Comments Add Comment

के सोच्दैछन् बालबालिका ?

लकडाउन नहुँदो हो त बालबच्चाले अभिभावकसँग यति लामो अवधि खेल्न, रमाउन पाउने थिएनन् । आमाबुबा आ-आफ्नै काममा व्यस्त, छोराछोरी विद्यालय र पढाइ-लेखाइमा व्यस्त । दुवैले आपसमा भलाकुसारी गर्ने, खेल्ने, रमाउने पर्याप्त अनुकूलता पाएका थिएनन् । जसै लकडाउन भयो अभिभावक र बालबच्चाले एकअर्काको सामिप्यमा रमाउने मौका पाए ।

तर यस अवधिमा अभिभावकले बालबच्चासँग कति समयभन्दा पनि कस्तो समय बिताए भन्ने कुरा महत्वपूर्ण छ । एउटै घरभित्र रहेर पनि अभिभावकले बालबच्चासँग संवाद गरे ? खेल्ने र रमाउने गरे ? घरायसी कामधन्दा सिक्ने र सिकाउने गरे ?

बालबच्चासँग कति समय बिताए भन्ने कुराले खास अर्थ राख्दैन । बरु कस्तो समय बिताए भन्ने कुरा महत्वपूर्ण हो । किनभने लकडाउनकै अवस्थामा पनि धेरै बालबच्चाले आत्महत्यासम्म गरेको पाइन्छ । घरभित्र आमाबुबासँग बस्दा उनीहरू किन यस्तो अवस्थामा पुगे ? यो सोचनीय विषय हो ।

घरभित्र बस्दा बालबालिकाले कस्तो समय बिताए ? उनीहरूको दैनिकी थप जटिल वा पट्यारलाग्दो पो बन्यो कि ? आमाबुबाको झगडा वा कलहले पिरोल्यो कि ?

हामीले बालबच्चाको अवस्था, मनोविज्ञानलाई कति नजिकबाट बुझ्यौं भन्ने कुरा पनि महत्वपूर्ण छ । घरभित्रै बसिरहँदा उनीहरूको मनमा के-के कुरा खेल्यो होला ? उनीहरूले कोरोनालाई कसरी बुझे होलान् ? आफ्नो पढाइबारे उनीहरूले के सोचे होलान् ? अब कहिले स्कुल खुल्छ, कहिले घर बाहिर निस्कन पाइन्छ भनेर कति सोचे होलान् ?

यसै सन्दर्भमा मैले आफ्नो बच्चासँगको अन्तरसंवाद प्रस्तुत गरेको छु, जसले अभिभावक र बालबच्चाबीचको सम्बन्धलाई केही मात्रामा भएपनि उजागर गर्छ भन्ने लागेको छ ।

डा.बालकृष्ण साह

प्रश्न : तपाईं अफिस जान मिल्ने म स्कुल जान किन नमिल्ने ?

उत्तर : बाबु अहिले कोरोना छ, स्कुलमा भिडभाड हुन्छ अनि कोरोना सर्न सक्छ । त्यही भएर नपठाएको ।

प्रश्न : तपाईं अफिस जाँदा, बजार जाँदा, साथीहरूसँग भेट्दाचाहिँ कोरोना सर्दैन, मचाहिँ आफ्नो साथीसँग स्कुल जाँदाचाहिँ सर्ने हो ?

उत्तर : हामी बुझ्छौं । बाबुहरू अलिक बुझ्दैनौ अनि सँगै बस्छौ । हात धुँदैनौ । मास्क लगाउँदैनौ  त्यसैले ।

प्रश्न : साथीसँग चिया, नास्ता खाँदा वा गफ गर्दा पनि मास्क लगाउनुहुन्छ ? बाहिरी सामान छोएर हात धोइहाल्नुहुन्छ ?

उत्तर : होइन । तर म बाहिर नगए, काम नगरेर हुँदै नहुने भएकाले हो ।

प्रश्न : बाबा, ३ महिना भइसक्यो घर बसेर बोर भइसकेँ । २-४ घण्टा भए नि स्कुल जान पाए, साथीहरूसँग खेल्न पाए रमाइलो हुन्थ्यो । तपाईं बाहिर गएर आएर हामीसँगै बसेपछि म बाहिर जानु र नजानुले के फरक पर्ला ? कोरोना त तपाईंसँगै घरमा आउन सक्छ, मलाई लाग्न सक्छ । होइन र ?

उत्तर:  कुरो त तिम्रो ठिकै हो । अहिले विद्यालय बन्द छन् । सरकारले पनि विद्यालय खोल्न अनुमति दिएका छैनन् । यसको कारण हो, कोरोनाको संक्रमणबाट बालबालिकालाई जोगाउनु । हाम्रा बालबालिकाहरूमा कोरोना संक्रमण हुन नदिन एसईई पनि यस पटक नलिने भएको छ, ११ र १२ को परीक्षा भएको छैन । अहिले विद्यालय खुलिहाले भने पनि हामी आफ्नो प्यारो नानी बाबुहरूलाई विद्यालय पठाउने मनस्थितिमा पक्कै छैनौं । हामी आफूलाई जोखिममा राखे पनि हाम्रा बच्चालाई जोखिममा राख्न पक्कै चाहँदैनौं ।

कोरोना चाँडै फैलिन सक्ने संक्रमण हो । यो भाइरस हाछ्युँ गर्दा, खोक्दा वा  सास फेर्दा हावामा आउँछन् र हाम्रो हात तथा श्वासप्रश्वासको मद्दतले अर्को व्यक्तिमा सर्ने भएकाले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र बारम्बार हात धुने तथा हात नधोइ नाक, मुख नछुने गर्नुपर्छ भन्नेकुरा सबैलाई थाहा छ । तर पनि यो लागु हुन गार्‍हो भएकै कारण पहिले लकडाउन र अहिले पनि भिडभाड नगर्न, सभा सम्मेलन गर्न रोक लगाएको हो । स्कुले बालबालिकाहरूले यी सावधानी पक्कै अपनाउन सक्दैनन्, त्यसैले स्कुलका कुनै विद्यार्थीमा संक्रमण भए सबै विद्यार्थीहरू संक्रमित हुने र विद्यार्थीका सँगसँगै अभिभावकसम्म यो फैलिन सक्ने हुन सक्छ । त्यसैले विद्यालय सञ्चालन गर्नु भनेको ठूलो जोखिम लिनु हो ।

अहिले हामी बाहिर जान थालेका छौं । हुनत हाम्रो समुदायमा कोरोना देखिएको छैन तर घर बाहिर काम गर्दा, बजार जाँदा तथा बजारका सामग्रीहरू घरमा भित्र्याउँदा कोभिड-१९ पनि भित्रिने केही सम्भावना अवश्य छ। अझ अहिले लामो समयदेखि रोकिएको बैठक, भेटघाट तीव्र भएका छन् । हाम्रा नानीहरू घरमा सुरक्षित भए तापनि हामी असुरक्षित छौं र हाम्रा कारणले घरका अन्य सबै असुरक्षित पक्कै भएका छन् । त्यसैले विद्यालय बन्दले हाम्रो नानी विद्यालयबाट सुरक्षित होला तर वास्तविक सुरक्षित छन् र ?

लामो समयदेखि बालबालिकाहरू स्कुल नगएपछि, साथीहरूसँग खेल्न नपाएपछि उनीहरूमा पनि मानसिक र सामाजिक असरहरू देखिँदैन भन्नु गलत होला । साथीसँग खेल्ने रहर कसलाई हुँदैन र ? स्कुलमा नानीहरू पढ्ने मात्रै हुँदैनन्, रमाइलो नि गर्छन्, आनन्दित हुन्छन् । घरमा दिनभरि मोबाइल र टेलिभिजनमा व्यस्त राख्नुभन्दा थोरै समय उनकै साथीहरूसँग रमाउनु राम्रो हुन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment