Comments Add Comment

वडाध्यक्षले क्वारेन्टिनबाट घर पठाएका ६ जनामा कोरोना संक्रमण

११ असार, कैलाली । आत्महत्या गर्ने धम्की दिदै क्वारेन्टिनबाट घर गएकी कञ्चनपुरकी एक महिलासहित ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित सरस्वती माबिको क्वारेन्टिनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा कार्यालयले पीसीआर परीक्षणका लागि स्वाब संकलन नगरी घर पठाएको थियो ।

ती १० जनामध्ये ६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । आत्महत्या गर्ने धम्की दिएपछि स्वाब संकलन नगरी घर पठाउन बाध्य भएको अध्यक्ष दिलबहादुर बुढाले बताए ।

‘पीसीआर गर्न ढिलाइ गरेको भन्दै एक महिलाले आत्महत्या गर्ने धम्की दिनुभयो’ उनले भने ‘त्यस्तो दबाब झेल्न नसक्ने अवस्था भएपछि हामीले सुरक्षित रुपमा घर बस्न भन्दै छोडेका हौँ ।’

क्वारेन्टिनमा बसेको दुई सातासम्म पनि उनीहरुको स्वास्थ्यमा समस्या नदेखिएकाले पनि घर पठाएको वडाध्यक्ष बुढाले बताए । ‘उहाँहरुको दबाब पनि धेरै थियो । स्वास्थ्यमा पनि समस्या थिएन । यस्तो अवस्थामा राख्नै नसक्ने भएपछि हामीले घर पठाएका हौँ’ उनले भने ।

नगरपालिकाको निर्देशन नमानी वडा कार्यालयले आरडीटी पोजेटिभ भएकाहरुलाई घर पठाएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । ‘त्यसरी नछोड्नुस् भन्दा पनि मानेनन्् । त्यसको भोलिपल्ट फिर्ता ल्याउनु होला भन्दा पनि आएनन् ।’

घर पुगेपछि संक्रमण पुष्टि भएका ६ जनाको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको उनले बताए । ‘उहाँहरु धेरैको सम्पर्कमा पुगेको पाइएको छ । अब ती सबैको पीसीआर परीक्षण गर्न आवश्यक देखिएको छ ।’

उनीहरु सबै भारतको दिल्ली र मद्रासबाट १२ जेठमा कञ्चनपुर आएका थिए ।

कृष्णपुरमा बढे संक्रमित

बुधबार ६८ जनामा संक्रमण पुष्टि भएको कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बिहीबार थप ४० जना संक्रमित फेला परेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहीबार ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा सहसंयोजक रतनसिंह विष्टले जानकारी दिए ।

२४८ जनाको पीसीआर परीक्षण गरिएकामध्ये १०८ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनीहरु सबै भारतबाट आएका स्वास्थ्य शाखाको दाबी छ ।

‘सबै क्वारेन्टिनमा बसेकाहरु संक्रमित भेटिएका छन् । उनीहरुलाई घर पठाइएको छैन’ उनले भने ‘संक्रमितहरु समुदायमा पुग्न नपाएको हुँदा समुदायमा संक्रमण छैन । ’

हालसम्म कञ्चनपुरमा कोरोना संक्रमितकोसंख्या २६१ पुगेको छ ।

बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ४०, शुक्लाफाँटा नगरपालिकाका १३ र बेदकोट नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । अन्य दुई जनाको ठेगाना खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment