Comments Add Comment

एमसीसीबारे छलफल गर्न नेकपा स्थायी कमिटी बैठक बस्दै

१० असार, काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।

नेकपामा एमसीसीलाई संशोधन नगरी पारित गर्न नहुने मत बलियो छ । त्यसैले नेकपा स्थायी कमिटीको बैठकको बहुमतले एमसीसी सम्झौतालाई अस्वीकृत गर्ने सम्भावना बढेको नेकपाका एक नेताले अनलाइनखबरलाई बताए ।

एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद बैठक बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ ।

त्यसैले बुधबारको नेकपा स्थायी कमिटी बैठक महत्वपूर्ण मानिएको छ । यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ । स्थायी कमिटीले सम्झौता अनुमोदन नगर्ने निर्णय गरेमा केपी ओलीको अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गर्न सक्दैन ।

एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भन्दै नेकपाले भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment