९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिड-१९ राहत कार्यक्रमअन्तर्गत जिल्ला फुटबल संघ र क्लबहरुलाई राहत प्रदान गर्न थालेको छ ।
कोभिड-१९ राहत कोषबाट एन्फाले मंगलबार १२ जिल्ला संघ र १२ क्लबलाई ७५ हजार रुपैयाँका दरले नगद दिएको हो । पहिलो दिन एन्फाले कुल १८ लाख रुपैयाँ बाँडेको जनाएको छ ।
त्यस्तै एन्फाले अन्य जिल्ला संघ र क्लबहरुलाई पनि राहत पाउनका लागि मुल्याकंन फारम भर्न आग्रह गरेको छ ।
कोभिड-१९ महामारीले पारेको आर्थिक प्रभावलाई सहयोग गर्न भन्दै फिफाले आफ्नो सदस्य राष्ट्रलाई पठाएको रकमबाट एन्फाले क्लब र जिल्ला संघलाई राहत वितरण गरेको हो ।
एन्फाको पछिल्लो कार्यसमिति बैठकले जिल्ला फुटबल संघ ए, बी र सी डिभिजन क्लब, एन्फा अन्तर्गतका समितिलाई नगद ७५-७५ हजार रुपैयाँ राहत वितरण गर्ने निर्णय गरेको थियो ।
यस्तै राष्ट्रिय टिमका महिला र पुरुषको ३५-३५ हजार रुपैयाँका दरले दिने निर्णय पनि गरेको थियो ।
एन्फाले त्यसका लागि फिफाबाट प्राप्त रकमबाट १ लाख डलर छुट्याएको छ । फिफाबाट राहत कार्यक्रम स्वीकृत भएपछि एन्फाले राहत रकम वितरण गर्न थालेको हो ।
प्रतिक्रिया 4