Comments Add Comment

क्रिस्टल प्यालेसलाई ४ गोलले हराउँदै लिभरपुल उपाधि नजिक

११ असार, काठमाडौं । लिग लिडर लिभरपुल प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले प्यालसलाई ४-० ले पराजित गरेको हो । लिभरपुललाई अब उपाधि जित्न एक जित मात्र आवश्यक छ । तीन दशकपछि प्रिमियर लिग उपाधि जित्न लागेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ ।

लिभरपुलले खेलको दुवै हाफमा दुई-दुई गरेको थियो । २३औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मोहम्मद सालाहले ४४औं मिनेटमा अग्रता दोब्बर पारे । फाबिन्होले ५५औं र साडियो मानेले ६९औ मिनेटमा गोल थपेपछि लिभरपुलले सहज जित हात पारेको हो ।

जितपछि ३१ खेलबाट लिभरपुलको ८६ अंक छ । दोस्रो स्थानमा हेको सिटीको ३० खेलबाट ६३ अंक छ । सिटीले आज राति चेल्सीसँग स्टानफोर्ड ब्रिजमा खेल्दैछ । उक्त खेलमा चेल्सी विजयी भए लिभरपुल ७ खेलअघि नै च्याम्पियन बन्नेछ । लिभरपुलको अर्को खेल सिटीसँगै छ ।

लिभरपुलसँग हारेको प्यालेस ३१ खेलबाट ४२ अंकसहित नवौं स्थानमै यथावत छ ।

म्यानचेस्टर युनाइटेड ३-० ले विजयी

उता एन्टोनी मार्सयले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै शीर्ष चारको सम्भावना कायमै राखेको छ । घरेलु मैदान ओल्ट ट्राफोर्डमा युनाइटेडका लागि मार्टियलले खेलको सातौं, ४४औं, ७४औं मिनेटमा गोल गरे ।

जितपछि ३१ खेलबाट ४९ अंक जोडेको म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ भने चौथो स्थानको चेल्सीसँग अंक दुरी २ मा झारेको छ । समान खेलबाट सेफिल्ड ४४ अंकसहित आठौं स्थानमा छ ।

उता युनाइटेडलाई पछ्याइरहेको वल्भ्सले बर्नमाउथलाई १-० ले पराजित गर्दै ४९ अंक नै जोडेको छ। गोलअन्तरमा भने वल्भ्स युनाइटेडभन्दा पछि छ। वल्भ्सका लागि रहुल जिमिनेजले ६० औं मिनेटमा एक मात्र गोल गरेका थिए ।

यस्तै, न्युकासल युनाइटेड र रेलिगेसन जोनमा रहेको एस्टन भिल्लाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment