Comments Add Comment

कोरोना संक्रमितको मृत्युपछि पश्चिमाञ्चल अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द

पोखरा ३२ मा शव व्यवस्थापन गरिँदै

११ असार, पोखरा । अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

‘इमेर्जेन्सी वार्डबाट ओपीडी वार्ड हुँदै शव ल्याउनुपर्छ । यसो हुँदा अरुलाई पनि सर्न सक्छ,’ डा. आचार्यले अनलाइनखबरलाई भने, ‘तर, यो आज बिहीबारमात्रै हो । शुक्रबारबाट हाम्रा सबै नियमित सेवा खुल्छन् ।’

मधुमेह, श्वासप्रश्वास लगायतका समस्याका कारण असार ८ गते भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय एक पुरुषको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको थियो । ‘सुरुमै उहाँको अवस्था क्रिटिकल थियो । यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको हो,’ डा. आचार्यले भने ।

योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा २ पुगेको छ । यसअघि पनि स्याङ्जाकै ६० वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको गत जेठ २५ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भएको थियो ।

शव व्यवस्थापन पोखरा ३२ मा

कोरोना कारण बुधबार मृत्यु भएका ती पुरुषको शव करिब १२ घन्टापछि व्यवस्थापन गरिँदैछ । उनको शव पोखरा ३२ स्थित घाटमा गर्ने तयारी रहेको पोखरा महानगर स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।

संक्रमितको शव नेपाल सरकारको नियमानुसार स्थानीय तह, प्रशासन र नेपाली सेनाले गर्ने भएका हुन् । ‘शव व्यवस्थापनको सबै तयारी पूरा भइसकेको छ । नेपाली सेनाको टोली खटिइसकेको छ,’ शर्माले भने ।

यसअघि जेठ २५ मा मृत्यु भएका संक्रमितको शव पोखरा ११ मा व्यवस्थापन गरिएको थियो । शव व्यवस्थापन गर्दा स्थानीय तथा जनप्रतिनिधिको विरोध भएपछि प्रहरीसँग मुठभेडको स्थिति सिर्जना भएको थियो । पोखरा ११ मा अवरोध भएपछि अहिले पोखराको वडा नं. ३२ मा शव व्यवस्थापन गर्न लागिएको हो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । बिहीबार बिहान प्रदेशमा ११ जनामा संक्रमित थपिएका थिए । कुल संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment