जग निर्माण गर्न योग्य शिक्षकलाई पठनपाठनमा संलग्न बनाउनुपर्छ भत्रे कुराको स्पष्ट संकेत यो नतिजाले देखाएको छ ।
पाठ्यक्रममा पनि अनेक समस्या छन् । गम्भीर छलफल, बहस र चिन्तनबाट ती समस्यालाई पन्छाएर परिमार्जित पाठ्यक्रम निर्माण गर्नु अनिवार्य छ । सोही अनुरूप पाठ्यपुस्तकहरू आधिकारिक संस्थाबाट लेखिनु वा लेखाइनु जरूरी छ । विद्यालयहरूले पाठ्यक्रमको उद्देश्यसँग मेल नखाने गरी लेखिएका पुस्तकहरूलाई पनि पाठ्यपुस्तक भनी तथानामका पुस्तकहरूको बोझ विद्यार्थीमाथि लाद्ने प्रवृत्ति फैलँदो छ । फरक–फरक विद्यालयमा फरक–फरक पाठ्यपुस्तक पढाइन्छ । यसले पनि नतिजा अपेक्षाभन्दा भिन्न हुने गरेको हो ।
शैक्षिक दृष्टिले राज्यलाई कहाँ पुर्याउने हो भत्रे कुरामा स्पष्ट भएपछि मात्र गन्तव्यमा पुग्ने रीति, विधि र दिशा स्पष्ट हुँदै जान्छ । त्यसैले नेपालको शिक्षा क्षेत्रलाई नेपालकै समुज्वल भविष्य निर्माणको प्रकाशपुञ्ज बनाउने हो भने सम्बद्ध निकायको नेतृत्वको मानसाकाशमा सेवाभाव, इमानदारी र स्पष्ट दृष्टिकोणको दीपज्योति प्रदीप्त होओस् !
गणित विषयमा सबैभन्दा बढी फेल भएको विषय जसरी बाहिर आएको छ, त्यसरी उक्त विषयमा पास भएको विषय आउन सकेको छैन । गणित विषयमा ए प्लस ल्याउने विद्यार्थीको संख्या पनि धेरै छ । तर बाहिर फेल भएका विद्यार्थीको कुरा मात्र आउँदा गणित विषय साँच्चै गाह्रो हो कि भन्ने सन्देश विद्यार्थीमा पर्न गएको छ । गणितमा ३७ हजार ९१८ जनाले ए प्लस ल्याएका छन् । सबैभन्दा धेरै फेल हुने विषयमा नै विद्यार्थीले सबैभन्दा राम्रो अंक ल्याएका छन् । गणित विषय गाह्रो भएर मात्रै धेरै विद्यार्थी फेल भएका होइनन् । गणित विषयको आफ्नै विशेषता छन् । यो विषय अन्य विषय जस्तो हुँदैन । गणित विषयका प्रश्नहरू वस्तुगत प्रकृतिका हुने भएकाले प्रश्नको सही उत्तर दिए राम्रो अंक आउँछ । नलेखे वा बिग्रिएमा अंक आउँदैन । अन्य विषयमा थोरै मिले पनि थोरै नम्बर आउँछ । गणितमा अंक आउन शतप्रतिशत सही उत्तर लेखेको हुनुपर्छ । गणितमा पास हुने विद्यार्थीको संख्यामा कमी हुनुको कारण यो पनि हो ।
यस्तै, मूल्यांकन परिपाटीमा अकल्पनीय दु:खद् अभ्यास भइरहेका छन् । २५ प्रतिशत अंक बराबरको मूल्यांकन विद्यालयबाट हुने गरेको छ । गणित विषयका लागि छुट्याइएको प्रयोगात्मक तर्फको २५ अंक विद्यालयले सित्तैंमा दिने अंकका रूपमा बुझिनुले यसको प्रभावकारितामा नै प्रश्नचिह्न खडा भएको छ । यो प्रक्रिया वस्तुपरक हुनसकेको छैन । अनेक स्वार्थ र प्रभावबाट यो प्रक्रिया प्रभावित छ ।
ज्यादै कमजोर विद्यार्थीको सामर्थ्य विकास गर्नुभन्दा बढी अंक दिएर चित्त बुझाउने प्रवृत्ति तीतो यथार्थ हो । त्यसबाट विद्यार्थी तथा अभिभावक तत्कालका लागि सन्तुष्ट त हुन्छन् तर उनीहरूको दीर्घकालीन हित हुँदैन । जसले गर्दा गणितको व्यावहारिक शिक्षण र सिकाइ प्रक्रिया नै अवरुद्ध भएको देखिन्छ । त्यसकै परिणाम पनि हो यो परीक्षाफल । तसर्थ विद्यालयहरूले आन्तरिक मूल्यांकन परिपाटीलाई सही रीतले गरे–नगरेको अनुगमन सम्बद्ध पक्षबाट नभएसम्म यो नतिजाको आवृत्ति पटक–पटक हुँदै जानेछ । त्यसो हुनाले गणित विषय मात्र होइन; अन्य विषयमा पनि यस्तै जटिल समस्याले जरो गाडेका छन् ।
गणित जस्तो ज्ञान–विज्ञान तथा भौतिक समृद्धिको प्रस्थानविन्दु, माध्यम र आधारस्तम्भलाई झन् हल्का रूपमा लिनु नै दुर्भाग्यपूर्ण बनेको छ । यस्तो स्थिति हरेक वर्ष आवृत्ति भइरहेको छ । परीक्षाफल प्रकाशित भएको दिन र एक दिन पछिसम्म पनि व्यक्तिगत रूपमा चासो र चिन्ता व्यक्त गरिन्छ । तर राज्यपक्षबाट सफलता र असफलताको जिम्मेवारी लिने र असफलताको आवृत्ति हुनै छैन भत्रे कुराको प्रण गरिंदैन । शिक्षा क्षेत्रको लगाम सम्हाल्ने संघ–संस्था र नेतृत्वमा स्पष्ट दृष्टिकोण र सेवाभावको अभाव सधैं खट्किरहेको छ । यसको दुर्भाग्यपूर्ण अवस्थाको सिकार कलिला छात्रछात्रा भएका छन् ।
उल्लिखित समस्याको समाधान राज्यशक्तिको संकल्पशक्तिमा निर्भर छ । शैक्षिक दृष्टिले राज्यलाई कहाँ पुर्याउने हो भत्रे कुरामा स्पष्ट भएपछि मात्र गन्तव्यमा पुग्ने रीति, विधि र दिशा स्पष्ट हुँदै जान्छ । त्यसैले नेपालको शिक्षा क्षेत्रलाई नेपालकै समुज्वल भविष्य निर्माणको प्रकाशपुञ्ज बनाउने हो भने सम्बद्ध निकायको नेतृत्वको मानसाकाशमा सेवाभाव, इमानदारी र स्पष्ट दृष्टिकोणको दीपज्योति प्रदीप्त होओस् ! अस्तु ।
(डा. काफ्ले त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका उप–प्राध्यापक हुन् ।)
प्रतिक्रिया 4